शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

टाउको गनेर विकास हुन्न– मुख्यमन्त्री गुरुङ

टाउको गनेर विकास हुन्न– मुख्यमन्त्री गुरुङ

ढोरपाटन राष्ट्रिय दैनिकको १८ औं वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • भाद्र १ २०७७, सोमबार

पोखरा, १ भदौ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्ष दलका नेताहरुलाई रचनात्मक सुझाव दिनको लागि आग्रह गरेका छन् । सोमबार ढोरपाटन राष्ट्रिय दैनिकको १८ औं वार्षिकोत्सव तथा सम्मान समारोहका प्रम्ख अथिति रहेका मुख्यमन्त्री गुरुङले ध्वंसात्मक आलोचनाले समस्याको समाधान नहुने बताएका हुन् । कोरोना कहरप्रति सरकार जिम्मेवार नभएको मुख्य मागसहित गण्डकी प्रदेशसभा अवरुद्ध गरिरहेको बेला उनले यो अभिव्यक्ति दिएका हुन् ।
उनले प्रतिपक्षले सानो सानो कुरामा चित्त नबुझेर विरोध गर्दा संसदीय प्रणाली नै खतरामा जाने जिकिर गरेका थिए । ‘सानो सानो कुरामा चित्त नबुझेर प्रतिपक्षले ससंद अवरुद्ध गर्ने होइन’, उनले भने, ‘प्रतिपक्षले आफूहरुलाई संसदीय प्रणालीको पर्यायवाची ठान्ने भएकाले संसदीय मर्म अनुसार नै काम गर्नुपर्छ ।’
मुख्यमन्त्री गुरुङले प्रमुख प्रतिपक्ष दलका नेताहरुलाई विरोधकै लागि विरोध नगर्नका लागि पनि सुझाएका थिए । प्रतिपक्षले नीतिगत व्यवस्था सच्याउनेदेखि गलत भएको ठाउँमा गलत भन्नुपर्ने तर विरोधकै लागि मात्र विरोध गर्न नहुने जिकिर उनको जिकिर थियो । ‘प्रतिपक्षले त यो चाहिँ गलत छ । हामी भएको भए यस्तो गथ्यौं भनेर भन्ने हो, नीतिगत व्यवस्था सच्याउन भन्ने हो’, उनले भने, ‘जे कुरामा पनि विरोध गर्ने होइन ।’ उनले प्रतिपक्षले दिएका रचनात्मक सुझाव सधंै सुनिएको जिकिर गरे ।
संसदमा विवादीत बनि रहेको निर्वाचान विकास कोषको विषयमा बोल्दै मुख्यमन्त्री गुरुङले कुनै ठाउँमा समान वितरण हुन नसक्ने जिकिर गरेका थिए । आफ्नो निर्वाचन क्षेत्र र कास्कीको निर्वाचन क्षेत्रको उदाहरण दिँदै उनले यसले निर्वाचन क्षेत्र धेरै भएको ठाउँमा धेरै बजेट जाने हुँदा समान वितरण हुन नसक्ने बताएका थिए । प्रत्यक्ष निर्वाचित सांसद र समानुपाति सांसदमा जनताबाट चुनिएको हुनाले प्रत्यक्ष निर्वाचित सांसद जनताप्रति बढी उत्तरदायी हुने उनको तर्क थियो । ‘टाउको टाउकोलाई समान गराउन खोज्दा समान विकास हुन सक्दैन । कुनै कुनै ठाउँमा समान वितरण हुन सक्दैन’, उनले भने, ‘किनभने, जनताप्रति उत्तरदायी त प्रत्यक्ष निर्वाचित सांसद हो । उसले बढी जवाफदेही हुनुपर्छ ।’
प्रदेश सरकारले ल्याएको प्रदेश विकास प्राधिकरण विधेयकमा सांसदहरुले व्यापक असन्तुष्टि जनाएका थिए । मन्त्रीहरुले समेत यसमा असन्तुष्टि जनाएको पनि सुन्नमा आएको थियो । विधेयकले मन्त्रालयको अधिकारलाई कटौति गरेको उनीहरुको गुनासो थियो । मुख्यमन्त्री गुरुङले प्रदेश विकास प्राधिकरणले मन्त्रीहरुको कार्यक्षेत्राधिकारभित्र कुनै पनि हस्तक्षेप नगर्ने स्पष्टिकरण दिए । । वैदेशिक लगानी भित्र्याउने लगायत नीजि क्षेत्रसँग समन्वय गरि प्रदेश विकास प्राधिकरणले मन्त्रालयका काममा सहयोग पु¥याउने उनले बताए । संघीय शासन पद्धतिमा सरकारको नेतृत्व लिइसकेपछि मुख्यमन्त्रीले आफ्नो क्षेत्राधिकार भित्र पर्ने सबै निकायमाथि अधिकार प्रयोग गर्न पाउने उनको तर्क थियो । प्रदेश सरकारले आवश्यकताअनुसार नै विधेयकको व्यवस्था गरेकोसमेत उनले जिकिर गरे ।
