पोखरा, २९ साउन– जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीका संयोजक, समाजसेवी वसन्त चालिसेले नेपाल प्रेस युनियन कास्कीलाई ५० थान प्रेस ज्याकेट प्रदान गरेका छन् । नेपाली कांग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्ती पारेर बुधबार ज्याकेट हस्तान्तरण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि संविधानसभा सदस्य शारदा पौडेल र संयोज वसन्त चालिसेले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई ज्याकेट हस्तान्तरण गरेका थिए ।
पत्रकारको पहिचानका लागि र पत्रकारलाई प्रोत्साहन गर्न ज्याकेट प्रदान गरेको चालिसेको भनाइ छ । प्रदान गरिएका ति ज्याकेट सोही कार्यक्रममा २७ जना पत्रकारलाई वितरण गरिएको थियो ।कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेलले लोकतन्त्र स्थापनाका लागि संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।
जीपी कोइराला फाउण्डेशन गण्डकीकी संयोजक समेत रहेकी पौडेलले पत्रकारिता क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवं कास्की कांग्रेसका प्रवत्ता नवीन सिग्देलले पत्रकार र पत्रकारिता क्षेत्रको संरक्षणमा सरकारको विशेष योजना आवश्यक रहेको औल्याए । नेपाली कांग्रेस क्षेत्र नं २ (क) कास्की सभापति विजयराज आचार्यले कोरोना महामारीको समयमा पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारीले महामारीको बेला समेत पत्रकारले जनतालाई सुुसुचित गर्दै कर्तव्य पूरा गरेको उल्लेख गरिन् । जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीका संयोजक बसन्त चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य चन्द्रावती वाग्लेले स्वागत र सदस्य शिव बास्तोलाले संचालन गरेका थिए ।





