तेस्रो किस्ता नपाउँदा अलपत्र परेको घरको बलेनीमा मलिन मुद्रामा उभिएकी जलजला गाउँपालिका–७ की मनकुमार्री दर्जि ।
बागलुङ, ११ भदौ– खरको छानो भएको घर २०७४ सालको हिउँदमा आगोले जलेपछि घर बनाउने उपाय थिएन । नेपाल सरकारले घोषणा गरेको जनता आवास कार्यक्रम आफ्नो वडामा पनि कार्यान्वयनमा आउने खबरले पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङका गम्मरे दमै निकै खुशी थिए ।
उनलाई लागेको थियो अब जनता आवास कार्यक्रमले आफ्नो घर बनाईदिन्छ । घामपानी ओत्ने घर बनाउन सरकारको बाटो हेर्न थालेको तीन वर्ष भयो तर घर अझै पुरा भएन । सानो छाप्रो भएपनि बनाउनका लागि घडेरी त थियो तर त्यसका लागि चाहिने दारपात र डकर्मी, सिकर्मीको खर्च नभएकाले त्रिपालमुनिको बास बसेको दमै बताउँछन् । त्रिपाल छोडेर सानो घरमा बस्न पाईन्छ भनेर गम्मरेले काम थालेको ३ वर्ष भयो तर घर अझै बनेको छैन । गतिलो बाँसमा रात कटाउनुपर्ने बेला अहिले गम्मरेलाई साहुको ऋण र आधाउधी बनेको घर भत्किन्छ की भन्ने चिन्ताले सताउन थालेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा पर्वतमा जनता आवास कार्यक्रम सुरु भयो । त्यतीबेला नै गम्मरे दमै त्यहीँ गाउँका १२ परिवार लाभग्राहीको सूचीमा परे । पहिलो र दोस्रो किस्ताको रकम बुझेर घर निर्माणको काम थालेका धाईरिङका १२ घर तेस्रो किस्ताको रकम नपाएका कारण अलपत्र अवस्थामा छन् । भुकम्प प्रतिरोधी घरसँगै शौचालय निर्माण भएपनि चार किस्तामा पाउनुपर्ने रकममध्ये अहिले ११ परिवारले दोस्रो किस्तासम्मको मात्रै रकम पाएका छन्भने एक परिवारको जग खनेको घडेरीनै अलपत्र अवस्थामा छ ।
गतिलो बाँसमा रात कटाउनुपर्ने बेला अहिले गम्मरेलाई साहुको ऋण र आधाउधी बनेको घर भत्किन्छ की भन्ने चिन्ताले सताउन थालेको छ ।
जनता आवास कार्यक्रमसँग सम्झौता गरेका खुदुना दमैको सम्झौताको केही दिनपश्चात मृत्यु भएपछि उनको परिवारलाई कार्यक्रमले पहिलो किस्ताको रकमसमेत दिएको छैन । ‘आधा घर बनेका छन्, आधा बाँकी बनाउने उपाय छैन्’ स्थानीय मन कुमारी परियारले भनिन् ‘घर सर्ने बेलासम्म त्रिपाल मुनीको बास भएको छ ।’
ज्याला मजदुरी गरेर खाने दलित, विपन्न तथा सिमान्तकृत परिवारले ऋण समेत नपाएका कारण घर निर्माणको बाँकी काम अलपत्र परेको बताउँछन् । ‘बर्खांको समय पानी पर्दा त्रिपालमुनिको बास खपिनसक्नु छ’ उनले भनिन् ‘अर्को घडेरी थिएन्, भएको छानो नयाँ घर बनाउन फालियो, घर न बासको भयो ।’ बनिसकेका घरका पर्खालसमेत वर्षाले भत्किने अवस्थामा पुगेको जनता आवास कार्यक्रम धाईरिङका संयोजक पूर्ण परियारले बताए ।
‘आउँदैन भनेको भए उही सुर हुन्थ्यो, बनिसकेका घरको प्राविधिक नापजाँच गरेर तेस्रो किस्ता नदिँदा समस्या भयो’ परियार भन्छन्– ‘फलेवास नगरमा एकै पटक सुरु भएका घर फरफरक हुँदा हाम्रोमा तेस्रो किस्ताको रकम समेत आएन् ।’
किस्ताको आशा ऋण लिएर काम थालेकालाई समेत साहुहरुले दुःख दिन थालेका छन् ‘किस्ता आएपछि दिउँला भनेकाले बनाएको गाह्रो नै भत्काईदिन्छु भन्न थाले’ पीडित बुद्धिराम परियारले भने ‘ब्लक, बालुवा, सिमेन्ट, रडजस्ता जिनिस चाहिने, घरकैले चल्ने भएपनि आफ्नै सुरको घर बनाईन्थो नि ।’
सहरी तथा भवन डिभिजन कार्यालय पोखरा मातहतमा पर्वतमा जनता आवास कार्यक्रम सञ्चालनमा छ । कार्यालयले भने बजेट अभावका कारण तेस्रो किस्ताको रकम उपलव्ध गराउन नसकेको जनाएको छ ।
‘कार्यक्रम बहुबर्षे हो, हरेक वर्षको बजेटमा सम्बोधन हुन्छ सोही अनुसार दिने हो’ तत्कालिन डिभिज निमित्त प्रमुख अनुप थापाले भने ‘यो वर्षको बजेटले तेस्रो किस्ताको रकम पुग्छ होला सबैले पाउनुहुन्छ ।’ यो वर्ष कार्यक्रम प्रदेश सरकारअन्र्तगतको पूर्वाधार कार्यालयले सञ्चालन गर्ने उनले बताए ।
कार्यक्रमअन्र्तगत लाभग्राहीलाई तीन लाख ३२ हजार पाँच सय रुपैयाँ चार किस्तामा भुक्तानी गरिन्छ । घर निर्माणका विभिन्न चरण पुरा गरेपछि पहिलो किस्तामा ८३ हजार १ सय २५ रुपैयाँ, दोस्रो किस्तामा ९९ हजार ७ सय ५० रुपैयाँ, तेस्रो किस्तो १ लाख १६ हजार ३ सय ७५ रुपैयाँ र चौथो किस्तामा ३३ हजार २ सय ५० रुपैयाँ भुक्तानी हुने गरेको छ । जनता आवास कार्यक्रमअन्र्तगत पर्वतमा १ सय ५० लाभग्राही छन् ।






