बागलुङ, ११ भदौ– विद्यालय खुलेको भए बालबालिका बिहान–बेलुकी गृहकार्यमा व्यस्त हुन्थे । दिउँसो विद्यालय खुल्ने भएकोले त्यहीँ रमाउँथे । लकडाउन र कोरोना कहरले बालबालिका अहिले घर–घरमा छन् ।
घरमा बस्दा पढाईमा समस्या भएको छ । कतिपयले पढाई बिर्सेका छन् । तर ग्रामीण क्षेत्रका बालबालिकाले भने काम पनि सिकेका छन् । घरभित्र र बाहिरको काममा अभिभावकलाई सघाउने विषय बालबालिकाको रोजाइमा परेको छ ।
‘समयमा खाना खुवाएर विद्यालय पठाएपछि मात्रै घरको काम गर्नुपथ्र्यो, अहिले घरको काममा पनि सघाएका छन्’ ढोरपाटन नगरपालिका–९ की फुलमाया पुनले भनिन्, ‘आलु खन्ने, कोदो गोड्ने र तरकारी खोज्ने काममा पनि सघाएका छन् ।’ विद्यालय नखुल्दा पढाई भने बिग्रेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
सहरी क्षेत्रमा अनलाईन कक्षा पनि चलेको छ । तर ग्रामीण क्षेत्रमा संभव छैन । इन्टरनेटको अभावले विद्यालय चलाउन समस्या परेको ज्ञानोदय माविका प्रअ यामबहादुर कायत बताउँछन् । केही टोलमा शिक्षक पुगेर बालबालिकालाई किताब वितरण गरेपछि गृहकार्य दिने र नबुझेको बुझाउने गरी पढाई भने भएको उनले बताए । नियमित पढाईजस्तो नभएको र भीड जम्मा गर्नु पनि खतरा भएकोले टोलमा पढाउने काम पनि नगरेको उनको भनाई छ । बोबाङ, अधिकारीचौरलगायतका गाउँमा कक्षा कोठामा धेरै बालबालिका हुने भएकोले पढाई गर्न नसकेको शिक्षकहरु बताउँछन् ।
किसानले लगाएको तरकारी बारीमा भने बालबालिकाले सघाएका छन् । तरकारी टिप्ने, ओसार्ने काममा साथ पाएको ढोरपाटन नगरपालिका–५ का सोमबहादुर पुनले बताए । ‘पशु चरन, घाँस दाउराजस्ता काम पनि सिकाउन सकिएको छ’ पुनले भने, ‘लकडाउनले बालबालिका अभिभावकसँगै खेल्ने, रमाउने अबसर भने बनेको छ ।’
पढाई बिग्रेकोले सधै विद्यालय बन्द हुने पक्षमा सहमत नभएपनि बेला बेला लामो छुट्टी दिएर अभिभावकको काममा सघाउने व्यवस्था गर्नुपर्ने उनले बताए । यसरी अभिभावकको काममा सघाउने व्यवस्था गर्दा बालबालिकामा परिपक्वपन बढेको देखिएको उनले अनुभव गरेको बताए । सदरमुकाम र सहरी क्षेत्रका बालबालिका भने मोबाइल हेर्नेमा बढी अभ्यस्त भएका छन् । अभिभावकहरुले बालबालिकाको विद्यालय नखुलेकोले मोबाइलमा र टिभीमा मात्र एकोहोरो भैरहेको टिप्पणी गरेका छन् ।
देशैभरी एउटै समस्या भएकाले पढाईको मूल्यांकन पनि उनीहरुले गर्ने क्रियाकलाप, प्रयोगात्मक अभ्यासबाट समेत गरिनुपर्ने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्याय बताउँछन् । बालबालिकालाई कक्षा कोठामा पढाउने एउटा विधिबाहेक टोलमा शिक्षा दिने, अभिभावकको काम सिकाउने विधिले पनि फाइदा पुग्ने उपाध्यायको भनाई छ ।
मूल्यांकनमा नैतिक शिक्षा, मेहेनत गर्ने बानी र पढाईसमेत जोडियो भने बालबालिका सामाजिक बन्न सक्ने उनले जानकारी दिए । अंकमात्रै दिने विधिले बालबालिकाले काम र अभिभावकलाई साथ दिन बिर्सन थालेको अभिभावकहरु बताउँछन् ।





