सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दुर्लुङको पहिरोग्रस्त ठाउँलाई सुरक्षित बनाउन डेढ करोड विनियोजन

दुर्लुङको पहिरोग्रस्त ठाउँलाई सुरक्षित बनाउन डेढ करोड विनियोजन


  • सञ्जय रेग्मी
  • भाद्र १२ २०७७, शुक्रबार

पर्वत, १२ भदौ – पर्वतको कुस्मा नगरपालिका वडा नं. ३ दुर्लुङको ढकालबारीमा गत जेठ ३१ गते ९ जनाको ज्यान लिनेगरी गएको पहिरोस्थलमा सुरक्षाको लागि भौतिक निर्माण गर्न डेढ करोड रुपैयाँ विनियोजन भएको छ ।
पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इन्जिनियरिङ पद्धति अवलम्बन गर्न सकिने भनी भूगर्वविद्को टोलीले अध्ययनपछि तयार पारेको प्रतिवेदन अनुसार भौतिक संरचना निर्माण गर्न उक्त बजेट विनियोजन गरिएको हो ।
बजेट विनियोजजन भएसँगै जोखिममा परेका घरहरुलाई अन्यत्र सार्न वा व्यवस्थित गर्न, बस्ती माथि रहेको पहिरोको भागमा आवश्यक भौतिक सुरक्षाका पूर्वाधारहरु तयार गर्न सहज हुने भएको छ ।
भूगर्भविद् शिवकुमार बास्कोटाको संयोजकत्वमा खटिएको टोलीले ढकालबारीको अध्ययन गरेपछि तयार पारेको प्रतिवेदनमा पहिरो गएको आसपासका १० घर जोखिममा रहेकोले तत्कालै सुरक्षाका लागि पूर्वाधार निर्माणको काम गर्न सुझाएको थियो ।
प्रतिवेदनमा काफलबोट÷काउलेका ७ घर र खेतसहितको जमिन अस्थिर भई बग्ने क्रममा रहँदा घरहरू ढल्केको तथा चर्केकोले बस्तीलाई पनि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको थियो । ढकालबारीदेखि नुवारखोलासम्म ठुलो भूभाग तलतिर सरेको पाइएको भूगर्भविद् बास्कोटाले बताएका छन् ।
प्रतिवेदनमा उक्त स्थानमा रहेका घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र उक्त क्षेत्रभित्र रहेका पानीका मूलको व्यवस्थित निकास दिन पनि सुझाव दिइएको छ ।
सडक निर्माणका क्रममा जमिन काटिँदा, काटिएको माटो अव्यवस्थित तवरले फ्याँकिँदा तथा साइड ड्रेन (नालीहरू) व्यवस्थित नहुँदा कोटगाउँ, गैराथोक र घोगेनी क्षेत्रका केही घरहरूमा जोखिम बढेको देखिएकोले त्यस्ता कार्यहरू गर्दा आवश्यक प्राविधिक अध्ययन तथा सर्वेक्षण गरी बस्ती सुरक्षित हुने हिसाबले गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।
पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायोइन्जिनियरिङको काम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत गर्ने भनी अध्ययनले सुझाएकोले सोही अनुसार काम हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->