आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

जेनेरेसन ग्याप र कोरोना पछिको ग्याप जेनेरेसन

जेनेरेसन ग्याप र कोरोना पछिको ग्याप जेनेरेसन


  • टिका वहादुर कार्की
  • साउन २९ २०७७, बिहिबार

समाजको विकासक्रमसंगै मानिसका सोच, चिन्तन र शैलीमा परिवर्तन भइरहेको छ । विश्वव्यापीकरण, मास मिडिया तथा नयाँ प्रबिधीको प्रभावले यसमा कतै न कतै प्रभाव पारिरहेकै छ । तिब्र सामाजिक गतिबिधी, केवल फाईदामा चल्न चाहने व्यक्ति केन्द्रित सोच, प्रबिधिको बिकास, बिस्तार र बसाई सराई लगायतका कारणले पनि मानिस मानिसको विचमा केही खाडलहरु जन्मिरहेका छन् । बृध्द बृध्दा, युवा युवति र केटाकेटी मध्य पनि शिक्षित, अशिक्षित, जात थर, कामको स्तर, धनी र गरिब, ईन्टरनेटमा पहुँच भएका र नभएका बीच परम्परागत सोंच र आधुनिक व्यबहारिक अवस्थाको बीचमा कतै खाडल पुरिंदै त कतै बढ्दै गइरहेको छ । कतिपय अशिक्षित र शिक्षत भए पनि ईन्टरनेटमा पहुँच बढाउन कोशिस नगर्नु, बच्चाहरुलाई लामो समय होस्टलमा राखी आफु काममा व्यस्त हुदाँ र एप्लीकेशनको आवश्यकता महसुस नगर्नुका साथै उपयोग गर्ने वातावरण सृजना नगरेका कारण आफ्ना बच्चाहरु भन्दा पनि कमजोर भैरहदा तीनै बच्चाहरुले आफ्ना अबिभावक छोडेर साथीको समिपमा रहन रुचाएको पाईन्छ । बुढाबुढी पनि आफुले एक चरण दुःखका साथ छोराछोरी हुर्काएर आराम गर्ने मनस्थितिमा पुगेका बेला फेरी छोरा बुहारीको व्यवहार र नाती नातीनीको चकचक र कचकचबाट वाक्क लागेर अलग्गै बस्न रुचाउने परिस्थितिले गर्दा स्वतः एक अर्कामा बुझाइको अवस्था फरक पर्न गएको पाईन्छ । यही ग्यापका बिचमा नव सन्ततीले आधुनिक शिक्षा र प्रबिधीमा फड्को मारीसक्दा उमेरले डांडो काटीसकेका ति बृद्धवृद्धा झन कमजोर हुँदै जाँदा रहेछन् ।
समय परिस्थिती अनुसार आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा, प्रबिधी र चेतनास्तरमा माथी उकास्ने ध्ययले यथासम्भव लगानी गर्दै जांदा युरोप अमेरिका लगायतका बिकसित देशसम्म पुगेका, चर्को व्याजमा ऋण काढेर, जायजेथा बेचेर वा बैंकमा धितो राखेर ती देशमा पठाईएकाहरुले आफ्नो देशमा हुने मासिक कमाईसंग तुलना गरी हेर्दा यहाँका उच्च पदस्थ पदाधीकारी भन्दा मासिक आम्दानीमा आफुलाई उच्च स्थानमा देख्छन् । आम्दानी केन्द्रीत पुस्ता, सुबिधायुक्त बिकास र फेसन केन्द्रीत पुस्ता प्रतिपस्र्धामा छन् । अर्कोतर्फ शैक्षिक योग्यता, सुचना प्रबिधी र अन्य सामाजिक हैसियत कमजोर भएका अबिभावक र परिवारका सदस्यलाई शिक्षाको व्यबस्था नगर्दा वा शिक्षित हुन नचाहाँदा र नसक्दाको परिस्थितिले यो जेनेरेसन ग्याप बढ्दै गएको पाईन्छ ।
जेनेरेसन ग्याप बढीरहेको बेला सन २०१९ को अन्ततिर अचानक देखा परेको कोरोना भाईरस रोग जस्तो महाबिपत्तीबाट बँच्न कम्तिमा २ मिटरको सामाजिक दुरी कायम गर्नु पर्ने बाध्यात्मक कानुनी व्यबस्था सृजना हंदाँ छुवाछुत वा अन्य बहानामा गरिने भेदभावजन्य व्यवहारलाई थप टेवा दिन सक्छ । धनी गरिब, रोजगार बेरोजगार, परिवारका सदस्य बिदेशमा रहेभएका वा नभएका, शिक्षित अशिक्षित, जात थर, शक्ति र सत्तामा पहुच भएका नभएका लगायत बहानामा स्पष्ट ग्याप जेनेरेसन (खाली स्थानको सृजना) भैरहेको अनुभुती गर्न सकिन्छ । महिला, जनजाती, दलीत, पिछडाबर्ग अल्पसंख्यक, अपाङ्ग, जेष्ठ नागरिक लगायतको लागी सरकारले ल्याईरहेको सुबिधा अब संधै उपलव्ध भैरहँदा अर्कोबर्ग पिछडिने अवस्था सृजना हूदाँ पुर्वाग्रहको दृष्टिले सृजना हुन सक्ने ग्याप जेनेरेसनलाई प्रत्युत्पादकतातर्फ उन्मुख हुन नदिनु अबको आवश्यकता हो । माथी उल्लेखित विश्वव्यापीकरण, मास मिडिया तथा नयाँ प्रबिधीको बिकास, बिस्तार र बसाई सराई, तिब्र सामाजिक गतिबिधी, व्यक्ति केन्द्रित बिचार लगायतका कारण परम्परागत सोंच, कार्य प्रणाली र आधुनिक व्यबहारिक अवस्थाको बीचमा ग्याप बढ्न नदिन यथासंभव सर्वसाधारणको पहुच पुर्याउने योजनाका साथ प्रबिधि र शिक्षाको बिकास गर्नुका साथै समयमै कानुन तथा निती निर्माण गरी जनचेतना अभिबृदी तथा व्यबहारिक अभ्यासद्वारा यस्तो ग्याप सृजना हुन नदिनेतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।
(बागलुङ नगरपालिका–४ निवासी कार्की पूर्व प्रहरी नायव उपरीक्षक हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->