संसदीय व्यवस्थाअनुसार सानो दल, तर ठूलो आवाज भएका नेता हुन्– चित्रबहादुर केसी । बाग्लुङको गलकोट नगरपालिका–७, मल्ममा विक्रम संवत् १९९७ साल माघ २० गते जन्मिएका केसी नेपालको कम्युनिस्ट आन्दोलनका अग्रपंक्तिका रूपमा परिचित छन् । राष्ट्रिय जनमोर्चाका संस्थापक अध्यक्ष केसी अहिलेसम्म सोही ठाउँमा छन् ।
केसीको राजनीतिक जीवन २०१४ सालबाट सुरु भएको हो । गलकोटमा माध्यमिक तहको पढाइ सकेर त्योबेलाको म्याट्रिक पढ्न नन्दीकेशरी रात्रि पाठशाला काठमाडांै पुगेका केसी प्युठानका सिद्धिमान जिसीसँग भेट भए । नेपालमा कम्युनिस्ट राजनीतिको विषयमा उनैसँग जानकारी लिएर कम्युनिस्ट आन्दोलनको सुरुवात गरे । त्यसबेला नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन भएको थियो । महाधिवेशनले गणतन्त्रका लागि संघर्ष गर्ने घोषणा गरेको थियो । तत्कालीन सरकारले गण्डक सम्झौता गरेको थियो भने डाल्डा घिउ नेपालमा बिक्री गर्न दिने सहमति भएको थियो ।
नेपाल र नेपालीका लागि गण्डक सम्झौता र डाल्डा घिउ दुवै घातक भएको भन्दै जनताको पक्षमा संघर्ष गर्न केसीले त्यहीँबाट सुरु गरेका हुन् । उनी त्यतिवेला विद्यार्थी राजनीतिमै थिए । म्याट्रिक परीक्षा दिएर बाग्लुङ फर्किए, गलकोटको काँडेवासमा विद्यालय खोले । आफैँ शिक्षक भए, विद्यालयको नाम जनजागृति राखे, चार वर्ष पढाए, विद्यालयलाई स्थायी बनाए ।
२०१७ सालमा तत्कालीन कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाइयो । १७ जनालाई सरकारले पक्राउ पुर्जी काट्यो, त्यसमा केसी पनि परे । तत्कालीन सत्ता राजा महेन्द्रले ढलाए । त्यसपछि उनी काठमाडांै पुगेर त्रिचन्द्रमा आइए पढ्न भर्ना भए । एक वर्ष पढेर फेरि बाग्लुङ आए । हाजिर मिलाएर परीक्षा दिए आइए पास गरे । आइए पास भएपछि बाग्लुङको हरिचौरमा रहेको भरत चैतन्य मोडल स्कुलमा चार वर्ष पढाए ।
त्यही स्कुलबाट सुरु भएको हो उनको कम्युनिस्ट अखडा बनाउने अभियान । उनले यो अभियान चलाउने बेला अहिलेका नेकपाका नेता झलनाथ खनाल पनि सँगै पढाउँथे । उनीहरूले बाग्लुङमा कम्युनिस्ट केन्द्र बनाउन धेरै पापड पेलेको इतिहास छन् । २०२१ सालमा नेपाल कम्युनिस्ट पार्टी बाग्लुङको स्थापना भयो ।
त्यसको सेक्रेटरी उनी आफैँ भए । बीचमा सत्ता र शक्तिको भरमा भइरहेका दमनविरुद्ध धेरै संघर्षमा उनले हण्डर खाएका छन् । भूमिगत जीवन बिताउनेदेखि संगठन विस्तार र संघर्षका कार्यक्रममा सहभागी भएका छन् । ०४४ सालमा अखिल नेपाल राष्ट्रिय जनमोर्चा गठन भयो । त्यसयता चित्रबहादुर निरन्तर राजमोको अध्यक्ष छन् ।
देशमा भएका परिवर्तनका खातिर भएका संघर्षहरूमा आफ्नो सहभागिता र संलग्नता रहेको केसी बताउँछन् । पञ्चायतको अन्त्य, गणतन्त्र स्थापना, राजतन्त्रको अन्त्य, असमान सन्धि र सम्झौता, सीमामा भइरहेको मिचाहा प्रवृत्तिलगायतका विषयमा केन्द्र तहसम्म स्पष्ट विचार राख्ने प्रभावशाली नेता हुन् केसी । उमेरले ८० वर्ष पुगेका केसी राष्ट्रिय हितको पक्षमा बोल्दा नौजवान देखिन्छन् ।
उनी भन्छन्– ‘देशका सबै ठूला दलका नेताहरूसँग साझा विषयमा सहकार्य गर्दा म कहिल्यै तल परिनँ, हामीले उठाएका एजेन्डा सबै राष्ट्रिय एजेन्डा बन्ने गरेका छन् ।’ पछिल्लोपटक उनले उठाएको संघीयताविरुद्धको आवाजले धेरैको ध्यान खिच्यो ।
नागरिकता विधेयक, एमसिसीजस्ता विषयमा पनि केसी राजमोको विचार बोल्ने प्रस्ट वक्ता हुन् । उनले सग्लो राजनीतिक जीवनमा धेरै अवसर गुमाएर केही लाभका पद लिएका छन् । तर, आफ्नो कार्यकाल निष्कलंक रहेको उनी दाबी गर्छन् ।
सानो पार्टी भए पनि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पालामा ०६३ सालमा केसी सार्वजनिक लेखा समितिको सभापति बने । दश महिना काम गरेका केसीले दोस्रोपटक प्रस्ताव आउँदा पनि त्यो पद नलिने घोषणा गरे । त्यसपछि ०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा केसी उपप्रधान तथा सहकारी मन्त्री बने ।
नौमहिने कार्यकालबाहेक उनले राजनीतिक जीवनमा सरकारको स्वाद चाखेका छैनन् । अहिले संघीय संसद्मा एकजना मात्रै सांसद रहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी राष्ट्रियता र जनजीविकाका पक्षमा सधैँ संघर्षमा रहने बताउँछन् । गण्डकी प्रदेशका अगुवा राष्ट्रिय रूपमा रहेका केसी संघीयताविरोधी मोर्चामा राष्ट्रका एक मात्रै अगुवा व्यक्ति हुन् ।
प्रस्तुति : तारानाथ आचार्य





