पर्वत, ७ भदौ – पर्वतमा पछिल्लो समय गरिएका पीसीआर परीक्षणहरुले जिल्लामा कोरोनाको अवस्था नियन्त्रित रहेको देखाएको छ । कोरोनाको संक्रमण समुदायमा पुगे वा नपुगेको बिषयमा पत्ता लगाउन फरक फरक ठाउँमा फरक फरक पेसा अंगाल्दै आएकोहरुको स्वाब परीक्षणको नतिजा नेगेटीभ आएपछि समुदायमा कोरोना नपुगेको पुष्टि भएको हो ।
छिमेकी जिल्ला कास्की, बागलुङमा कोरोनाको प्रभाव बढिरहेको बेलामा पनि ती जिल्लाहरूकै बिचमा पर्ने पर्वतमा भने अहिलेसम्मको अवस्थामा कोरोना नियन्त्रित तहमा रहनुले अबका लागि थप सुरक्षा सतर्कता बढाउनु पर्ने डिसिसिएमसीको योजनामा छ ।
बागलुङमा कोरोनाका कारण १ युवाको मृत्यु भएको छ । कास्कीमा २ जना र स्याङ्जामा पनि २ जनाको मृत्यु भएको छ । पर्वतसँग सिधा सवारी आवतजावत हुने कास्की जिल्ला गण्डकी प्रदेशकै हटस्पट बनेको छ । यही अवस्थाका बिचमा पनि पर्वत जिल्लामा गरिएका सावधानी र सतर्कताका कारण अहिलेसम्मको अवस्था नियन्त्रित रहेको पाइएको हो ।
जिल्लामा कोरोनाको संक्रमण समुदायमा गए नगएको पत्ता लगाउन समुदायमा पुगेर फरक फरक पेसा व्यवसायमा संलग्न रहेकाहरूको स्वाब सङ्कलन गरि परीक्षणका लागि पठाइएको थियो । जलजला गाउँपालिकाबाट पठाइएका ६८ ओटा नमुना, कुस्मा नगरपालिकामा लिइएका १ सय १७ जना र मोदी गाउँपालिकाका ५८ जनाको गरि कुल २ सय ४३ ओटा स्वाबको नतिजा नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत तथा जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) का सूचना अधिकारी प्रवीण भण्डारीले अब जिल्लावासीले सुरक्षा र सतर्कताका सबै मापदण्डहरू पालना गर्न चुक्न नहुने र जिल्ला आउजाउ गर्ने सवारीदेखि पैदल मार्गीमा पनि ख्याल गर्नुपर्ने बताए ।
‘अब हामी जिल्लावासीले सुरक्षा र सतर्कताका सबै मापदण्डहरू पालना गर्न चुक्नु हुँदैन । जिल्ला आउजाउ गर्ने सवारीदेखि पैदल मार्गीमा पनि ख्याल गर्नुपर्छ। समुदायमा नजानुले अहिलेसम्म हामी सुरक्षित छौँ ।’ उनले भने, ‘जलजला गाउँपालिकाका प्रमुख सहित कुस्मा नगरपालिकाका जनप्रतिनिधि, मोदी गाउँपालिकाका जनप्रतिनिधि सहित धेरै धेरैको स्वाबको नतिजा नेगेटीभ आयो । यसले जिल्लामाबासीमा खुसीयाली छ छाएको छ, तर अब यसलाई यही गतिमा राख्न चुनौतीपूर्ण छ ।’
कुल १ सय ५ जनामा संक्रमण रहेको पर्वतमा १ सय १ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । पर्वत कोरोना अस्पताल (अस्थायी) मा अब ४ जनाको मात्र उपचार चलिरहेको छ । पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार बाँकी रहेका ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । जिल्लामा कोरोनाको अवस्था सामान्य र नियन्त्रित रहेको भनी कसैले पनि सुरक्षा र सतर्कताका मापदण्ड उल्लघंन गर्ने हो भने अवस्था एकाएक धान्नै नसक्ने स्वरूपमा जान सक्ने खतरा भने उच्च रहेको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरीटेन्टेन्ट डा. शिशिर देवकोटाले बताए ।





