मेरो शिक्षण पेशाको सुरुआत काठमाडौका केही निजस् स्कुलबाट शुरु भयो, जहाँ कडा अनुशासन थियो । त्यहीं माथी म पनि विद्यार्थीलाई अनुशासन र मर्यादित बनाउनको लागि युनिफर्मलाई प्राथमिकतामा राख्ने गर्दथे । शिक्षणको दौरानमा फेरि रसुवा पुगें । त्यहाँ सरकारी स्कुलको परिस्थिति अलि फरक रहेछ । विद्यार्थीले पोशाक त लगाउने तर चप्पल र टाइ लगाउँदा रहेछन् । त्यो पद्धतिलाई बदल्नको लागि शिक्षकहरुसंग कुरा राखी जुत्ता नै लगाउनु पर्ने परिपाटी सिर्जना ग¥यौ तर विद्यार्थीले जुता, झोलामा ल्याउने र गेटमा आएपछि लगाउन थाले । त्यो काम म विद्यालयमा पुगेको केही समयमा सुरु भएको थियो । तर त्यो भूगोल बुझिसकेपछि लाग्यो अन्याय गरिए छ । जुत्ता लगाएर ती विकट गाउँबाट विद्यालय आउनु भनेको जटिल रहेछ । त्यो नियम त्यहीं कारणले लागू गर्न गाह्रो भयो ।
अनि म आफ्नै पोशाकतर्फ लागे, नेपाल सरकारले तोकेको पोशाक नियमित लगाइन्थ्यो जहाँ अस्थायीलाई राज्यले दिएको पोशाक सुविधा थिएन जुन सुविधा स्थायी शिक्षकका लागि मात्र थियोे । तर पनि म तलब पाइराखेको थिए, शिक्षण पेशा मेरो पहिचान थियो । तर भित्र–भित्र स्थायी शिक्षक भएर पोशाक लगाउने इच्छा थियो । त्यो चाहना पूरा हुन खासै समय लागेन । पहिलो आयोग के खुलेको थियो सिफारिस भैयो आफ्नै गृह जिल्लामा ।
विद्यालय प्रवेशको दिनदेखि नै नियमित पोशाक लगाएर नै विद्यालय जान थालियो र जस्तोसुकै अवस्थामा पनि पोशाक लगाउन उचित हुन्छ किनकि पेशाप्रतिको सम्मान पहिचान र समानता ।
तर परिस्थिति सधै उस्तै हुँदोरहेनछ । गतवर्ष शिक्षा दिवश र बालदिवसको अवसर पारेर नगरपालिकामा शिक्षक र विद्यार्थी सम्मान कार्यक्रम रहेछ । मलाई पनि नगरपालिकाबाट करिब १० बजेतिर फोन आयो । पोशाकमै विद्यालयमा प्रार्थनामा सरिक थिए । म जानकारी गराएर गल्याङ हिँडे सोही पोशाकमा । अघिल्लो दिनदेखि अविरल वर्षा भै रहेको थियो । बाटोको हालत उस्तै हो । म गल्याङ पुग्दा त मेरो पोशाक झरीको बेला रोपाइँको बाउसेको जस्तो भयो । म कार्यक्रममा जाउ या नजाउ, मुरलीधर श्रीधरका छोराको बिहेमा जाने कि नजाने दोधारमा परेजस्तो भो । म गल्याङ पुगेर एउटा फेन्सी पसलमा एक टि शट र पाइण्ट किनेर लगाएर पोशाक प्लास्टिकमा राखे र कार्यक्रममा पुगे । जहाँ सबै जना साथीहरु पोशाकमा हुनुहुन्थ्यो । म हाँसको बथानमा बकुल्लोजस्तो महसुस गरेको थिए । सधै पोशाक लगाएर विद्यालय जाने म शिक्षा र बाल दिवसको कार्यक्रममा पोशाकविहिन भए । शिक्षक सम्मानको कार्यक्रम रहेछ । मेरो पनि नाम आएपछि मन्चमा पुगे । पुग्नासाथ शिक्षा शाखा प्रमुख सरले टिप्पणी गर्नु भो, को आयो भनेको त सर पो हुनुहुँदोरहेछ । जुन मेरो पहिरनप्रति लक्षित थियो र स्वभाविक पनि । म त्यो कुरा सरलाई फर्कने बेलामा सुटुक्क स्पष्टीकरण दिएर फर्के ।
अहिले केही दिन पहिलेको कुरा विद्यालयको कामले पोखरा जानु पर्ने भयो । म अघिल्लो सालको कुरा सम्झे र हाफपेन्ट र टिसर्ट लगाएर घरबाट निस्के । नाग्डाँडा पुगेर खाजा खाए अनि शिक्षक पोशाक लगाए र पोखरा सोझिए । कुभिन्डे पुग्ने बेलामा घुम्ती फराकिलो बनाउदै रहेछ । त्यो हिलोमा मेरो पोशाक विपरिततिरबाट आएको ट्रकको छ्यापाइले पन्ध्र असारको बाउसे बनाइदियो । म पुरानै कपडा फेरि लगाएर जुजुमान बनी पोखराका आधा दर्जन अफिस पुगे । काम गरे फर्किए ।
मलाई पेशा, पोशाक र परिस्थितिको बारेमा खस्खस लागेको बेला काठमाडौंमा सरकारी बाइकको दुरुपयोग भन्ने शिर्षकमा त्यस्तै पोशाकको कारणले दुई कर्मचारी चर्चामा रहेछन् । तिनीहरुको परिस्थिति त के थियो थाहा भएन तर मलाई यो अनुभवले यो तितो सत्यबोध गरायो र यो लेख लेख्न मन लाग्यो ।
(लेखक पराजुली वालिङ १२ स्याङ्जा निवासी हुन् ।)





