पोखरा, २ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरे परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार भएको वताएका छन् । घिमिरेको निधनप्रति मंगलवार शोक बक्तब्य जारी गर्दै मुख्यमन्त्री गुरुङले ‘घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार’ भएको वताएका छन् । राष्ट्रकवि घिमिरको निधनप्रति दुःख ब्यक्त गर्दै उनले परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गरेका छन् । घिमिरेको काठमाडौं लैनचौरस्थित निवासमा मंगलवार साँझ निधन भएको छ ।
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको लमजुङ जिल्ला, मस्र्याङ्दी गाउँपालिकाको पुस्तुनमा वि.सं. १९७६ साल असोज ७ गते जन्मेको स्मरण गरेका छन् । वाल्यावस्थादेखि निरन्तररुपमा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका बहुप्रतिभाका धनि राष्ट्रकवि घिमिरेले साहित्यका माध्यमवाट आधुनिक नेपाली जनमानसमा राष्ट्रप्रेम र प्रकृतिप्रेमको भावना जागरण गराउन प्रमुख भूमिका निर्वाह गरेको मुख्यमन्त्रीले शोक बक्तब्यमा उल्लेख गरेका छन् ।





