बागलुङ, ११ भदौ– सिमेन्टले पोतेको पर्खालमा चम्किने रंग दलेर बनाईएका बजारका घरमा रहेका धारा मात्रै होईन शौचालय र स्नान कक्षसमेत चम्किएका हुन्छन् । पानीको प्रयोग हुने सबै ठाउँ सफा र सुन्दर हुनु स्वभाविक हिसाबले घरको सौन्दर्यता र स्वच्छता बढाउने प्रतिक नै हो ।
समयको मागअनुसार बनाईएका घरहरुमा सुविधा सोही अनुसारको हुनु नौलो कुरा भएन । तर त्यहीँ घरको धारामा आउने पानी धमिलो खस्यो भने के होला ? तर यहाँका चम्किने धाराहरुमा वर्षायामका चार महिना सङ्लो पानी देख्न भने कठिन हुने गरेको छ । बागलुङ बजारका अधिकांश टोलहरुमा बिहानको समयमा धारामा पानी आउँछ । अघिल्लो दिन आकाशमा बादल भरिएर गर्जिन थाल्यो भने बुझ्नुस बिहान उठेर स्नान गर्ने पानी धमिलो आउने पक्का छ ।
पानीको मुहान नभई खोलाहरुबाट आएको पानीका कारण बागलुङ बजारमा वितरण हुँदै आएको पानी वर्षात्को समयमा धमिलो आउने गरेको छ । हिउँदमा समेत ठुलो पानी पर्दा बजारका ३ हजार ७ सय ७१ धारामै धमिलो पानी आउने गरेको उपभोक्ताहरु बताउँछन् । धमिलो रहेकाले खानेपानीको नाम दिईएको पानी पिउनको लागि त उपयुक्त छैन नै नुहाउने, लुगा धुनेजस्ता कर्ममा समेत प्रयोग गर्न अनुपयुक्त भएको भन्दै अदालतमा मुद्धा परेपछि खानेपानीको विषयमा चासो सुरु भएको छ ।
गत साउन ३२ गते उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङ नगरपालिका, नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र जिल्ला जलश्रोत समितिलगायतलाई खानेपानी आपूर्ति र शुद्व पानी वितरणका सम्बन्धमा उत्प्रेषणयुक्त परमादेश जारी गरेको ग¥यो ।
अधिवक्ता रमेश बहादुर खड्काले पेश गरेको रिट निवेदनमा भएको बहसपछि न्यायाधिश द्वारिकामान जोशीको एकल इजलासले १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन विपक्षीलाई आदेश दिएको थियो । त्यस यताका बहसमा समेत अनुगमन गर्न निर्देशन र अनुगमन पछिको प्रतिवेदन माग भएपछि बुधबार जिल्ला प्रशासन, खानेपानी तथा सरसफाई डिभिजन, बागलुङ नगरपालिकालगायतका सरोकारवालाले खानेपानीको वितरण ट्याङ्कीदेखि मुहानसम्मको अनुगमन निरिक्षण गरेका छन् ।
निरीक्षणको क्रममा खोलाबाट सिधा पानी ल्याईएकाले पानी प्रशोधन नगरी खानका लागि उपुक्त नरहेको पाईएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । ‘सबै वस्तुस्थितीको अवलोकन गरियो, यसै गर्नुपर्छ भन्ने अवस्था छैन’ न्यौपानेले भने ‘शुद्धिकरण गर्ने विधिलाई मजबुद बनाउनु पर्नेजस्तो देखिन्छ ।’
बागलुङ बजारमा वितरित खानेपानी काठेखोला गाउँपालिकाको वडा नं. ७ रेशमा रहेको रेशखोला र काठेखोला वडा नं. ८ लेखानी र रेशको सिमानामा रहेको भूँदीखोलाबाट ल्याईएको छ । वर्षात्को समयमा रेश, बिहुँ, लेखानीलगायतका ठाउँमा वर्षा हुँदा खोलामा आएको भेलबाढीका कारण खानेपानी धमिलो आउने गरेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्मा बताउँछन् । ‘खोलाबाट आएको पानी हाम्रो वितरण ट्याङ्कीमा जानु पूर्व धेरै ठाउँमा प्रसोधन हुन्छ’ शर्माले भने ‘नेपाल सरकारले नै तोकेअनुसार बनेको प्रविधिको प्रयोगले प्रसोधन गर्नेबाहेक हामीसँग उपाय छैन् ।’
अनुगमनका लागि मुहानमा पुगेका गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले पानीको प्रशोधनमा ध्यान दिनुपर्ने र व्यवस्थापनको काम चुस्त बनाउनु पर्ने बताए । ‘हिजो स्टमेट गर्ने बेलाकै कमजोरीका कारण दुःख भैरहेको छ, अहिले भैरहेको काममा खोट लाउने ठाउँ छैन्’ सापकोटा भन्छन्– ‘के कति लगानी गरेर गर्न सकिने हो शुद्धिकरण गर्ने काममा कम्पर्माइज गर्नुहुन्न ।’
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले प्राविधिक विषय भएकाले यसको अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताए ।
नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी पटक पटक चर्चामा आउने गरेको छ । झण्डै १७ किलोमिटरको दुरीमा रहेका दुवै मुहानसम्मको भूगोल कठिन रहेकाले वर्षाको समयमा बाढी र पहिरोका कारण ठाउँ ठाउँमा पाईपलाईन बगाउँदा हप्तौंसम्म पानी अवरुद्ध हुने गरेको छ ।
झण्डै ४६ करोड लगानीमा सोही संस्थाले सञ्चालनमा ल्याउन लागेको लिफ्टीङ खानेपानी आयोजना निर्माणकै चरणमा छ । निर्धारित समयमा यो आयोजना निर्माणको काम सकिए मात्रै बागलुङ बजार वर्षाको समयमा धमिलो पानीमुक्त हुने आशा गरिएको छ ।