कोरोना महामारिसँगै गण्डकी प्रदेश बाढीपहिरोबाट समेत प्रभावित भएको बताउँदै उनले कैयौं बस्ति बस्न नमिल्ने भएको स्वीकारे । बाढीपहिरोले विस्थापित परिवारको लागि प्रदेश सरकारले पुनर्वासको व्यवस्था गर्ने उनले दोहो¥याए । पुनर्वासको लागि संघ सरकारले समेत ३ लाख रुपैयाँ दिने निर्णय लिएको छ । बाढीपहिराले क्षति नपु¥याए पनि केही गाउँ बस्न नमिल्ने अवस्थामा पुगेको हुँदा त्यस्ता बस्ती स्थान्तरणको लागि कार्यदल तयार पारिने उनले उद्घोष गरे ।
मुख्यमन्त्री गुरुङले राष्ट्रिय विपद् व्यवस्थापन समितिले काम नगरेकोसमेत गुनासो गरे । कामै नगर्ने समितिको कुनै अर्थ नभएको भन्दै उनले यस्ता समितिहरुले फजुल खर्च मात्रै गर्ने गरेको उनको भनाई थियो । कतिपय संस्थाले काम नगरिदिँदा दोष सरकारमाथि आउने उनको तर्क थियो । गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले ढोरपाटनलाई वार्षिकोत्सवको शुभकामना दिंदै १८ वर्षसम्म ढोरपाटनको गतिविधिसँग आफू पनि सम्बद्ध रहेको बताए । उनले जटिल परिस्थितिमा पनि ढोरपाटन अघिबढेको बताउँदै संघीयतासँगै पोखरामा सूचना दिन आएर आफ्नो परिचय थप मजबुत पारेको बताएका थिए ।
स्थापनाको १८ औं वर्षसम्म ढोरपाटनले थुप्रै राजनीनिध आरोहअवरोह पार गरेर आएको बताउँदै सांसद सापकोटाले जिम्मेवार पत्रकारिता पूरा गर्न ढोरपाटन सफल रहेको बताएका थिए । ‘बागलुङबासीलाई संघीयतासँगै प्रदेश राजधानीलाई आत्मसात गर्दै ढोरपाटनले सुखद सन्देश प्रवाह गरेको छ । संघीयतालाई स्थापित गर्न प्रदेशबासीको अभिलाषा बुझेर गण्डकीलाई स्थापित गर्न मुख्यमन्त्री लागि पर्नुभएको छ’ उनले भने, ‘यो अभियानमा ढोरपाटन पनि साथसाथै छ ।’ बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले शुभकामना सन्देश दिंदै ढोरपाटनले विकासको सन्देश फैलाएको बताए । ढोरपाटनले चिललेझैं प्वाँख फैलाएर पोखरासम्म आउने प्रयास गरेको उनको भनाई थियो । उनले सञ्चारजगतमा ढोरपाटनले महत्वपूर्ण भुमिका खेलेको बताएका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले ढोरपाटनले सञ्चार माध्यको नयाँ स्वाद चखाइरहेको बताए । उनले संकटमा जोगाउनुपर्ने र अस्तित्व जोगाइ राख्नुपर्ने बताउँदै व्यवस्थित सञ्चार माध्यम बनाउनु जरुरी रहेको बताए । ज्ञवालीले आफ्ना भनाईका क्रममा लोककल्याणकारी विज्ञापनको सट्टा कोरोना प्रभावमा परेका पत्रकारलाई लेखनवृतिमा सहयोग पु¥याउन मु्ख्यमन्त्री सामु माग पनि राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ढोरपाटन संचार प्रालिका अध्यक्ष तथा ढोरपाटन राष्ट्रिय दैनिकमा सम्पादक हरिनारायण गौतमले संघीयतालाई बलियो बनाउन तथा गण्डकीलाई समृद्ध बनाउने अभियानमा पत्रकारिताको माध्यमबाट सघाउने प्रतिवद्धता व्यक्त गरे । ढोरपाटन राष्ट्रिय दैनिकमा प्रबन्ध सम्पादक वाशुदेव मिश्रको संचालन तथा कार्यकारी सम्पादक रामकृण बोहराको धन्यवाद ज्ञापन रहेको कार्यक्रम सुरक्षाका सम्पूर्ण प्रबन्धसहित आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->