तनहुँ, १ भदौ– पछिल्लो साता तनहुँमा समुदायस्तरमा कोरोना भाईरसको संक्रमण ह्वात्तै फैलिएको छ । समुदायस्तरमा थप जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले दुई स्थानिय तहमा सोमबारदेखी निषेधाज्ञा जारी गरेको छ ।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबारको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम भानु नगरपालिकामा दुई साता र व्यास नगरपालिकामा एक साता लामो निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । ‘भानु र व्यासमा सुमदायमा अलि धेरै संक्रमण देखियो । यहाँ निषेधाज्ञा जारी गरेका छौँ । अन्य स्थानिय तहमा पनि थप सतर्कता अपनाइएको छ’, उनले भने । आचार्यका अनुसार अन्य स्थानिय तहमा पनि समुदायस्तरमा संक्रमण बढेको खण्डमा निषेधाज्ञा लागु गरिनेछ ।
ती दुई स्थानीयमा निषेधाज्ञा अवधिभर अतिआवश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक संस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य तथा उद्योग, कलकारखाना र अन्य व्यवसाय बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । अत्यावश्यक सेवा, स्वास्थ्य तथा सरसफाईका सेवा, सरकारी र सार्वजनिक कार्यलयका नियमित कार्यहरु सञ्चालन गर्न पाईनेछ । स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी औषधी, खाद्यान्न, फलफूल, तरकारी र दुग्धजन्य सामाग्री विक्री वितरण गर्ने पसल सञ्चालन गर्न दिईनेछ । यस्तै राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधन, एम्बुलेन्स, शवबाहन, खाद्यान्न, औषधी, फलफुल, कुखुराको चल्ला, माछा, मासु, तरकारी, दुग्द्यजन्य पदार्थ, पानी र इन्धन बोक्ने सवारीलाई पनि चल्ने दिने प्रशासन कार्यालयले निकालेको सुचनामा उल्लेख छ ।
निषेधाज्ञा अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
तनहुँमा समुदायस्तरका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार भानु नगरपालिकामा २४ जना, व्यास नगरपालिकामा पाँच जना, देवघाट गाउँपालिकामा दुई र बन्दीपुर गाउँपालिकामा एक जनालाई संक्रमणको पुष्टी भएको हो ।
जिल्लामा हालसम्म दुई सय २० जनामा कोरोना पुष्टी भएकोमा एक सय ८२ जना निको भएर घर फर्किएका छन् । संक्रिय संक्रमित ३८ जनामध्ये २७ जना जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा, दमौली अस्पतालको आईसोलेसनमा चार जना, बन्दीपुर अस्पतालको आईसोलेसनमा ३ जना र देवघाटमा होम आइसोलेसनमा दुई जना रहेका जनाईएको छ । यस्तै, दुई जना पोखरामा आईसोलसनमा छन् । तीमध्ये एक जना पनि होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तनहुँमा पछिल्लो समयमा आईसोलेसनमा बस्ने बढ्दै जादाँ क्वारेन्टिनमा बस्नेको संख्या घटेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए । उनका अनुसार हाल ९८ जना क्वारेन्टिनमा छन् ।
तनहुँका अन्य स्थानीय तहले पनि समुदायमास्तरमा कोरोनाको संक्रमण फैलने डरले थप सजगता अपनाएका छन् । शुक्लागण्डकी नगरपालिका विहान ११ बजेदेखी साँझ ५ बजेसम्म मात्र बजार खोल्न अनुरोध गरेको छ । बजार सञ्चालन गर्दा पनि व्यवसायी र सेवाग्राहीले मास्क लगाई साबुन र सेनीटाइजरको प्रयोग गरी भौतीक दुरी अनिवार्य कायम गर्न भनिएको छ ।सोमबार मेयर किसान गुरुङद्धारा हस्ताक्षरित सुचनामा नगरमा सञ्चालन गर्ने अत्यावश्यक सेवा र खाद्यान्न ढुवानी बाहेकका सवारी बन्द गर्न आग्रह गरिएको छ । ‘फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा तथा साईकलमा सञ्चालन भईरहेको तरकारी, खाद्यन्न, फलफुल लगायतका खुद«ा व्यपार नगर्ने/नगराउने’, सुचनामा उल्लेख गरिएको छ ।
धार्मिक स्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न, चाडपर्व आ–आफ्नै घरमा रही जनस्वास्थ्यका मापदण्ड पालनासहित मनाउन पनि आग्रह गरिएको छ । आबुखैरेनी गाउँपालिकाले समेत सोमबारदेखि एक साता लकडाउन गरेको छ । देवघाट गाउँपालिका–५ र बन्दीपुर गाउँपालिका–१, ४ र ५ पनि लकडाउन गरिएको छ ।





