म्याग्दी, ८ भदौ– गत साउन ५ गतेको भीषण वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकको बेनी–जोमसोम खण्ड सोमबारदेखि संचालनमा आएको छ ।
राष्टिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकखण्डको ७६ किमी बेनी–जोमसोम खण्डको विभिन्न स्थानमा मर्मत गरिएपछि अवरुद्ध भएको ३५ औं दिनमा एकतर्फी यातायात संचालन हुनेगरी सडक संचालनमा आएको हो ।
सडकखण्डको सबैभन्दा जोखिमपूर्ण मानिएको दाना काभ्रेभीर खण्डमा विष्फोटक पदार्थ प्रयोग गरी पहरो फुटाएर सडक मर्मत गरेपछि एकतर्फी रुपमा यातायातका साधनहरु संचालन हुन सक्ने भएको बेनी–जोमसोम–कोरला सडकखण्डमा काम गरिरहेकोे शर्मा गजुरमुखी कम्पनीका सुपरभाईजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।
उनका अनुसार, निर्माण कम्पनी, संघ तथा प्रदेश सांसद, प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिको सामूहिक पहलमा सोमबारदेखि बेनी—जोमसोमको सिधा ट्रयाक खुला भएको हो । साउन ५ गतेको वर्षाले सडकको दर्जनौं स्थानमा बाढीरपहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो ।
सडक संचालनमा आएपछि मुस्ताङ र उत्तरी म्याग्दीका वासिन्दाहरु खुसी भएका छन् । उत्तरी म्याग्दी र मुस्ताङ पुग्नका लागि सडक मार्गको निर्विकल्प मानिएको यो सडक अवरुद्ध हुँदा उत्तरी म्याग्दी र मुस्ताङमा खाद्यान्न ढुवानीका साथै आवत जावतमा समेत समस्या उत्पन्न भएको थियो ।





