बागलुङ, १२ भदौ– नेपालका अधिकांस नगरपालिकाहरुले घरबहाल कर १२ प्रतिशत लिएका छन् । तर, बागलुङ नगरपालिकाले ५० प्रतिशत छुट दिएर ६ प्रतिशत मात्रै लिएको छ । त्यहीँ कर पनि उठाउन नगरपालिकालाई हम्मे परेको छ ।
करको दर घटाएर दायरा बढाउन छुट दिएको नगरप्रमुख जनकराज पौडेल बताउँछन् । तर पनि बागलुङ नगरक्षेत्रका घरधनीले कर तिर्न आनाकानी गरिरहेका छन् । नगरपालिकाले न्युनतम शुल्कको भाडादरबाट कर तिर्न आव्हान गर्दा पनि घरधनीले नतिर्ने गरेको भेटिएको हो ।
‘निर्धारित समयमै आएर तिर्ने थोरै छन्, कोही एकमुष्ट आउँछन्, कोही आएकै छैनन्’ नगरपालिकाका राजश्व शाखाका प्रमुख हरिनारायण उपाध्यायले भने, ‘कर बढायो भन्नेहरुले अध्ययन नगरी भनिरहेका छन् ।’ बागलुङ नगरको मुख्य बजारमा सामान्य कोठाको भाडा १ हजार लिनसक्ने अनुमानको आधारमा कर निर्धारण गरेको छ ।
सदरमुकामका अधिकांस घरका कोठाहरु ४ हजार रुपैया“बाट सुरु भएर महंगोमा भाडा लगाईएका छन् । सटर लिनुपर्दा १२ देखि २५ हजारसम्मका भएपनि नगरले न्युनतममै कर तोकेको हो । अन्य कर बढेको विरोध गर्ने व्यवसायीले घरबहाल कर घटेको चासो पनि राख्दैनन् । समयमा पनि तिर्दैनन् । उपाध्यायले भने, ‘घरबहाल कर तिर्न नआएर दुई÷तीन वर्षदेखि छाडेकाहरु पनि छन् ।’
पटक पटकको आग्रह, सूचना र पत्राचार गर्दासमेत नआएका घरधनीलाई एकीकृत सम्पत्ति कर तिर्दा एकमुष्ट लिने तयारी गरेको उनले बताए । पटक पटक संस्थागत र व्यक्तिगत रुपमा कर घटाउन नगरपालिकामा दबाव दिने व्यवसायीले करको सदुपयोगबारे भने चासो नराखेको उनको भनाई छ ।
चालु वर्ष नगरपालिकाले घरबहाल करबापत ८० लाख संकलन गर्ने लक्ष राखेको छ । त्यसबाहेक एकीकृत सम्पत्ति कर पनि ८० लाख रुपैंया“ संकलन गर्ने लक्ष राखेको उपाध्यायले बताए । घरबहाल कर अघिल्लो वर्ष लक्षभन्दा २० लाख कम संकलन भएको थियो । यहा“का घरधनीले कोरोना कहरमा घरभाडा छुट दिएका थिएनन् । लकडाउनको बाहनामा अन्य कर संकलनमा पनि असर परेको उनले बताए ।
कार्यालय प्रयोजनका लागि बहालमा लगाएका घरको भने नियमित कर असुल भएको उपाध्यायले बताए । ‘उनीहरुले पनि असुलेकोभन्दा आधा सस्तो मूल्य देखाएर कर तिरेका छन्’ उपाध्यायले भने, ‘तर बाध्यात्मक कारणले कर तिरिरहेका हुन् ।’ व्यक्तिगत घरतर्फ ऋण लिनु पर्दा समस्या भएमा मात्र कर तिर्न आउने गरेको उनले बताए । कर चुक्ता प्रमाणपत्रबिना काम नहुने अवस्था आएपछि मात्रै कर तिर्न आउने चलन छ ।
नगरपालिकाको काममा व्यवसायीबाट पनि पूर्ण सहयोग हुनुपर्ने नगरप्रमुख पौडेल बताउँछन् । ‘व्यवसायीले पूर्ण सहयोग गर्ने हो भने कर अझै बढी संकलन हुन्छ’ उनले भने, ‘करले नगरकै विकासमा योगदान पुगेको छ भन्ने कुरा हेक्का राखियो भने सफल भइन्छ ।’
कोरोना कहरका कारण बागलुङका घर छाडेर गाउँ पस्ने पनि बढेका छन् । त्यसैले गत चैतदेखि धेरै घरमा बहाल कम भएको छ । क्याम्पस र विद्यालय संचालन भएमा मात्रै कोठामा बस्नेहरु बढ्ने भएकोले कोरोना कहरमा राजश्व कम हुने उपाधयायले बताए ।





