बागलुङ, ५ भदौ – रातो प्लेटको गाडी प्रयोग गरेर आउने वा जिल्ला प्रवेश गर्दा पैदल आउनेलाई खासै चेकजाँच वा सोधपुछ हुँदैन । उनीहरु भारतबाट आएका हुन् वा छिमेकी जिल्लाबाट भन्ने वास्ता नहुँदा समुदायमा कोरोना संक्रमणको जोखिम बढेको छ । पछिल्लो समय समुदायमा कोरोना देखिनेमा त्यस्ता मानिस छन् ।
कतिपय व्यक्ति कन्टयाक्ट ट्रेसिङमा परेका हुन् भने विदेशबाट आएको भनिए पनि उनीहरु ढिलागरी क्वारेन्टाइन पुगेकाहरु छन् । दुइ साताअघि कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका १४ मजदुर पनि पत्तै नपाई जिल्ला आइपुगेका थिए । खुलेर आएकाबाहेक कतिपय लुकीछिपी पनि बसेको अनुमान गर्छन्, बागलुङ नगरपालिका वडा नं. १ का सदस्य सूर्य लामिछाने ।
वडिगाडमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएकालाई संक्रमण हुनु र सदरमुकाममा सामान्य परिवारमा संक्रमण हुनुमा पनि त्यस्तै समस्या हुन सक्ने लामिछानेको कथन छ । लुकीछिपी आउनेहरु अधिकांश मोटर ग्यारेजमा काम गर्नेहरु भएकोले सबैको पिसिआर गरिएको उनले बताए । खाली भएका जिल्लाका ग्यारेजमा ५० बढी मजदुर आइपुगेका हुन् । उनीहरुमध्ये अधिकांशले दोब्बर भाडा तिरेर निजी गाडी प्रयोग गरेका छन् ।
जिल्ला प्रवेशद्वारमा रातो नम्बर प्लेटको गाडीको चेकजा“च नहुने भएपछि उनीहरुले छली काम गरेको पाइएको हो । निशेधाज्ञा लागेपनि पैदलबाटोसमेत प्रयोग भएको पाइएको हो । ‘कतिबेला को आएर बस्छ थाहै नपाइने भयो’ उनले भने, ‘खोजी गरिरहेपनि सबैजना पत्ता लाग्दैनन् ।’ त्यसरी आएकाहरु रामरेखा र रात्माटास्थित क्वारेन्टाइनमा लगिएको छ ।
दुई साताअघि खाली भएका क्वारेन्टाइनमा अहिले मानिस फेरी भरिएका छन् । जिल्लाभरी शुन्य हुँदै गएको बताईएका क्वारेन्टाइनमा अहिले १ सय ६० बढी छन् । तेस्रो मुलुकबाट आएकाहरुलाई होटलमा पठाइएको छ । होटलमा बस्नेले सरकारी रेटभन्दा बढीको खर्च आ“फै तिर्नुपर्छ । पैसा तिर्न नसक्ने मजदुरलाई भने विद्यालयको क्वारेन्टाइनमा राखेर खुवाइएको छ ।
रातो नम्बर प्लेट हालेका जिप तथा कारले लकडाउनको फाइदा उठाएर तीनदेखि चार गुणा बढी भाडा तिरेर यात्री ओसारेका छन् । उनीहरुले ती यात्रीलाई सिधै बस्तीमा पठाएकोले संक्रमणको जोखिम बढिरहेको गलकोट नगरपालिका वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘भारतको सिमानादेखि रातो प्लेटको कार चढेर आएकाले सदरमुकामबाट आएको पनि भन्न भ्याएका छन्’ उनले भने, ‘गाउ“टोलबासीको सहयोगमा क्वारेन्टाइन राखिएको छ ।’
थाहै नपाएकाहरुले सिधै बस्तीमा पुग्दा संक्रमणको जोखिम बढेको उनले बताए । कालो नम्बर प्लेटका बस र माइक्रो भने चैत ११ गतेदेखिनै चलेका छैनन् । छिटफुट चलेका जिपले पास बनाउने गर्थे । सातादेखि पास पनि रोकिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।
प्रतिव्यक्ति ४ हजार रुपैया“ तिरेर ५ जना भारतबाट आएकाहरु जैमिनी गएका छन् । उनीहरु कता बसेर आए भन्ने यकिन छैन । बुधबार कोरोना पुष्टी भएका युवा पनि भारतबाटै आएर क्वारेन्टाइन बसेका थिए । ‘प्रहरीले थाहा नपाएको भए उनीहरु सोझै घरघर पुग्थे’ प्रहरी निरिक्षक दिपक रिजालले भने, ‘शंकास्पद देखेपछि खोजी गर्दा उनीहरु भारतबाट आएको भेटिएका हुन् ।’
‘लुकिछिपी आएर समुदायमा नपसेको भए केही दिनमै आइसोलेसन खाली हुन्थे’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘अब हरेक टोलबासी सचेत भएर को आयो भन्ने निगरानी गर्नुपर्ने देखिन्छ ।’ गुरौका अनुसार, महोत्तरीबाट आएर संक्रमित भएका १४ जनासहित बागलुङ नगरभित्रै २५ सक्रिय संक्रमित पुगेका छन् । लुकीछिपी आउने रोक्न सकियो भने समुदायमा संक्रमण रोकिने उनले बताए ।
लुकीछिपी आउनेलाई कारवाहीस्वरुप होटल क्वारेन्टाइनमा राखेर खर्च भराउने तयारीसमेत पालिकाले गर्न थालेका छन् । जिल्लाका जनप्रतिनिधिमा पनि संक्रमण देखिएकोले समुदायमा सहजै पुगेको अनुमान छ । वडिगाडमा थप अर्का जनप्रतिनिधिमा संक्रमण देखिएको छ भने सदरमुकामको एकै परिवारका ६ जनामा संक्रमण देखिएपछि समुदायमा जोखिम बढेको देखिएको हो ।




