पोखरा, २६ साउन– लेकसाइडमा यतिबेला विदेशी पर्यटक छैनन् । लडाउनले यतै रोकिएकाहरुलाई पनि अन्तर्राष्ट्रिय उडान खोल्ने बित्तिकै जानुपर्ने छ । जानै नपरे पनि के गरुन् ? खर्च सकिएर बेखर्ची जो बनेका छन् !
लक्ष्मण गौतम घरि खल्तिबाट मोबाइल झिक्छन् । एकैछिन हेर्छन् अनि खल्तिमै हाल्छन् । हामी पुग्दा लक्ष्मण घोडालाई दानापानी खुवाउँदै थिए । एकै छिनमा घोडालाई लेकसाइडको क्याम्पिङ चौरमा लगिँदै रहेछ । एकै छिनपछि लक्ष्मणका छोरा घोडा अघिलगाएर क्याम्पिङ चौरतिर हिडें । उनका आफ्नै छोरा होइनन्, छोरा जस्तै हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा उनको फार्म छ । ‘फार्मर्स हाउस एण्ट पोनी ट्रेक’ । फार्ममा १२ वटा घोडा छन् । लेकसाइड वपरपर देखिने घोडा उनैका हुन् । २६ वर्षदेखि उनी यो व्यवसायमा छन् । व्यावसायिक घोडा पालनमा लागेका पोखरामा कमै छन्, सायद ! पोखरा घुम्न आएका विदेशीलाई घोडामा पोखराको दृष्य देखाउनुे उनको व्यवसाय अहिले ठप्प छ । करिब ३ दशकदेखि निरन्तरता दिंदै आएको व्यवसायमा लकडाउनले नराम्रोसँग धक्का पु¥याएको छ ।
यसरी, हेरचाह मात्रै गरेर घोडा धेरै दिन पाल्न सकिन्न कि जस्तो लाग्न थालेको छ आजकाल लक्ष्मणलाई । जेनतेन यो वर्ष पालिहाले पनि अर्को वर्षदेखि घोडा घटाउने सोचमा छन् लक्ष्मण । ‘यो वर्ष त पाल्छु अर्को वर्षदेखि त के गर्ने यस्तै अवस्था रह्यो भने’, अलिअलि अंग्रेजी मिसाउँदै उनले भने, ‘स्टाफ पाल्नु प¥यो, घोडालाई औषधि उपचार पनि गर्नैप¥यो । थाहै छैन । तर केही चाहिँ पाल्छु ।’
गएको ४ महिना अलि गाह्रैसँग बित्यो, उनको । दैनिक ५, ६ वटा ग्राहक पाएकै हुन्थे । आम्दानी पनि राम्रै भइरहेको थियो । अहिले त घोडालाई हेरचाह गर्ने र दानापानी खुवाउनेबाहेक अर्को कुनै कामै भएको छैन । कामै बन्द भएपछि उनले आफ्ना कामदारहरुलाई भनेका रहेछन्,.‘अब म तलब दिन सक्दिन, खाने बस्नेसम्म गर्नसक्छु ।’
उनकोमा ६ जना कामदार छन् । लक्ष्मणको प्रस्तावमा सबै जना सहमत भए । काम सुरु भएपछि तलब लिउँला भनेर कामदारहरु पनि काम गरिरहेका छन् ।
एघार वर्षको उमेरमा पोखरा झरेका लक्ष्मणले सानैमा पढाई छोडे । कास्कीकोटबाट पोखराका झरेका लक्ष्मणले १२÷१३ वर्ष त होटलमै काम गरें । होटलमा काम गर्दागर्दै ट्रेकिङ गाइड बनेका हुन् रे, लक्ष्मण ।
‘ट्रेकिङ गाइड गर्दागर्दै घोडा पाले राम्रो हुन्थ्यो कि भन्ने लागेर घोडा पाल्न सुरु गरें । घोडा पाल्ने, ट्रेकिङ पनि गर्छु’, घोडापालन व्यवसायबारे सुनाउँदै उनले भने । साथीभाईले विदेश जाऔं नभनेका पनि होइनन् ,उनलाई । विदेशीले पनि लैजान्छु भनेका थिए रे ! तर, गरे नेपालमै केही हुन्छ भन्ने विश्वास लिएका लक्ष्मणले यहीं केही गर्ने अठोट गरे । अनि सुरु भयो ‘फामर्स हाउस एण्ट पोनी ट्रेक’ ।
उनी एक घोडा चढेको ८ सय रुपैयाँ लिन्छन् । घोडामा पर्यटक लिएर मनाङ, मुस्ताङसम्म पनि पुग्थे रे लक्ष्मण । ‘घोडाको हकमा धम्पुस, घान्द्रुक, पञ्चासे, कहिलकाही मुस्ताङ, जोमसोम, मनाङसम्म पनि पुग्छौँ’, उनले भने, ‘स्तुपा, सराङकोट, अराउन्ड द लेक, वाटर फल, म्युजियम यतैैयतै घुमाउने पनि हुन्छ ।’घोडामा पुस्ताङ पुग्न कति दिन लाग्दो रहेछ ? हामीले सोध्यौं । घोडामा मुस्ताङसम्म पुग्न ८ देखि ९ दिनसम्म लाग्दो रहेछ । ‘दिनमा ६ देखि साढे ६ घण्टा सम्म हिडाउँछौं, जनावर हो धेरै हिडाउँदा थाकीहाल्छ’, उनले भने । उनी कहाँ धेरैजसो फ्रान्स, इटली, जर्मनी, जापान, अमेरिका, अष्ट्रलिया, कम्बोडिया, थाइल्याण्ड, बैंकक, बेल्जियमलगायतका देशबाट पर्यटकहरु घोडा चढ्न आउँछनु् । नेपाली पनि फाट्टफुट्ट आउछन् । तर, धेरै विदेशी पर्यटक नै हुन्छन् ।





