पोखरा, २६ साउन– कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलास्थित राजबगरमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना (सेती हाइड्रोपावर) निर्माणको काम सु्रु गरेको भएको छ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले ५ अर्ब रुपैयाँको लगानीमा सो जलविद्युत परियोजना निर्माण गर्न लागेको हो । आयोजनाको काम वैशाख २२ गतेबाट सुरु भएको हो ।
दुई वर्ष तीन महिना भित्र योजना सम्पन्न गरी साढे दुई वर्ष (३० महिना) भित्र परीक्षण गरि विद्युत वितरण गर्ने लक्ष्यका साथ योजनाको काम अघिबढेको आयोजनाका प व्यवस्थापक (म्यानेजर) लेखनाथ पाण्डेले जानकारी दिए ।
२०७९ साल असोज मसान्तसम्ममा राष्ट्रिय प्रशारण लाइनमा जोड्नेगरी काम सुरु गरिएको उनले बताए । जस अन्तर्गत हाल सिभिल निर्माणको काम भइरहेको छ । रसुवा लुना जेभीले निर्माण गरिरहेको सिभिल निर्माणअन्तर्गत सेटलिङ बेसिन(पानी थिग्राउने पोखरी) खन्ने काम ९० प्रतिशत सम्पन्न भएको छ ।
दैनिक पाचँवटा एक्साभेटर एक जेसिभी, ५ टिपरले काम गरिरहेको छ । परियोजनामा ५० जना कार्यरत रहेको प्रोजेक्ट म्यानेजर पाण्डेले जानकारी दिए । उनका अनुसार बेसिनसँगै बेसिनसम्म पुग्ने कुलो (एप्रोच क्यानल) निर्माणको काम समेत ७५ प्रतिशत पूरा भइसकेको छ । बेसिन ६० मिटर लम्बाई र २३ मिटर चौडाइ तथा २२ मिटर गहिरो बनाइने उनले बताए ।
सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन (प्रशासरण लाइन) को काम अघि बढाउन निर्माण कम्पनी छनोटका लागि बोलपत्र (टेण्डर) आह्वान भइसकेको छ ।
कम्पनीले भदौपश्चात भने तीव्र गतिमा काम अघि बढाउने योजना रहेको छ । हाल बर्खाको समय भएकाले पनि काम केहि सुस्त भएको उनले बताए । कोरोना कहरको समयमा मेसिनरी काम सकिने र लकडाउ र बर्खा सकिए लक्ष्यभन्दा तीव्र गतिमा काम सम्पन्न गर्ने उनले बताए ।
आयोजनाका सेती हाइड्रोका लागि सेती मुहानमा ४ सय मिटर लामो एप्रोच क्यानल बनाइनेछ । एप्रोच क्यानलमार्फत गएको पानी सेटलिङ बेसिनमा थिग्रिन्छ । जहाँ ठूलठूला काठ, ढुंगाहरु मात्र थिग्रिने छन् । सेटलिङ बेसिनबाट साढे ४ किलोमिटर भूमिगत पाइपमार्फत पोखरा महानगरपालिका–१९ सँग जोडिएको चिन्तेबगर पु¥याएर १८७ मिटर उचाइबाट पानी खसालेर विद्युत उत्पादन गरिन्छ । यसरी उत्पादित विद्युत थप साढे ४ सय मिटर पश्चिममा रहेको माछापुच्छ«े ४ स्थित लाहाचोकमा रहेको निर्माणाधीन विद्युत सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिने पाण्डेले जानकारी दिए ।
बर्खामा २५ मेगावाटसम्म र हिउँदको केही महिना १०÷११ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत ६ महिना चार रुपैयाँ ८० पैसा र ६ महिना आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता यसअघि नै भइसकेको आयोजनाले जनाएको छ ।५ अर्बको लागतमा निर्माण गर्न लागिएको हाइड्रोपावरमा कूल लागतको ७० प्रतिशत वैंक तथा वित्तिय संस्था तथा नीजि क्षेत्रबाट लगानी हुनेछ भने बाँकी ३० प्रतिशत लुम्बिनी उर्जा प्रालिको लगानी हुनेछ । स्थानिय आयोजना प्रभावित जनतालाई १० प्रतिशत शेयर दिइने जनाइएको छ ।
आयोजना सम्पन्न गर्नका लागि स्थानीय निकाय र स्थानीय बासिन्दाहरुको निकै राम्रो सहयोग प्राप्त भएको उनले बताए । हाइड्रो पावर निमार्णप्रति सर्वसाधारण हेर्ने नजर गलत रहेको र उक्त भ्रमलाई चिर्न समेत समयमा काम सम्पन्न गरी सेयरधनीहरुलाई बोनस दिने योजना रहको उनले बताए ।





