हरेक बसमा दुइ जनासम्म चालक र एक/एक जना सहचालकसमेत गर्दा ९ सय जना वेरोजगार भएको कम्पनीका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले बताए ।
बागलुङ, १० भदौ– सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बागलुङका दुई हजार मजदुर वेरोजगार भएका छन् । उनीहरुबाट आश्रित १९ हजारबढी मानिस अहिले आर्थिक अवस्था कमजोर भएर समस्यामा छन् ।
तत्कालिन धौलागिरी अञ्चलभित्रका बस र जिप व्यवसायी कम्पनीमा आबद्ध भएका मजदुर अहिले वैकल्पिक पेशाको खोजीमा छन् । तत्काल सार्वजनिक यातायात नचलेमा उनीहरुको परिवारमा भोकमरी लाग्नेसमेत व्यवसायीले बताए ।
धौलागिरी गण्डकी यातायात कम्पनीमा सूचिकृत भएका बस र माइक्रो बसमा काम गर्ने सबैभन्दा बढी मजदुर वेरोजगार भएका हुन् । उनीहरुको सवारी काठमाण्डौ, पोखरा, नारायणगढ, सुनौली र कांकडभिट्टासम्म संचालन थिए । उक्त कम्पनीमा मात्रै ३ सय बस दर्ता छन् । हरेक बसमा दुइ जनासम्म चालक र एक÷एक जना सहचालकसमेत गर्दा ९ सय जना वेरोजगार भएको कम्पनीका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले बताए ।
लामो दुरीको यात्रा गराउने भएकोले धेरै बसमा दुई जनासम्म चालकले काम पाएका थिए । अहिले सबैजना वेरोजगार भएको उनले बताए । वेरोजगार भएकाहरु कतिपयले गाउँमा गएर तरकारी खेती गरेर पनि बसेका छन् । तर अधिकांशको खेतीपाती गर्ने जमिनसमेत नभएको, बजारमा डेरा लिएर बसेकोले भाडा तिर्न पनि नसक्ने अवस्था आइसकेको उनले गुनासो गरे ।
‘धेरै जनाको बजारमा डेरा थियो, अहिले कमाई नभएर भाडा तिर्न सकेका छैनन्’ अधिकारीले भने, ‘दुरी कायम गरेर सार्वजनिक यातायात चलाउन ढिला गर्नु हुँदैन ।’ लामो समयदेखि थन्केका सवारी साधन मर्मत गरेर चलाउन सकेमा बैंकको ऋण तिर्न सकिने, मजदुरले रोजगारी पनि पाउने उनले बताए ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले लकडाउन र निशेधाज्ञा लगाए पनि संक्रमण निजी सवारीमा कोचाकोच यात्रा गर्नेबाट सरेको व्यवसायीले टिप्पणी गरे । ‘सार्वजनिक यातायात खुलाएर दुरी कायम गरेको भए राजधानीमा पनि यतिको समस्या पर्ने थिएन’ उनले भने, ‘अझै पनि सार्वजनिक यातायातबारे चासो नराखे धेरै मजदुर भोकभोकै पर्नेछन् ।’
चैत ११ गतेदेखि बसपार्क, ग्यारेज र सडकका थन्केका सवारीमा भने खिया लागेको छ । घामपानीले टायर कुहिएकोले फेरेर मात्रै निकाल्न सकिने उनले बताए । यो कम्पनीमा मात्रै २ अर्ब लगानी छ ।
बागलुङका बुर्तिवाङ यातायाता सेवा कम्पनी, बागलुङ भगवती कम्पनी र धौलागिरी जिप कम्पनीसमेतमा गरी झण्डै ६ सयबढी सवारी साधन सार्वजनिक यातायातको रुपमा चल्दै आएका छन् । ती सबै सवारी साधन अलपत्रै परेकोले मजदुर वेरोजगार भएका हुन् ।
‘धेरै मजदुरलाई राहत विरतण गरियो, जिपका चालकहरु भोकभोकै थिए, कसैले राहत बाँडेनन्’ गण्डकी धौलागिरी जिप कम्पनीका अध्यक्ष बिष्णुप्रसाद अधिकारीले भने, ‘करोडौ लगानी डुबिरहेको छ, समय थप्ने वा मिनाहा गर्ने केही निर्णय भएको छैन ।’ करोडौ डुबाएका व्यवसायीले ऋण तिर्न नसक्दा देशको अर्थतन्त्र खतरामा पर्ने उनले टिप्पणी गरे । नेपालीहरुकै लगानीमा रोजगार र सेवा संचालन भएको यातायात क्षेत्र मात्र भएको उनको दाबी छ ।
गण्डकी धौलागिरी जिप कम्पनीमा २ सय ९ जिप छन् । यहाँका सबै यातायात कम्पनीमा ४ अर्ब बढी लगानी रहेको बताइएको छ । पर्वत र म्याग्दीबाट मात्रै संचालित अन्य कम्पनीको लगानी जोड्दा अझै बढी हुने व्यवासयीले बताए । बागलुङस्थित बैंकर्स एसोसिएसनका अध्यक्ष दिपक शर्माका अनुसार, बागलुङका बैंकबाट व्यवसायिक क्षेत्रमा झण्डै ८ अर्ब ऋण प्रवाह भएको छ । उक्त ऋण उठाउनका लागि पनि सार्वजनिक यातायात नियमित चल्नुपर्ने अधिकारीले बताए ।
बागलुङ नगरपालिकाले खाद्य बैंकसमेत गठन गरेर राहत बितरण गर्दा यातायात क्षेत्रका मजदुर एक जना पनि नपरेको मजदुरले गुनासो गरे । ग्रामीण क्षेत्रमा पनि बस वा जिपको चालक र सहचालकलाई राहत दिएको नभेटेको बुर्तिवाङ यातायात कम्पनीका उपाध्यक्ष कुलबहादुर सिंजाली मगरले गुनासो गरे । अधिकांश चालकहरु अहिले खानका लागि मजदुरी गर्न थालेको उनले बताए ।





