सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भदौभित्र बुर्तिवाङले पुरा गर्दैछ, ‘बिजुली सपना’

भदौभित्र बुर्तिवाङले पुरा गर्दैछ, ‘बिजुली सपना’

औपचारिक थालनी मात्रै गर्न सकिने गरी सबै काम सम्पन्न भैसकेको बागलुङ बितरण केन्द्रका प्रमुख गोशालीले बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७७, सोमबार

बागलुङ, ८ भदौ– सदरकामपछिको दोश्रो ठूलो सहर बुर्तिवाङमा केन्द्रिय बिजुली छैन । स्थानीय रुपमा उत्पादित लघुविद्युतबाट घर–घरमा बिजुली बालेपनि धेरै खपत हुने व्यवसाय, उद्योग र कारखाना चलाउन सकिने अवस्था थिएन । तर अब यो धेरै दिन रहने छैन । भदौ मसान्तभित्रै बुर्तिवाङबासीले राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न पाउने भएका छन् ।
नेपाल विद्युत प्राधिकरणको बागलुङ वितरण केन्द्रले बुर्तिवाङ लक्षित काम अन्तिम चरणमा पु¥याएको छ । अब बुर्तिवाङ बजारमा प्रसारणको औपचारिक थालनी मात्रै गर्न सकिने गरी सबै काम सम्पन्न भैसकेको प्राधिकरणको बागलुङ बितरण केन्द्रका प्रमुख शिवनारायण गोशालीले बताए । त्यसका लागि बुर्तिवाङ बजारबासीले घर–घरमा वायरिङ पनि गरिसकेका छन् ।
यसअघिको लघुविद्युत बालेकोले कतिपय घरमा त्यसकै संरचनासमेत थियो । गत बैशाख १ गते बाल्ने योजनाका साथ केन्द्रले काम गरेको थियो । चैत महिनामा लकडाउन सुरु भएकोले काम रोकिएको थियो । ‘लकडाउनले रोकिएको काम सम्पन्न भएको छ, अब बुर्तिवाङका जनताले राज्यको बिजुली बाल्न पाउने छन्’ गोशालीले भने, ‘वर्षात्को कारण ठाउँ–ठाउँमा विद्युत पोल ढलेका थिए, मर्मत र नयाँ स्थापना गरेपछि अन्तिम चरणमा पुगेको हो ।’ भदौभित्रै बुर्तिवाङ बजारमा र दशै तिहारको अबसरमा बडिगाड गाउँपालिकामा पनि विद्युत बाल्ने योजना उनले सुनाए ।
प्राधिकरणले हरिचौरमा रहेको सव–स्टेशनको क्षमता विस्तार गर्ने कामसमेत गरेको छ । हालसम्म हरिचौरमा रहेको सव–स्टेशनमा ११ केभिएको प्रसारण लाइन थियो । ‘उक्त लाइनबाट सोझै बुर्तिवाङ लैजाँदा विद्युतको क्षमता पुग्दैनथ्यो’ त्यसैले हरिचौरसम्म ३३ केभिए प्रसारण लाइन विस्तार गरियो, त्यसपछि मात्रै यो संभव भयो ।’ हरिचौरस्थित सव–स्टेशनको ट्रान्सफर्मर पनि परिवर्तन गरिने उनले बताए ।
सदरमुकामदेखि सोझै लैजाँदा बुर्तिवाङमा १ सय किमी लामो प्रसारण लाइन चाहिन्थ्यो । लामो दुरी भएपछि पावर कम हुने भएकोले हरिचौरबाट लगिएको उनले जानकारी दिए । त्यसबाहेक केन्द्रले आगामी दिनमा बडिगाड गाउँपालिकाको खरवाङमा पनि सव–स्टेशन स्थापनाको योजना राखेको छ ।
पश्चिम बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा पनि राष्ट्रिय प्रसारण लाइन छैन । निसीखोलाको अन्तिम बिन्दुसम्म लैजाँदा झनै लामो दुरी पर्ने भएकोले बडिगाडमा पनि सव–स्टेशन चाहिने उनले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणले भने बुर्तिवाङमै अर्को सव–स्टेशन राख्ने योजना बनाएको छ । उक्त सव–स्टेशन भने बनिसक्न लामो समय लाग्ने छ । पहिलो चरणमा बुर्तिवाङ बजारका १ हजार ३ सय घरमा बिजुली बालिने गोशालीले जानकारी दिए । त्यसपछि अन्य क्षेत्रमा पनि क्रमशः बिजुली विस्तार गरिने छ । हरिचौरस्थित सव–स्टेशनको ट्रान्समिटर बंगलादेशमा रोकिएको छ । लकडाउनका कारण ल्याउन नसकेको ट्रान्समिटर आइपुगेपछि क्षमता बढ्ने उनले जानकारी दिए ।
गोशालीले पटक पटक बिजुली आउने जाने समस्या पनि समाधान गर्ने बताएका छन् । त्यसका लागि ३३ हजार केभिए प्रसारण क्षमताको लाइन हरिचौरसम्म पुगेको हो । उक्त लाइनले धेरै समस्या समाधान गर्ने उनको कथन छ । हाइटेन्सन लाइनमा आउने समस्या हटाउन रामरेखास्थित सबस्टेशन र हरिचौरमा स्विच राखेर लाइन गैरहने समस्या हटाउन लागिएको हो ।
बुर्तिवाङ बजार र आसपासमा बालिएका लघुबिद्युतलाई पनि राष्ट्रिय प्रसारणमा जोड्ने योजना उनले सुनाए । त्यसका लािग केही विशेष प्रविधिहरु आवस्यक पर्छ । उपभोक्ताले बनाएका ती संरचना नियमित संरक्षणका लागि ‘नेट मिटरिङ प्रणाली’ जडान गर्नुपर्छ । उक्त प्रणालीका लागि स्थानीयले आवेदन दिएको खण्डमा प्राधिकरणले जडान गर्नेछ । उक्त प्रविधिले लघुबिद्युतको पावर राष्ट्रिय प्रसारणमा जोड्ने छ ।
साथै, लघुविद्युतको कति क्षमता राष्ट्रियमा गयो, कति क्षमता राष्ट्रिय प्रसारणको स्थानीयमा खपत भयो त्यसले देखाउने छ । सुख्खा मौषम र धेरै विद्युत माग भएको बेला स्थानीयले राष्ट्रिय प्रसारणको पावर पाउने छन् । सामान्य बत्ती मात्रै बाल्दा आफ्नै लघुविद्युत उपयोग हुनेछ । त्यसले उपभोक्ताले फाइदा पनि पाउने, पुराना संचरना संरक्षण पनि हुने योजना केन्द्रले ल्याएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->