आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोरोनाको पिरलो, कृषिमा उकालो

कोरोनाको पिरलो, कृषिमा उकालो


  • उपमा चापागाँई
  • भाद्र १ २०७७, सोमबार

गत वर्ष डिसेम्बरदेखि विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विकसित भएको छ । यस रोगको प्रकोपले विश्वका धेरै देशहरुमा भयावह स्थिति छ । कैयौं मानिसहरुले ज्यान गुमाउन पुगेका छन् भने कैयौं अझै संक्रमित छन् र उपचाररत छन् । यस रोगको फैलावट रोक्नका लागि धेरै देशहरुमा लकडाउन यानीकि बन्दाबन्दी गरियो र मानिसहरुलाई अत्यावश्यकबाहेक घरबाहिर निस्कनका लागि रोक लगाइयो । मानिसहरु घर–घरमा बस्नुपरेकाले आ–आफ्नो कार्यक्षेत्रमा जान पनि पाएका छैनन् । विश्वभर नै कोरोना भाइरसले उद्योगधन्दा, शिक्षणसंस्था, व्यापार व्यवसाय, यातयातजस्ता कैयौं क्षेत्रलाई ठूलो असर पुर्याएको छ । मानिसहरु आ–आफ्नो रोजगार र शिक्षाबाट बन्चित भएका छन् । त्यसैले विश्वको आर्थिक अवस्था नै डामाडोल भएको छ । गत वर्ष डिसेम्बरदेखि हालसम्म पनि कोरोना भाइरसको जोखिम न्युनिकरण भइसकेको छैन, अझ यसको प्रकोप बढिरहेकै देखिन्छ र कहिले समाप्त हुन्छ भन्ने पनि थाहा छैन । तर, कोरोना भाइरसका कारण यस संसारमा सकारात्मक परिवर्तन पनि आएको छ । विशेषगरी, पर्यावरणीय स्वच्छता कायम भएको छ । कृषिक्षेत्रमा अरु क्षेत्रको तुलनामा कमै असर परेको देखिन्छ । बरु कृषि उत्पादकत्व बढ्ने सम्भावना छ ।
नेपाल पनि कोरोना भाइरसको प्रकोपबाट अछुतो रहन सकेन । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिने उच्च जोखिम रहेका कारण गत वर्ष चैत्र ११ गतेबाट करिब एक महिनाको लागि लकडाउन गरिएको थियो, तर लकडाउन लम्बिएर करिब चार महिनासम्म आईपुग्यो । अहिले नेपाल सरकारले देशको आर्थिक भार धान्न असहज भएकाले लकडाउन खुलाएको छ र शिक्षण संस्थाबाहेक अन्य सेवासुविधाहरु लगभग पुन सूचारु भएका छन् । तर अहिलेसम्म पनि नेपालमा कोरोना भाइरसको जोखिम कायमै छ । झन् उल्टो, जोखिम त अझै बढिरहेको छ । स्थिति अझै कहालीलाग्दो बनेको छ ।
चीनको हुवेई प्रान्तबाट कोरोना भाइरसको पुष्टि हुनु अगाडि संसार आर्थिक उन्नतिमा लम्किँदै थियो । सम्पूर्ण देशका मानिसहरु आ–आफ्नो रोजगार, शिक्षाजस्ता कार्यमा संलग्न भइरहेका थिए । त्यसैगरी नेपालमा, विशेषगरी रोजगारी र उच्च शिक्षाका लागि सक्रिय युवा जनशक्ति या त आफ्नो गृहजिल्ला र गाँउठाँउ छोडेर नेपालकै सहरबजार र विभिन्न कार्यक्षेत्र गएका थिए, या त कैयौंको संख्यामा विदेश पलायन भएका थिए । कोरोना भाइरसको संक्रमणसंगै विभिन्न देशमा लकडाउन घोषणा गरियो । त्यसपछि चाहिँ आ–आफ्नो गृहजिल्ला र गाउँठाँउ छोडेर विदेश वा स्वदेशमै कुनै सहरबजार गएका कैयौं नेपाली सक्रिय युवा जनशक्ति आ–आफ्नै गाँउठाँउमा फर्किएका छन् । विशेषगरी, छिमेकी मुलुक भारतबाट स्वदेश फर्किनेहरुको त घुइँचो नै लाग्यो । साथै, विदेशमा रोजगारी गुमाएका र बिचल्लीमा परेका नेपालीहरुलाई विभिन्न खाडी मुलुक तथा अष्टे«लियाबाट नेपाल सरकारद्वारा पटक–पटक विमान चार्टर गरेर भएपनि स्वदेश फिर्ता ल्याइयो । अहिलेचाहिँ नेपाल