बागलुङ, ६ भदौ– प्रशासनले निशेधाज्ञा लगाएपनि बजारमा मानिस हिँड्न छाडेका छैनन् । लकडाउन खुलेको बेला त कामै नभएका मनिस पनि हुलका हुल हिँडीरहेका थिए । तर ती मानिसको भीड भएपनि होटलका कोठा भने खाली छन् ।
होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल भन्छन्, बजारमा भीड बनएर हिँडेका मानिसहरु होटलका पाहुना हैनन् । उनले लकडाउन लागेदेखि होटलमा लागेको ताला खुल्न नसकेको बताए । ‘उनीहरुको भीडले बजारमा कोरोनाको संक्रमण बढाएको छ, तर होटल व्यवसाय चलेको होइन’ चोखालले भने, ‘होटल चल्नका लािग पर्यटकीय क्षेत्र खुला हुनुपर्छ, सार्वजनिक यातायात चल्नुपर्छ ।’
बागलुङ कालिका, पञ्चकोटजस्ता पर्यटकीय क्षेत्रमा घुम्ने वातावरण बनेपछि मात्रै होटल संचालन हुन सक्ने उनले बताए । बास बस्ने गरी आउने पर्यटक वा ग्रामीण क्षेत्रबाट आउने मानिसले मात्रै होटल चल्न सक्ने उनले बताए । निशेधाज्ञा कडा रुपमा पालना गर्न सकेमा आगामी असोजदेखि पर्यटकीय क्षेत्रको सिजनमा होटल चलाउन सकिने सुझाव दिन्छन् ।
गत चैत ११ गतेदेखि देशभर लकडाउन भएपछि होटलमा यो समस्या निरन्तर छ । असार लागेपछि खुकुलो भएको लकडाउनले पनि होटल व्यवसायमा कुनै परक नपरेको उनले बताए । भदौ लागेपछि जिल्लामा निशेधाज्ञा लागू भएको छ । बजारमा बढेको भीड थेग्न समस्या परेपनि होटलमा भने पर्यटकहरु आएका छैनन् ।
२०२० लाई पर्यटन वर्षको रुपमा मनाउने भएपछि होटलमा लगानी बढेको थियो । तर त्यो सबै खेर गैरहेको होटल संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारी बताउँछन् । ‘भाडा तिरेर बस्नेका लागि साह्रै समस्या छ, कतिपय साना होटल पलायन भैसके’ उनले भने, ‘घर भाडाामा छुट भएन भने धेरै ठूला होटल पनि बन्द गरेर फर्किनेछन् ।’ उनले व्यवसायीले बैंकको किस्ता र व्याज छुट माग गरिरहेको बताए ।
सदरमुकाम बागलुङ बजारसहित बुर्तिवाङ, गलकोट र राजमार्गको छेउमा लगानी गरेका समेत गरी २ सय ५० बढी होटल जिल्लामा संचालित थिए । एकैपटक ३० हजारसम्म पाहुना राख्न सक्ने क्षमता थियो । सदरमुकाममा मात्रै झण्डै ३ हजार वटा कोठामार्फत गुणस्तरीय सेवा दिन सकिने अवस्था थियो । तर अहिले सबै होटल सुनसान छन् ।
मुक्तिनाथ जाने गेटको रुपमा समेत संघले बागलुङलाई चिनाएको थियो । बागलुङ आएपछि ढोरपाटन, मुक्तिनाथ र अन्य पर्यटकीय क्षेत्रमा लगिन्थ्यो । त्यतिमात्र होइन जिल्लामा स्थापित र हालै खुलेका होमस्टेमा पनि होटल संचालकले पाहुना पठाउने गर्थे । विदेशी पर्यटकसमेत बढेको बेला संसारभर कोरोना भाइरसको संक्रमण फैलिएपछि होटलमा गरिएको लगानी डुबेको राजभण्डारी बताउँछन् ।
लकडाउन खुल्नासाथ सहजै चल्ने व्यवसाय नभएकोले सामान्य अवस्था आउने बेलासम्म बिजुली, पानीको छुट दिनुपर्ने व्यवसायीको माग छ । साथै उनीहरुले भाडा छुट होटलमा लागू हुनुपर्ने चोखालले बताए । ‘व्यवसाय कर र घरभाडामा छुट भयो भने खुलेपछि फेरी कमाएर तिर्न सक्थ्यौं’ उनले भने, ‘ढोका थुनेर भाडा तिर्ने अवस्था आउनु न्यायोचित होइन ।’
होटल बन्द भएकोले धेरै मजदुर पनि वेरोजगार भएकोले राहतको व्यवस्था गर्न पनि माग गरेका छन् । पलायन भएको अबस्थामा लकडाउन खुलेपछि पनि पर्यटन वर्षसहित कुनैपनि क्रियकलाप संचालनमा कठिन हुने संघका पदाधिकारी बताउँछन् ।





