पर्वत, ३१ साउन– निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ ।
लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत पर्वतको कुस्मा नगरपालिका- ७ खरेहा स्थित फलामखानी नजिकैको सडक भासिएको हो । पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको छ । भासिएको ठाउँको बाटो हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि सवारीहरु चल्ने गरेका छन् ।
कालोपत्रे गर्ने अन्तिम तयारी अवस्थामा रहेको बेलामा भएको लकडाउनका कारण काम रोकिएको अवस्थामा सडक भासिएको हो । छेउबाट सडकको मध्य भागसम्म भासिएका कारण तत्कालका लागि भासिएको ठाउँमा एकतर्फी रूपमा मात्रै सवारी चल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए ।