सरकारले वैदेशिक रोजगार विभागको रोजगार प्रर्बद्वन कोषबाट आर्थिक अभावका कारण स्वदेश फिर्ता आउन नसकेकाहरु तर आउन चाहनेहरुलाई स्वदेश ल्याउनका लागि अर्धखर्च अथवा पूर्णखर्च कोषबाट नै गरेको छ । त्यसैले, अहिले आफ्नो गाउँ–ठाँउ र गृहजिल्ला फर्किएका जति पनि छन्, उनीहरु सबै आ–आफ्नो नियमित रोजगार र शिक्षाबाट बन्चित भएका छन् । कतिलाई त वेरोजगारीले गर्दा जीविकोपार्जन गर्न पनि हम्मे–हम्मे परेको देखिन्छ ।
अब प्रश्न चाहिँ के आँउछ भने ‘आ–आफ्नो गृहजिल्ला र गाउँ–ठाँउ फर्किएका नेपालीहरु आखिर यो लकडाउनमा कसरी समय व्यतित गर्ने त ? यसको सिधा उत्तर हुन्छ– सम्पूर्ण नेपाली सक्रिय युवा जनशक्ति र काम गरिखाने मानिसहरु जो विदेश र नेपालकै विभिन्न ठाँउबाट आफ्नो गृहजिल्ला आएका छन्, उनीहरुलाई परम्परागत जीवनयापनको मुख्य आधार अर्थात् कृषि कार्यमा संलग्न हुनका लागि एउटा सुनौलो अवसर सिर्जना भएको छ । अवसर संगसंगै यो एउटा बाध्यता पनि हो । बाध्यता यस अर्थमा कि, नेपालीहरुले धेरै पहिलेदेखि नै कृषि कार्य गरी जीविकोपार्जन गर्दै आएका छन् र कृषि गर्ने कुरा पुर्खाहरुबाट अहिलेका सन्ततिसम्म प्राकृतिक रुपमा आएको छ । अरु कुनै कामकाज नजाने पनि कृषि गरेर जीवन चलाउन त प्रायः सबैलाई आँउछ नै । यसैकारण, नेपालमा कृषि उब्जनीको बढोत्तरी हुने सम्भावना अत्यन्तै उच्च रहेको छ । यसको केही श्रेय अहिलेको यस कोरोना महामारीलाई जान्छ ।
अर्कोतर्फ, अहिले कृषि उब्जनीका लागि मौसम पनि अनुकुल भएको छ । समयमै मनसुन सुरु भएका कारण अहिले खेतबारीमा उब्जनी बढाउनका लागि समय, मौसम र जनशक्ति सबै सकारात्मक छ । त्यसैले गाँउघरको त कुरै छोडौँ सहरबजारका पनि टुक्राटाक्री जमिन पनि मानिसले खाली छोडेका छैनन् । स्रोतसाधनले भ्याएसम्म तरकारी, अन्नबाली, फलफूल आदि उब्जनी गर्ने कोशिश गरिरहेका छन् । बाँझो खेतबारी र खोरियादेखि लिएर उजाड जमिन पनि अहिले कृषि उब्जनीमा उपयोग भएको प्रष्टै देख्नन सकिन्छ । साथै, खेतीयोग्य जमिनको अभाव र लक् डाउनमा पनि सहर बजारमै बसोबास गरिरहेकाहरुको पनि घरको कौसीतिर हेर्यो भने चाहिँ तरकारीका झालपात र केही फलफूलका बोटबिरुवाहरु यत्रतत्र देख्न सकिन्छ । यसरी आफ्नो जग्गाजमिन नभएकाले पनि कौसीखेती गरेर आफैले फलाएर खाइरहेका छन् ।
तर अवसर संगसंगै देशलाई एउटा चुनौती पनि थपिएको छ । कोरोना भाईरस महामारीका कारण हजारौँहजारको संख्यामा विदेशबाट नेपाल भित्रिएका नेपालीहरुलाई एकैपटकमा रोजगारी कसरी सिर्जना गराउने भन्ने कुरा चुनौतीको रुपमा खडा भएको छ । अहिले आइपरेको यस चुनौतीलाई स्वीकार्दै पूर्णरुपमा अवसरतर्फ धकेल्नका लागि र देशलाई आत्मर्निभरतातर्फ लैजानका लागि नेपाल सरकारले पनि विभिन्न परियोजना र कार्यक्रमहरु संघीय तथा स्थानिय दुवै तहमा संचालन गरेको छ । यहीं अवसर र चुनौतीको पूर्व अध्ययन पछि २०७७÷७८ को आर्थिक बर्षमा कृषि क्षेत्रकै लागि भनेर करिब ७ अर्ब रकम विनियोजन भएको छ । यस रकम पहिलेको तुलनामा करिब दोब्बरजस्तो नै बढी हो । यस रकमलाई संघीय र स्थानिय दुवै तहमा कृषि क्षेत्रको उत्थान, प्रर्बद्वन तथा कृषिमा