सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ठूलो हिलेमा पहिचानसहितको होमस्टे

ठूलो हिलेमा पहिचानसहितको होमस्टे

कोरोना कहरले गाउँमा पर्यटक भित्राएर समृद्धि ल्याउने योजना बुनेका स्थानीय पनि अहिले निराश छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७७, आइतबार

बागलुङ, ७ भदौ– अर्गानिक खाना, लोकसंस्कृति र गाउँघरकै अनूभूति दिनेगरी स्थापित ताराखोला गाउँपालिकाको ठूलो हिले होमस्टे पर्यटकको पर्खाइमा छ ।
पर्यटन वर्षको अवसरमा स्थापना भएकोले यो वर्ष यहाँ धेरै पर्यटक लैजाने तयारी थियो । कोरोना संक्रमणको समस्याले ती योजना पुरा हुन पाएनन् । गाउँमा पर्यटक भित्राएर समृद्धि ल्याउने योजना बुनेका स्थानीय पनि अहिले निराश छन् ।
ताराखोलाको सबैभन्दा उच्च स्थानमा रहेको ठूलोहिले हरियाली र पर्यटकीय संभावना बोकेको स्थान पनि हो । त्यसैले पर्यटकको गन्तव्यका लागि थालिएको काम अगाडि बढ्न सकेको छैन । छिटफुट रुपमा पुग्ने पर्यटकलाई पनि उनीहरुले स्वागत गर्न डराइरहेका छन् ।
आफ्नै उत्पादन, गाउँले पहिचान, स्थानीय कला र संस्कृतिको अनुभूति दिनका लागि गतवर्ष मात्र यहाँका आधादर्जन घरमा होमस्टे बनाइएको थियो । होमस्टेमा सूचिकृत भएपछि स्थानीयले कलात्मक ढंगले घर बनाउन थालेका छन् । पाहुना कोठा बनाएर अर्गानिक खानाको मेनु पनि बनाउन थालेका थिए । ‘मकै, भटमास, कोदोका परिकार, माछा, लोकल कुखुरा, च्याउ, भाँगोजस्ता परिकार हामीले खुवाउने भनेका छौं’ स्थानीय दमन रोकाले भने, ‘कोरोनाले अभियानले पूर्णता पाउन सकेको छैन ।’ संक्रमण कमी भएपछि होमस्टेलाई पूर्णता दिएर संचालनमा ल्याउने उनले बताए ।
गाउँपालिकाले पनि यो होमस्टेलाई पर्यटकको रोजाइमा पार्नका लागि पहल गरेको अध्यक्ष प्रकाश घर्तीले बताए । पाहुनालाई स्थानीय तहमा उत्पादन हुने जडिबुटी र तरकारी खुवाउन पनि ठूलोहिले सफल हुने घर्तीको भनाई छ । ‘चिसो मौषम र उच्च पहाडी क्षेत्र भएकोले यहाँ पाईने रातो च्याउ र चनचने साग पहिचान बन्न सक्छन्’ घर्तीले भने, ‘धेरैले मन पराएपछि यो छुट्टै ब्राण्ड पनि बन्न सक्छ ।’ स्थानीयले मात्रै महशुश गरेको स्वाद अब पर्यटकले पनि पाउने उनले बताए ।
ठूलो हिले नजिकै डुडेलेक हातेकागज उद्योग पनि छ । कागजले बनाउने हस्तकलाका सामग्रीलाई पर्यटकको रोजाइमा पार्न सकेमा आयआर्जनको क्षेत्रसमेत फराकिलो हुने स्थानीय पौवी रोका सिंजालीले बताइन् । ‘गाउँका मानिसले खाएकै खाना खाने, परिवारका सदस्यझै बस्ने गरी होमस्टे बनाएका हौं’ उनले भनिन्, ‘स्थानीयको गीत संगीत र लोकसंस्कृति पनि प्रद्र्धशनको तयारी गरेका छौं ।’ स्थानीयले खुवाउने खाना र प्रयोग गर्ने सामग्रीको व्यसायका लागि पाहुनाले प्रचार पनि गर्ने घर्तीले बताए ।
स्थानीय ढुंगा, कागज, भाँगो, आलुसहितका स्थानीय उत्पादनले ताराखोला गाउँपालिका आत्मनिर्भरको तयारीमा छ । अर्गानिक खानाकै लागि यहाँको किकल्टा होमस्टे पनि संचालनमा छ । गाउँपालिकाले गुल्मीको भीरकोट र तनहुँको बन्दीपुर गाउँपालिकासँग मितेरी सम्बन्ध बनाएको छ । यो सम्बन्धका कारण पनि पर्यटक बढ्ने अपेक्षा राखिएको हो । ताराखोलामै ट्राउट माछा फर्मसमेत संचालनमा छ । माछाका लागि अहिले पनि बागलुङ र अन्य क्षेत्रबाट पाहुना जाने क्रम छ । लकडाउनको समयमा पनि फर्मको उत्पादन बिक्री भैरहेको छ ।
ताराखोला पुग्नका लागि गाउँपालिकाले पक्की संरचना निर्माण पनि गरिरहेको छ । रिजालचोकदेखि ताराखोला र गलकोटदेखि समेत गरी दुई सडकमार्ग स्तरोन्नतीको काम भैरहेको हो । दुवै सडकले पूर्णता पाएपछि पर्यटक बढ्ने उनले बताए । ठूलोहिलेमा गाउँपालिकाले लगानी गरेर रंगाशालाजस्तै खेल मैदान पनि निर्माण गरेको छ । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा २० लाख रुपैयाँमा निर्मित मैदानमा मेला महोत्सव र खेलकुद गतिविधि संचालन गर्न सकिने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्रबहादुर श्रीषले बताए ।
होमस्टेमा २० जना राख्न सकिन्छ । गाउँपालिकाले तयारी गरेका सबै होमस्टे संचालन गर्दा दैनिक १ सयबढी पाहुना राख्न सकिन्छ । स्थानीय साना होटलले पनि त्यत्तिकै संख्यामा पाहुना राख्न सक्छन् । स्थानीय उत्पादनलाई परिकारको रुपमा खाने व्यवस्थापन गर्न सकेमा बेसाहाको रुपमा ल्याएको खाना खानु नपर्ने गाउँपालिका उपाध्यक्ष दिलमाया पुनले बताइन् ।
बागलुङकै अग्लो पहाड घुम्टे र घुम्टे जत्तिकै अग्लो डुडेलेक जान पनि यो क्षेत्रबाट सहज र नजिक हुने स्थानीयले बताए । ताराखोलाबासीले घुम्टेभन्दा डुडेलेक अग्लो भएको दाबीसमेत गर्दै आएका छन् । ताराखोला गाउँपालिकाले यो लेकहुँदै तमानखोला गाउँपालिकासम्म पुग्ने पदमार्ग बनाउने योजना पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->