बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

वोतल बोकेर सलहको खोजीमा बालबालिका

वोतल बोकेर सलहको खोजीमा बालबालिका

होटल तथा रेष्टुँरामा प्रति प्लेट २०० पर्छ सलह ।


  • संजय रेग्मी
  • साउन २५ २०७७, आइतबार

पर्वत, २५ साउन– पर्वतको कुस्मा नगरपालिका १ पाङमा दुई बालकहरू हातमा जाली र केही बोतलहरू बोकेर हिँडिरहेका थिए । बागलुङ बजारमा बाबुआमाको साथमा बसेर अध्ययन गर्दै आएका उनीहरूको दैनिकी हिजोआज सलह किरा खोजेर बिक्री गर्नु बनेको छ ।
कोरोनाको जोखिमका कारण विद्यालय बन्द रहेको बेलालाई सदुपयोग गर्दै सलह बेचेर आम्दानी गरिरहेको उनीहरूले बताए । ‘यो मिनरल वाटरको एक बोतल बनाएर लैजाने हो भने होटेलमा सय रुपैयाँ दिन्छन् । आज मात्रै ४ बोतल छोपियो ।’ सलह छोप्दै गरेका समय के.सी.ले भने, ‘बाबाले गाडी चलाउनुहुन्छ, ममी घरमै बस्नुहुन्छ । सलह बेचेर आएको पैसा ममीलाई राख्न दिएको छु ।’ सलह किरा पाउन्जेल जम्मा पारेर बिक्री भएको पैसाले विद्यालय खुलेपछि कापी कलम किन्न काम लाग्ने भएकोले आधा घण्टा लामो पैदल यात्रा गरेर बागलुङबाट पर्वत आएको उनले बताए ।
बागलुङ बजारमा बस्ती बाक्लो हुनु र खाद्य बाली नलगाइएका कारण बागलुङ बजारबाट सिधा पारी पर्ने पाङमा समय जस्तै अन्य बालबालिकाहरू पनि आउने गरेको पाङका वडा सदस्य वीरेन्द्र रिजाल (खगेन्द्र) ले बताए । अहिलेको समयमा बारीमा कोदो र मकै तथा खेतमा धान लगाउने भएकोले त्यही खान सलहको ठुलो झुन्ड केही दिनदेखि पाङमा बसिरहेको उनको भनाई छ । ‘बागलुङ र पाङ जोड्ने गरी हालै मात्र सञ्चालनमा आएको लामो पुल तरेर बागलुङबाट बच्चाहरू बोतल र बोरा बोकेर आएका देखिन्छन् । बागलुङका होटेलमा सलहको बिक्री राम्रै भएको जस्तो लाग्यो ।’ रिजालले भने, ‘पाङमा भने सबैभन्दा बढी असर कोदो खेतीमा पारेको छ । गोड्ने बेला भएको हरियो कोदोको ठेट्ना मात्रै बाँकी छन् । धान भने कताकति काटेको छ ।’
वडाध्यक्ष देवेन्द्र सुवेदीले पाङका कृषकहरूलाई पालो गरेर भए पनि खेतबारीमा गएर थाल तथा भाँडा बजाउन, धूवाँ बाल्न र खेतबारीको बिचबिचमा बस्न भनिएको जानकारी दिए । ‘सलहले कोदो सखाप पारेको छ । खेतबारीमा पालो अनुसार जान कृषकहरूलाई अनुरोध गरेका छौँ । त्यही पनि केही सिप चलेको छैन ।’ उनले भने, ‘गण्डकी प्रदेशमा यसको रेस्पोन्स टिम रहेछ, त्यहाँका प्राबिधिकहरुसँग किटनाशक औषधि प्रयोगको बारेमा सल्लाह गर्दै छु । उहाँहरूले पनि केही उपाय बताउनुहोला ।’ ठुलो क्षेत्रफलमा फैलिएको पाङको पश्चिमतर्फको क्षेत्रमा सलह बढी भएको र कति क्षति भयो भन्ने विवरणहरू सङ्कलनको काम पनि अब गर्न लागिएको उनको भनाई छ ।
वर्षा कम भएसँगै पर्वतका विभिन्न ठाउँमा सलह किराले हानी गरिरहेको छ । अझै पनि खेतबारीमै रहेकै कारण यति नै क्षति भयो भन्ने विवरणहरू आउन बाँकी रहेका छन् । सलह छोप्न गाउँ र सहर दुवै ठाउँका बालबालिकाहरू खटिरहेका देखिन्छन् । बजार क्षेत्रमा रहेकाहरूले होटलहरुमा बिक्री गरेका छन् भने गाउँ क्षेत्रमा रहेका कतिपयले फ्राई गरेर खान्छन् । कतिपयले रमाइलोको लागि बोतलमा जम्मा पारे पनि त्यसै फाल्ने गरेका छन् । कुस्माका होटलहरुमा एक प्लेट फ्राई सलहको मूल्य २ सय रुपैयाँसम्म चलेको पाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->