बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्यटक आगमनमा ३४ प्रतिशतले ह्रास

पर्यटक आगमनमा ३४ प्रतिशतले ह्रास


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७७, आइतबार

म्याग्दी, ७ भदौ– गत आर्थिक वर्ष २०७६/७७ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ३४ प्रतिशतले घटेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण गत आवको पछिल्लो चार महिना पर्यटक आगमन शून्य रहेको छ । स्वदेशी र विदेशी दुवै किसिमका पर्यटक आगमनसँगै पर्यटन र होटल ब्यवसाय ठप्प भएको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार, ७६ साउनदेखि २०७७ असारसम्म म्याग्दी घुम्ने पर्यटकको संख्या ५० हजार थियो । प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन ३४ प्रतिशतले घटेको बताए । ‘आव २०७४÷७५ र २०७५/७६ मा ७५ हजारको हाराहारीमा पर्यटक आएका थिए’, उनले भने ‘गएको वर्ष फागुनसम्म मात्र पर्यटक आएको देखिन्छ । त्यसपछि शून्य छ ।’
आव २०७५/७६ मा ७५ हजार १९१, २०७४÷७५ मा ७४ हजार ७३३, २०७३/७४ मा ६९ हजार ८३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ४३ हजार ६३२ जना थियो । गतवर्ष म्याग्दी भित्रने पर्यटक ३० हजार र बाहिरिने २० हजार जना छन् । बन्दाबन्दी र अन्तरराष्ट्रिय उडान तथा नाका बन्द भएकाले चैत, वैशाख, जेठ र असार महिनामा पर्यटक संख्या शून्य छ ।
गत कात्तिकमा सबैभन्दा बढी १३ हजार ११९ र असोजमा १० हजार ३७ जना पर्यटक आएका छन् । घोरेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले जिल्ला भित्रिने र बाहिरीने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।
म्याग्दीमा आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा घोरेपानी, पुनहिल क्षेत्र पर्छ । धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रा, अन्नपूर्ण धौलागिरी, धौलागिरी सेञ्चुरी, धौलागिरी चक्रिय, धौलागिरी आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलहरुको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।
छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अस्टे«लिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउँछन् । बेनी, तातोपानी, घोरेपानीलगायत स्थलमा पर्यटकलाई लक्षित गरेर दुई सय बढी सुबिधा सम्पन्न होटल तथा लज छन् ।
कोरोनाले पर्यटन क्षेत्रलाई तहसनहस बनाएको भुरुङ्ग तातोपानीका होटल ब्यवसायी अमृतमान शेरचनले बताए । ‘होटल र पर्यटन मजदुरको रोजगारी गुमेको छ । व्यवसायीले बैंकको ऋण तिर्न समस्या भएको छ । कृषकले उत्पादन गरेका वस्तु बेच्न पाएका छैनन्,’ उनले भने– ‘धेरै क्षेत्रसँग जोडिएकाले होटल तथा पर्यटन ठप्प हुँदा मानिसको आर्थिक र जनजीवनमा समेत प्रभाव पारेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->