स्वरोजगारिता र उद्यमशिलतालाई बढाउने उद्देश्यले छुटाइएकेको छ । साथै, अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर पनि एउटा कार्यत्रम सुरु भएको छ । जसअन्तर्गत विशेषगरी विदेशबाट फर्किएका नेपालहरुलाई र कृषि उद्यमी बन्न चाहनेहरुलाई भनेर न्युनतम ब्याजदरमा ऋण भुक्तानी गरिने भएको छ । त्यसैगरी, नेपाल सरकारले जग्गाको चक्लाबन्दी गर्ने नीति पनि प्रस्तुती गरेको छ । जसअन्तर्गत सामूहिक रुपमा कृषि कार्यमा संलग्न हुन चाहनेहरुका लागि उनीहरुको जग्गालाई मिलाएर सामूहिक फार्म स्थापना गरिने र स्थानिय तहको सरकारले त्यसका लागि आवश्यक विऊविजन, उपकरण र अन्य प्रविधिक सहयोग प्रदान गर्ने भएको छ । साथै, अहिले सरकारले धान, गहुँजस्ता खाद्यान्नको लागि समर्थन मूल्य पनि कायम गर्ने भएको छ । प्रत्येक पालिकामा कोल्डस्टोर एवम् पालिका स्तरीय कृषि उपज संकलन तथा वितरण केन्द्र पनि संचालनमा ल्याइने भएको छ ।
अर्कोतर्फ, सहरबजारमै बसोबास गर्नेलाई पनि कृषि प्रबद्र्वनमा टेवा पुर्याउनका लागि नेपाल सरकारले कौसी खेतीमा निकै जोड दिएको छ । विशेषगरी, काठमाडौँ र पोखरा उपत्यकाका स्थायी बासिन्दाहरुलाई कौसी खेती गर्नका लागि भनेर महानगरपालिकाबाट मल बनाउने कम्पोष्ट विनजस्ता महत्वपूर्ण उपकरण न्यूनतम शुल्कमा वितरण पनि गरिएको छ ।
मेरै गृहजिल्ला बागलुङको उदाहरण दिनुपर्दा, बागलुङ जिल्ला गल्कोट नगरपालिकाले नगरबासीहरुमा ‘मेरो लागि म आफै उब्जाँउछु’ कार्यक्रम ल्याएको छ । त्यस कार्यक्रमअन्तर्गत विशेषगरी तरकारी, माछा–मासुजन्य वस्तुहरुको उब्जनी र यस्ता वस्तुहरुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनमा विशेष जोड दिइएको छ । विशेषत, दरम खोलाको असला माछा संरक्षण र विदेशबाट आएका नेपालीहरुलाई स्वरोजगारिता सिर्जना गराउनमा यस कार्यक्रमको ठूलो भूमिका हुने सम्भावना छ । यस्तै खालका कार्यक्रमहरु कतिपय अरु जिल्लाहरुमा पनि स्थानिय तहमा संचालनमा छन् । यदि कुनै जिल्लामा संचालनमा छैन भने पनि यस्ता कार्यक्रम संचालनमा आउनु अति नै आवश्यक छ ।
संक्षिप्तमा भन्नुपर्दा कोरोना भाइरसका कारण नेपालमा कृषि क्षेत्रमा उन्नतिमात्रै नभएर ठूलो फड्को मार्न सक्ने सम्भावना देखिन्छ । यसपालिको जिडिपीमा पनि कृषिको योगदान बढी हुने देखिन्छ । गाउँठाउँ फर्किएकाहरुमा परम्परागत जिविकोपार्जनको मुख्य आधार कृषिलाई नै अंगालनुपर्ने बाध्यता, आफ्नै गाँउठाँउमा केही योगदान दिने अवसर, मौसम अनुकुलता र नेपाल सरकारले ल्याएका विभिन्न परियोजना तथा कार्यक्रमहरुले नेपालको कृषि उत्पादनको सम्भावनालाई साकार रुप दिने प्रस्टै देख्न सकिन्छ ।
त्यसैले, सम्पूर्ण नेपाली युवाहरु तथा सक्रिय जनशक्ति जति पनि छौँ, आऔँ कोरोना भाइरसले सिर्जना गरिदिएको यस अवसरलाई साकार रुप दिनका लागि आ–आफ्नो गाउँ–ठाउँमा कृषि कार्यमा संलग्न भई नेपाललाई साँचो अर्थमा कृषि प्रधान देश बनाऔँ, कृषि उपजमा आत्मनिर्भरोन्मुख बनौँ ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम
बिएस्सी हर्टिकल्चर, छैटौँ सेमेष्टर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->