सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मनाङे स्याउ : हिमालयन फ्रेस !

मनाङे स्याउ : हिमालयन फ्रेस !

करिब १० वर्षअघि मनाङमा स्याउको सपना देख्नु दुष्साहस नै थियो ।


  • बासुदेव मिश्र
  • भाद्र ४ २०७७, बिहिबार
????????????????????????????????????

पोखरा, ४ भदौ– हिउँ परेपछि मनाङको जनजीवन ठप्प हुन्छ । आम मान्छेलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेसी झर्न बाध्य बनाउँछ । ३५१९ मिटरको उचाईमा रहेको मनाङ सीमित खेतियोग्य जमिन र उत्पादनमा रमाउँछ । गोराहरु उकालो लागे,पर्यटन फस्टायो तर प्रकृतिले दिएको चिसोलाई ‘क्यास’ गर्नबाट मनाङ चुकिरह्यो । छिमेकी जिल्ला मुस्ताङले लहलह स्याउ फलाउँदा मनाङ जौ,आलु,फापरजस्ता अन्नबालीमा निर्भर रह्यो ।
सर्पमा विख र मान्छेमा ईख चाहिन्छ भन्छन् ! राजनीतिक चेत भएका पोल्देन छोपाङ गुरुङ आफै मनाङमा केही गर्न चाहन्थे । उनले बाउबाजेको थलोमै स्याउ फलाउने निधो गरे । करिब १० वर्षअघि त्यस्तो सपना देख्नु दुष्साहस नै थियो । परम्परागत स्याउ खेतीलाई उन्नत र बृहत बनाउन उनीहरुले एग्रो मनाङ प्रालि नामक कम्पनी खडा गरे । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइयो । २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी लिजमा लिएको जग्गामा रसिलो स्याउ फलाउन  हालका संघीय सांसद रहेका पोल्देन छोपाङ गुरुङसहित परिवार नै कस्सियो ।
मलिलो माटो नै नभएको भ्राताङको गेग्रानमा २०७० सालतिर स्थानीयभन्दा फरक खालका गाला, गोल्डेन र फुजी गरि तीन जातका स्याउका विरुवा रोपियो । विरुवाहरु इटली र सर्भियाबाट ल्याइएको थियो । ‘हाम्रो ठाउँ (भ्राताङ)मा थप जग्गा पनि छैन, लगभग ७३५ रोपनीको फार्ममा ५५० रोपनीमा अहिले खेती भइरहेको छ, मनाङ एग्रो प्रालिका निर्देशक युवराज गुरुङले भने,‘अहिलेसम्म ३० करोड लगानी भएको छ, हाम्रो ८ जनाकै परिवार यही फार्ममा संलग्न छौँ ।’
उनका अनुसार स्याउ खेतीका लागि सुरुमा हिमाली परियोजनाले २ करोड २४ लाख अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ । बाँकी लगानी बैंकतिरबाट जुटाइएको उनले सुनाए ।

अहिले स्याउ हरियै छ । करिब साढे २ महिनापछि स्याउ पाक्छ, फार्मका रहेका ६८ हजारमध्ये धेरै विरुवाले उत्पादन दिन थालेका छन् । केही विरुवा यही वर्ष थपिएको छ । ‘यो पटक ६ सय टन उत्पादन होला’, मूल्य चाहिँ गुणस्तर अनुसार लिने हो’, व्यवस्थापन विषय पढेका ३७ वर्षीय युवराजले भने,‘ बजारको समस्या छैन । कति स्याउ वाइन उद्योगलाई दिइन्छ, कति चाना बन्छ, केहीको जुस बनाइन्छ ।’ स्याउ त सबै ठाउँमा फल्छ । विश्व बजारमा निर्यातको सपना पालेका युवराजहरुले २ हजार ८५० मिटर उचाईमा उत्पादित स्याउलाई उनीहरुले ‘हिमालयन फ्रेस’ को नाममा ब्राण्डिङ गरिरहेका छन् । मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्राण्डमा विदेशी बजारमा देखिएको दिन आफ्नो सपना पूरा हुने उनीहरुले ठानेका छन् । यो स्याउ फार्म एसियाकै ठूलो हो । फार्ममा प्रत्यक्ष २६÷२७ जनाले फार्ममा काम गरिरहेका छन्, सिजनमा अरु २२÷२४ जनाले पनि काम पाउने युवराजको भनाई छ । फार्म संचालनसँगै मनाङ एग्रोले गण्डकी सरकारलाई स्याउ खेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ । गण्डकी सरकारले मनाङसँगै गोर्खाको चुनुब्रीमा सुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको हो । फार्म दक्षिण एसियाकै ठूलो र नमुना हो । मनाङ एग्रोले अर्कोवर्ष २१ लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।तस्विर : किसान संगित

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->