बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

धौवादी फलामको १५ प्रतिशत सेयर दावी गर्दै गण्डकी सरकार

धौवादी फलामको १५ प्रतिशत सेयर दावी गर्दै गण्डकी सरकार

मुख्यमन्त्री गुरुङ प्रदेशलाई आर्थिक रुपले समृद्ध बनाउन विभिन्न परियोजनामा लगानी गर्ने ‘मुड’मा छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७७, आइतबार
????????????????????????????????????

पोखरा, ७ भदौ – गएको पुस १४ गते बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले नवलपुरको धौवादी फलाम कम्पनीमा १२ करोड लगानी गर्ने निर्णय ग¥यो । संघीय सरकारले राखेको ३ प्रतिशत लगानी प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गर्दै त्यहाँ प्रदेश सरकार ६० करोड लगानी गर्न इच्छुक रहेको पनि बताइयो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमै प्रदेशले १५ प्रतिशत लगानी गर्न पाउनुपर्ने माग गरे । मन्त्रिपरिषदले ६० करोड लगानी प्रस्ताव गर्नुको पछाडिको कारण पनि त्यही थियो ।
‘हामीले १२ करोड पठाइसक्यौं,हाम्रो मन्त्रिपरिषदले निर्णय गरेर १५ प्रतिशत देऊ भनेर संघमा पठाएको हो’, उनले भने,‘हामी बाँकी ४८ करोड पठाउन तयार नै छौं ।’ उनले ४५ प्रतिशत निजी क्षेत्रले र ५५ प्रतिशत सरकारी लगानी सरकारी निकायले गर्ने निर्णय भए पनि स्थानीय तहको भागमा परेको २ प्रतिशत लगानी गर्न स्थानीय निकाय तत्काल सक्षम नभएको तर्क गरे । उनले १५ प्रतिशत लगानीको लागि प्रदेश सरकारले पुनः पहल गर्ने जानकारी पनि दिए ।
त्यसो त गण्डकीका मुख्यमन्त्री गुरुङ प्रदेशलाई आर्थिक रुपले समृद्ध बनाउन विभिन्न परियोजनामा लगानी गर्ने ‘मुड’मा छन् । सार्वजनिक निजी साझेदारी, संघ र प्रदेश सरकार अनि स्थानीय सरकारको साझेदारी एवं अन्तर्राष्ट्रिय लगानीकर्तासँग संयुक्त लगानीको मोडालिटी नबन्दा प्रदेश सरकारको योजनाले सार्थकता पाएको छैन । जलविद्युतमा निजी क्षेत्रसँग लगानी गर्ने योजना पनि कागजमै सीमित छ । चिनियाँ लगानीमा गाई फार्म स्थापना गर्ने परियोजनाले पनि सार्थकता नपाउँदा आफ्नै प्रदेशमा भएको प्राकृतिक स्रोतमा प्रदेशले हिस्सा खोज्नु अस्वभाविक पनि हैन ।
निर्णय कार्यान्वयनको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा भने,‘संघीय सरकार, प्रदेश सरकार, सम्बन्धित स्थानीय तह र निजी क्षेत्रसँगको सहभागितामा संचालन हुने धौवादी फलाम कम्पनीको लागि प्रदेश सरकारको तर्फबाट लगानी गर्न आवश्यक रकम विनियोजन गरेको छु ।’ उनले बजेट वक्तव्यमै थपेका पनि थिए,‘प्रदेशभित्र रहेका विभिन्न खानी तथा खनिज पदार्थको सम्भाव्यता अध्यनन गरि खानी तथा खनिज पदार्थ उत्खनन र संचालनको निम्ति संघीय सरकारसँग आवश्यक समन्वय गर्ने व्यवस्था मिलाएको छु ।’
संघीय सरकारले धौवादी फलाम खानी संचालनको लागि २ अर्ब ५० करोड रुपैयाँ पुँजीसहितको धौवादी फलाम कम्पनी खडा गरेको थियो ।कम्पनीमा केन्द्र सरकारका बिभिन्न मन्त्रालय र निकायहरुको ५० प्रतिशत,गण्डकी प्रदेश सरकारको ३ प्रतिशत र स्थानीय तहको २ प्रतिशत तथा निजी क्षेत्रको ४५ प्रतिशत लगानी रहने व्यवस्था गरिएको थियो ।
कम्पनीमा हालसम्म केन्द्र सरकार र मन्त्रालयको २ अर्ब २० करोड निजी क्षेत्रका बिभिन्न घरानाहरुले १८ करोड र प्रदेश सरकारको १२ करोड लगानी भइसकेको छ । हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी फलाम खानीमा १० किलोमिटर लम्बाई र ३० देखि ३५ मिटर चौडाई क्षेत्रमा खानी फैलिएको प्रारम्भिक अध्ययनहरुले देखाएका छन् । खानी तथा भूगर्भ विभागले ५ टन कच्चा पदार्थ चीनमा पठाएर गरेको प्राविधिक परीक्षणको अन्तिम नजिता सकारात्मक आइसकेको छ । चीनको छेन्दूमा रहेको सिचुवान इन्ष्टिच्युट अफ मेटालजिकल जिओलोजी एण्ड एक्स्प्लोरेसन धौवादीमा औद्योगिक रूपमा फलामको उत्खनन् गर्न सकिने जानकारी दिइसकेको छ । परम्परागत रुपमा नेपालका विभिन्न ठाउँमा फलाम खानी संचालनमा रहे पनि व्यावसायिक रुपमा भने धौवादी नै नेपालको पहिलो फलाम खानी बन्ने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->