सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खोल्ने तयारी नसकिँदै होटलमा फेरि ताला

खोल्ने तयारी नसकिँदै होटलमा फेरि ताला

काममा बोलाएका कर्मचारी धमाधम फर्काउँदै व्यवसायी


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७७, बिहिबार

पोखरा, २९ साउन– महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले ४ महिना लामो लकडाउन लगायो । एक महिनाअघि सरकारले लकडाउन फिर्ता लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्किदै थियो । फाट्टफुट्ट रुपमा व्यवसाय चल्न थालेका पनि थिए । तर, कोरोना भाइरस एकाएक समुदायमा फैलियो । सरकार पुनः लकडाउनको निर्णयमा त पुगेन तर केही व्यवसाय संचालनको कार्यविधि नै बदल्यो ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बुधबार नयाँ निर्णय सार्वजनिक गर्दै होटल तथा रेष्टुरेण्टबाट तयार पारिएको परिकार लैजान (टेक अवे) मात्र पाइने घोषणा ग¥यो । घोषणासँगै साउन १५ गतेदेखि संचालनमा आएका होटल तथा रेष्टुरेण्ट व्यवसाय पुनः खुम्चिन पुग्यो ।
व्यवसायमा पुन नयाँ मापदण्ड तोकिएपछि होटल व्यवसायीहरु अन्यौलमा परेका छन् । ४ महिना लामो लकडाउनपछि सटरको चाबीसम्म खोल्न भ्याएका पोखराका होटल व्यवसायीहरु अब के गर्ने भन्ने द्धिविधामा छन् । होटल बाटिकाका सहायक म्यानेजर अनिल सापकोटाले होटल सञ्चालनको तयारी थाले पनि पुनः बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने अनुमति पाएसँगै बिदामा बसेका कामदारलाई काममा फर्काएकोमा पछिल्लो निर्णयले अन्यौलता थपेको उनको भनाई थियो । ‘साउन १५ पछि बिदामा बसेका कर्मचारीलाई पनि होटल खोल्ने भनेर बोलायौं पनि । पहिला २, ३ जनालाई मात्रै रेखदेखको लागि राखेका थियौं’, उनले भने, ‘सुरक्षाको लागि गेटमा सेनेटाइजर, ज्वरो नाप्ने थर्मल गनको पनि व्यवस्था गरेका थियौं,अब फेरि बन्द गर्नुप¥यो ।’ पूरा तलब दिन नसकेपनि ६० प्रतिशतसम्म तलब दिने सर्तमा बोलाइएका कर्मचारीलाई तत्काल फर्काउन पनि नसकिने र तलब दिन पनि नसक्ने अवस्था आएको उनको गुनासो थियो ।
होटल ल्यान्डमार्कले पनि सरकारले साउन १५ देखि होटल व्यवसाय चल्न दिने निर्णय गरेसँगै सञ्चालनको तयारी थालेको थियो । होटलका लेखापाल छविलाल पाण्डेले पाहुना आइहाले तत्पर भएर बसेको अवस्थामा सरकारको निर्णयले अन्यौल पैदा गरेको बताए । ‘इन्टरनल सरसफाई गरिरहेका थियौं । साउन १५ पछि स्टाफ पनि थपेर पाहुना आए सेवा दिन तत्पर भएर बसेका थियौं’, उनले भने,‘एकाएक सरकारले टेक अवे मात्र गर्नु भन्यो, अब होटलको तयारी के गर्ने ?’
पोखरा पर्यटन परिषद्को महासचिव दिल गौतमले साउन १५ पछि होटल व्यवसाय सञ्चालनको लागि सरसफाईमा लागे पनि पछिल्लो निर्णयले अन्यौल पैदा गराएको बताए । ‘आन्तरिक हवाई उडान खुलेपछि सामान्य अवस्थामा फर्किने अपेक्षा लिएका थियौं । बुद्ध एअरले पनि बुकिङ खोलेको थियोँ’,उनले भने,‘ ग्राहकहरुले सोधपुछ पनि थालेका थिए । त्यो पनि अहिले क्यान्सिल भएको छ ।’
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले साउन १५ पछि सरकारले होटल व्यवसाय खोल्ने अनुमति दिए पनि आंशिक होटल मात्र खुलेको बताए । ‘करिब १० प्रतिशत क्वारिण्टिनसहित सञ्चालनमा आएका थिए तर, पर्याप्त मात्रामा खुलेका थिएनन्’,उनले भने, ‘पछिल्लो घटनाक्रम अनुसार संक्रमण बढ्दै गयो । हाम्रो अपेक्षा भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई सेवा सञ्चालनमा आउँदा, लामो दूरीका बस चल्दा केही होला भन्ने थियो, सरकारको घोषणाले अब आशा बिलायो ।’ अन्तर्राष्ट्रिय उडान पनि पर सारेको हुँदा होटल व्यवसायीलाई थप अन्यौल थपेको उनले बताए । ‘सबैभन्दा पहिला हाम्रो स्वास्थ्य हेर्नुप¥यो । अहिले जुन अन्यौल सिर्जना भएको अवस्थामा । अब आउने सिजन पनि धकेलिन्छ कि भन्ने हाम्रो आंकलन छ । किनभने संक्रमणको दर बढी रहेको छ’, उनले भने । व्यवसाय खोल्दा संक्रमण झन दोब्बर तेब्बर रुपमा बढ्छ कि भन्ने आंकलन गरेर सरकारले बन्द गर्ने निर्णय गरेको हुन सक्ने उनको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->