बाग्लुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा २०१६ सालमा जन्मेका हुन्, जनवादी गायक जीवन शर्मा । तत्कालीन पञ्चायती व्यवस्थाअनुसार धुल्लुपाही गाउँ पञ्चायतका मुखिया जिम्वालका छोरा हुन् उनी । प्रशस्त सम्पत्ति, खेतीपाती र पशुचौपायाको धनी घरमा जन्मिएका शर्माले धनी बाउको छोरो र गरिब बाउको छोरो दुवै भोगे ।
पञ्चायतमा जिम्वाल बाबु चन्द्रदत्त उपाध्यायले मुद्दा मामिलामा सम्पत्ति सकेपछि ज्यालामा काम गर्ने र बेसाहा खोज्नेदेखि आफ्नै घरमा ७० मुरी धान, सोही अनुपातमा कोदो, मकै र पशुचौपायाका लागि घाँस काट्ने बारी हुँदाको अनुभव उनले आफ्नै घरमा सँगाले ।
मुद्दा मामिलाका काम सकिएपछि बन्दकी लगाएको सम्पत्ति निखने र उनले शिक्षा–दीक्षा पाउने वातावरण बन्यो । पञ्चायती व्यवस्थामा जिम्वालकै व्यवहार मन नपारेका शर्माले अध्ययनको सिलसिलामा गाउन र नाच्न सिके । विकृतिपूर्ण समाजको यथार्थ अवस्थाको चित्रण गर्न गीत गाउनुपर्छ भन्ने लाग्यो ।
उनका गीतले जहिले जनताको दुःख बोल्यो । जसको परिणाम अहिले उनी जनवादी गायकको परिचयले बाँचेका छन् । सांगीतिक यात्राको पहिलो खुड्किलो उनको बाँसुरी हो । वनजंगलमा घाँस दाउरा गर्न जाँदा होस् वा विद्यालयका कार्यक्रममा उनले बाँसुरीको धुन राम्रोसँग निकाल्थे । जनता प्रावि (अहिले मावि) पाही जीवन शर्माले बाल्यकालमा पढेको विद्यालय हो । सोही विद्यालयमा उनले गाउन र नाच्न सिके ।
जवानीका किस्सा एकातर्फ राख्ने हो भने जनता प्रावि पाहीले सिकाएको जनताको बोली बोल्ने शिक्षालाई माध्यमिक तहमा भने जनता मावि सर्कुवाले पूरा गरिदियो । उच्च शिक्षाका लागि काठमाडौं पुगे । इन्जिनियरिङ पढ्न कलेज भर्ना भएका उनले जनआन्दोलनमा होमिनुप¥यो । काठमाडांैमा वेदना परिवारसँग भेट भएका शर्माले त्यहीँ रक्तिमका गीत गाउन थाले ।
केही समय रोकिएको पढाइ त्रिचन्द्रबाट स्नातक गरे । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमए गरे । यहीबीचमा जनताका दुःखसँग जोडिएका कैयौँ गीत उनले गाए । घरानादेखि झुपडी भोगेका शर्माले सबैका मन जित्नेखालका गीत गाएका छन् । सुख–दुःखका कैयौँ किस्सा सँगालेका शर्माले रक्तिम सांस्कृतिक परिवारमा रहेर धेरै गीत गाएका छन् । उनको पहिलो गीतिएल्बम जनसांगीतिक यात्रा रक्तिम भाग–१ हो । त्यसयता २ हजार बढी गीत उनले जनताकै पक्षमा गाएका छन् ।शर्माले बाल्यकालदेखि वृद्धसम्मका लागि सदावहार गीत गाएका छन् । ‘सिमली छायामा बसी भरिया लामो सास फेरेको’देखि ‘झरनाको चिसो पानी’सम्मका गीत उनले गाएका र सबैले रुचाएका लोकप्रिय गीत हुन् ।
‘मैले गाएका गीतले ऊर्जा भरेर भएका परिवर्तन धेरै होलान् आफैँले कसरी मूल्यांकन गरुँ,’ शर्मा भन्छन्– ‘समयसँग सम्झौता होइन, संघर्ष गर, संघर्ष, भन्ने गीतले आत्महत्या गर्न कस्सिएकाहरूलाई रोकेका उदाहरण छन् ।’
सिमली छाया उनको गीतले अहिले पनि धेरैको मुटु चिरिन्छ । झरनाको चिसो पानी, भारी बोक्ने भरियालगायतका गीत बालकहरूको वास्तविक अवस्था देखेर उनले लेखेर गाएको बताउँछन् ।
लोभलालच गरेको भए शर्मा करोडपति हुन्थे । क्यासेट चल्ने जमानामा उनले चलेका ५५ एल्बम बजारमा ल्याएका थिए । तर, सबै रक्तिम परिवारमार्फत बजारमा आए । रक्तिमकै गीत बने र सन्देश बोकेर गाउँका कुनाकन्दरा गुन्जिए । शर्मा अहिले पनि संगीत साधनामै छन् । परिवर्तनका खातिर संगीत पनि गतिलो माध्यम भएको भन्दै लागेका शर्माले सांस्कृतिक क्रान्तिमार्फत परिवर्तनको सपना देखेका छन् । जन्मेको ११ दिनमा टीकानिधि नाम पाएका शर्मा, बाल्यकालमा ताराकृष्ण, जवानीमा रामकृष्ण र सांगीतिक बजारमा जीवन शर्माका नामले परिचय बनाएका व्यक्ति हुन् । जनताका भाकामा रमाउने शर्मा गण्डकीका जनवादी गायकका रूपमा अग्रपंक्तिमा रहेका परिचित कलाकार हुन् ।
प्रस्तुति : तारानाथ आचार्य





