
स्याङ्जा, ८ भदौ– फेदीखोला गाउँपालिकाले मकैको बिउ उत्पादन गर्ने किसानलाई १५ प्रतिशत अनुदान दिने भएको छ । मकैको बिउ उत्पादन गरेर गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदानमा वृद्धि गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले किसानको आत्मबल नबढाएसम्म कृषि क्षेत्रमा प्रगति गर्न नसकिने भएकोले गाउँपालिकाले कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । अध्यक्ष सुवेदीले भने, ‘हामी आत्मनिर्भरताको कुरा गर्छौ, त्यसको लागि आफ्नै उत्पादन गरेर रोजगारी सिर्जना गर्नुपर्छ भन्ने योजनाका साथ कृषिको क्षेत्रमा लगानी गरिरहेका छौ ।’
आर्थिक वर्ष २०७५÷०७६ देखि मकैको बिउ उत्पादन पकेटक्षेत्रमार्फत मकै खेती गर्दै आएका गाउँपालिकाको वडा नम्बर ४ आरुखर्क जसैडाँडामा २ सय ३० रोपनी क्षेत्रफलमा कृषकले बिउ मकैको खेती गर्दै आएका छन् । गत वर्षभन्दा यसवर्ष बिउ मकै ४० प्रतिशतले बृद्धि हुने गाउँपालिकाका कृषि प्राविधिक शिशिर पण्डितले बताए । अघिल्लो वर्ष बिउ मकै उत्पादन क्षेत्रमा १६ मेट्रिक टन उत्पादन भएकोमा यसवर्ष ४० प्रतिशत उत्पादनमा बृद्धि हुने अनुमान गरिएको पण्डितको भनाई छ ।
जैसीडाँडा कृषक समुहमा आवद्ध ४० घरधुरीका कृषकहरु मकैको बिउ उत्पादनमा लागेको समुहकी अध्यक्ष कल्पना पौडेल बताइन् । समुहकी अध्यक्ष पौडेलले मनकामना जातको मकैको बिउ उत्पादन गर्दै आएको मकै भण्डारणका लागि गाउँपपालिकाले व्यवस्था गरेको पौडेलले जानकारी दिइन् ।
गतवर्ष ३० लाखको बिउ मकै उत्पादन भएकोमा यसवर्ष समयमै वर्षात्, आवश्यक गोडमेलसमेत राम्रो भएकोले उत्पादनमा वृद्धि अनुमान गरिएको छ । उत्पादित मकैको बिउ स्याङजासंगै गुल्मी, पाल्पा, पर्वत, कास्की, तनहुँलगायतका जिल्लामा गाउँपालिकाले कृषि ज्ञान केन्द्रसंग समन्वय गरेर प्रतिकेजी ६५ रुपैयाँमा विक्री गर्दै आएको मकै उत्पादक कृषक समुहकी अध्यक्ष कल्पना पौडेलले बताइन् ।





