स्याङ्जा, ९ भदौ– गल्याङ नगरपालिकाले दूध उत्पादन गर्दै आएका किसानलाई ४७ लाख बढि रकम अनुदान वितरण गरेको छ ।
नगरक्षेत्रका गाई भैंसीपालन गरेर व्यावसायीक रुपमा दूध उत्पादन गर्दै आएका किसानलाई प्रतिलिटर १५ रुपैयाँका दरले गत आर्थिक वर्षमा ४७ लाख १२ हजार २ सय ७७ रुपैयाँ अनुदान स्वरुप वितरण गरेको हो ।
किसानलाई कृषि पेशामा प्रेरणा दिँदै नगरलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान वितरण गरिएको नगरपालिकाका प्रमुख भुपराज अधिकारीले बताए । कृषि पेशाबाट युवापुस्तालाई राम्रो आम्दानी लिन सकिन्छ भन्ने सन्देश दिन अनुदान कार्यक्रमलाई प्राथमिकता दिएको नगरप्रमुख अधिकारीले बताए ।
किसानलाई तीन किस्तामा अनुदान रकम वितरण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार, पहिलो किस्ताअन्र्तगत किसानले १४ लाख ५९ हजार १ सय ४० रुपैयाँ लगेका छन् भने दोस्रो किस्ताअन्तर्गत किसानले २२ लाख ८७ हजार ५ सय ८४ रुपैयाँ बुझेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउनको घोषणा गरेसंगै किसानले उत्पादन गरेको दूध विक्रीमा कमी आएकोले तेस्रो किस्तामा किसानले ९ लाख ६५ हजार पाँच सय ५३ रुपैयाँ लगेका छन् । दूग्ध संकलन केन्द्र, सहकारी तथा फर्म सञ्चालन गरी ६ सय ७६ जना किसानले अनुदान रकम प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।
अधिकृत पाण्डेले दूध उत्पादक किसानलाई प्रतिलिटर १५ रुपैयाँ अनुदानले दूध उत्पादनमा लाग्न उत्साहित बनाउनुका साथै वास्तविक किसानसामु अनुदान पुगेको दाबी गर्छन् ।
नगरपालिकाका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले दूध उत्पादनमा किसानको रुची बढ्दै गएको र अनुदान कार्यक्रमले व्यावसायिक किसान उत्पादन गर्न ठुलो सहयोग पुगेको बताए । २४ सै घण्टा किसानको सम्पर्कमा रहेर काम गरिरहेको अर्यालको भनाई छ ।
नगरपालिकाको साथ पाएपछि पशुलापान व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ भने गल्याङलाई दुधमा आत्मनिर्भर बनाउन नगरपालिकाले नगरलाई ‘सेतो नगर’का रुपमा चिनाउने अभियानसमेत संञ्चालन गर्दै आएको छ ।





