पोखरा, २५ साउन– गण्डकीमा समुदायमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएपछि संक्रमण समुदायमा फैलिएको प्रमाणित भएको हो । पछिल्लो विवरण अनुसार संक्रमितमध्ये पोखरा महानरपालिका–१७ मा भेटिएका ५५ वर्षीय पुरुष र म्याग्दीको बेनी नगरपालिका–४ मा भेटिएका २१ वर्षीय पुरुष मात्र भारतबाट आएका हुन् । यता, बागलुङमा संक्रमित देखिएका १३ जना महोत्तरी जिल्लाबाट आएका रहेका छन् । ती सबै महोत्तरीको औरही नगरपालिका–८ का हुन् । पोखरा महानगपालिका–९ का २ व्यक्तिलाई पनि संक्रमण देखिएको छ । उनी संक्रमितको सम्पर्कमा गएका व्यक्ति हुन् । स्याङ्जाको कालीगण्डकीमा भेटिएका एक जना तथा पुतलीबजार नगरपालिकाका ७ जना पनि कन्ट्याक्ट टे«सिङमा परेका हुन् ।
समुदायमा संक्रमण फैलन थालेपछि गण्डकी स्वास्थ्य निर्देशनालयअन्तर्गतको क्षयरोग उपचार केन्द्रमा पछिल्लो २४ घण्टामा ७८२ जनाको स्वाब परीक्षण गरेको थियो । तीमध्ये गोरखाका ५०, तनहुँका ५१, लमजुङका ८,स्याङ्जाका १८३,बागलुङका ६१,म्याग्दीका ५५ र कास्कीका ३१४ स्वाब रहेका थिए । यता,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको २८ नमूना परीक्षणहरु सबै नेगेटिभ देखिएका छन् । यसैबीच गण्डकीमा कोरोना संक्रमितको संख्या १६११ र निको हुनेको संख्या १४४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।
रित्तिँदै पर्वतको आइसोलेसन
भारत तथा तेस्रो मुलुकबाट आउने क्रम रोकिएपछि पर्वतमा कोरोना सङ्क्रमणको अवस्था नियन्त्रित बनेको छ । नेपालमा कोरोना सङ्क्रमणको सुरुवाती अवस्थामा रोजगारीको लागि भारतमा पुगेका सबैभन्दा बढी र अन्य मुलुकमा गएकाहरू पनि धमाधम जिल्ला फर्किएपछि क्वारेनटाइन र आइसोलेसन भरिएका थिए । तर पछिल्लो समयमा २÷४ जना मात्र जिल्लामा भित्रिएका कारण पुलिङ क्वारेनटाइन समेत खाली हुँदै गएका छन् भने सङ्क्रमितहरूको सङ्ख्या पनि ह्वात्तै घटेको छ । तथ्यांक अनुसार जिल्लामा हालसम्म भारतबाट ९ सय ७३ जना र तेस्रो मुलुकबाट २ सय ७० जना भित्रिएका छन् ।
जिल्लामा सङ्क्रमितहरूको कुल सङ्ख्या १ सय १ जना रहेकोमा ९८ जना डिस्चार्ज भएका छन् भने उपचारको लागि आइसोलेसनमा राखिएकाहरूको सङ्ख्या ३ रहेको छ । पर्वत अस्पतालका तथ्यांक अधिकृत प्रवीण भण्डारीका अनुसार पर्वत कोरोना अस्पताल (अस्थायी) मा २ जना पुरुष र १ जना महिलाको उपचार चलिरहेको छ । कोरोनालाई जितेर डिस्चार्ज भएकाहरूमा ८३ जना पुरुष र १५ जना महिला रहेका छन् ।
पर्वतमा १३ सय ४८ पुरुष र २ सय ३७ महिला गरी कुल १५ सय ८५ जनाको पिसिआर परीक्षण गरिएको छ भने ६ सय २४ पुरुष र १ सय ६८ महिला गरी ७ सय ९२ जनाको आरडिटी गरिएको छ । हाल प्रि क्वारेनटाइनमा ४८ जना पुरुष र ४ महिला गरी ५२ जना रहेका छन् ।
पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाको अनुसार जिल्लाका ७ ओटै स्थानीय तहका व्यक्ति सङ्क्रमित भएका थिए । उनीहरू कुस्मा नगरपालिकाका ३६ जना, फलेवास नगरपालिकाका २६ जना, महाशिला गाउँपालिकाका ११ जना, बिहादी गाउँपालिकाका ९ जना, पैयुँ गाउँपालिकाका ६ जना, मोदी गाउँपालिकाका ८ जना र जलजला गाउँपालिकाका १ जना रहेका छन् । १ जना भने पर्वत जिल्ला बाहिरका सङ्क्रमित व्यक्ति रहेका थिए ।




