बागलुङ, २४ साउन– शुक्रबार आफ्नी बुहारीलाई उषा नेपालीलाई प्रसुती व्यथाले च्यापेर अस्पताल पु¥याउन एम्बुलेन्सको खोजी गरेका जैमिनी नगरपालिका–५ बिनामारेका रामबहादुृर नेपालीले एम्बुलेन्स नचल्ने जवाफ पाए ।
गर्भवतीको ज्याननै जोखिममा पर्ने अवस्था भएपछि स्थानीय व्यवसायीले ढुवानीका लागि प्रयोग गर्दै आएको पिकअप भ्यान मागेर बुहारीलाई धौलागिरी अस्पताल पठाए । उनले प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने एम्बुलेन्सलाई खबर गरेका थिए ।
‘एम्बुलेन्समा भएको भए सहज हुन्थ्यो तर चल्दैन, बिग्रिएको छ भन्नुभयो’ नेपालीले भने ‘अफ्ठेरो परेका बेला प्रयोग गर्ने साधन छैन्, जनतन पिकअप भ्यानमा राखेर पठाईयो ।’ कच्चि सडकमा एम्बुलेन्समा भन्दा अन्य सवारी साधनमा गर्भवतीलाई राखेर यात्रा गर्दा बढी खतरा हुन्छ ।
नेपाली जस्तै बर्खा सुरु भएसँगै प्रसुती व्यथाले च्यापेर एम्बुलेन्स खोज्ने धेरैले प्राथमिक स्वास्थ्य केन्द्रबाट यस्तै जवाफ पाए । आकस्मिक उपचार गर्नुपर्ने विरामीको सुविधाका लागि स्वास्थ्य केन्द्र कुश्मीशेराले सञ्चालनमा ल्याएको एम्बुलेन्स बर्खा लागेसँगै थलिएको छ । वर्षासँगैको बाढी र पहिरोले बाटो क्षतविच्छेद बनाएको भन्दै केन्द्रले एम्बुलेन्स सञ्चालन गर्न नसकिने बताएपछि बिरामी मर्कामा परेका हुन् । ‘मलाई विकल्प दिएर चलाई भने मेरो काम हो चलाउँछु’ एम्बुलेन्सका चालक जय बहादुर थापा भन्छन् ‘यो गाडी पिकअपजस्तो कच्चि सडकमा हिँडाउन सकिँदैन् ।’
एम्बुलेन्सका टायर होँचा रहेको र कच्चि सडकमा चलाउँदा फसिने भन्दै गत असारको अन्तिम सातायता केन्द्र परिसरमा थन्काएर राखिएको छ । जैमिनी नगरपालिकामा सञ्चालित यो एक मात्रै एम्बुलेन्स हो । बर्खा लागेपछि स्वास्थ्य केन्द्रदेखि सदरमुकाम बागलुङ बजारसम्म मात्रै चलेको एम्बुलेन्स एक महिना यता उक्त सडकमा केन्द्रले पठाउन आनाकानी गर्न थालेको हो । ‘बाटो गतिलो छैन, पहिरो र बाढीले हिँडिनसक्नु छ’ केन्द्र व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र थापाले भने ‘वर्षापछि केही सहज होला ।’ चार वर्षअघि सञ्चालनमा आएको एम्बुलेन्स वर्षामा थन्काउने गरिएको छ । ‘होँचो भए पट्टा थपेर, टायर बद्लेर अग्लो बनाउन सकिन्छ’ यातायात व्यवसायी भन्छन् ‘त्यसका लागि इच्छाशक्ति चाहिन्छ ।’
नगरलाई आवश्यक एक मात्रै एम्बुलेन्स थन्किएको विषयमा नगरपालिका भने बेखवर छ । ‘एम्बुलेन्स चलेकै होला हामीलाई केही जानकारी आएको छैन्’ नगरप्रमुख इन्द्रराज पौडेलले भने ‘केही अफ्ठेरो परे विकल्प खोज्नु पर्ला ।’
जस्तोसुकै अफ्ठेरो परिस्थितीमा पनि एम्बुलेन्स तयारी अवस्थामा हुनुपर्नेमा बाटोको कारण देखाएर थन्काएको भन्दै स्थानीय आक्रोशित छन् । ‘एम्बुलेन्सजस्तो संवेदनशिल विषयमा बहानाबाजी गर्न मिल्दैन, अरु सवारी चल्ने सडकमा किन चल्न सकेन ?’ बिनामारेकै नारायण पौडेलले भने ‘यो नागरिकको स्वास्थ्यप्रतिको गम्भिर खेलवाड भयो ।’ उनले बिग्रिएको भए विकल्प तत्काल तयार गर्नुपर्ने बताए । पौडेलले भने ‘स्वास्थ्य उपचारमा चाहिने साधनमा कमाउ धन्दा मात्रै भयो ।’
नगरको नजिक पर्ने बागलुङ नगरपालिका–१२ अमलाचौरमा नेपाल रेडक्रस सोसाईटीले चलाएको एम्बुलेन्ससमेत डेढ महिनादेखि मर्मतमा छ । दुर्घटनामा परेको एम्बुलेन्स मर्मतमा रहेकाले छिमेकमा चलेको एम्बुलेन्ससमेत प्रयोग गर्न नपाएको स्थानीयको गुनासो छ ।





