बागलुङ, १३ भदौ– बजार विस्तार भैरहेको क्षेत्र बागलुङ नगरपालिका–१ रामरेखा । घरछेउका सानातिना टुक्रासमेत खाली पल्टेका देखिने । बजारमा तरकारी हाँहाँकार हुँदा तीनै घरमा बस्नेले बाँझो जमिन सिंचित हुँदो हो नि भन्ने धेरै थिए ।
बाँझो सिंचिँदा तरकारी फल्थ्यो, त्यहिं तरकारीले खान पनि पुग्ने । एकाध व्यवसायीक कृषकबाहेक रामरेखामा आफ्नो करेशामा तरकारी फलाउनेहरु कम छन् । वडाबासीलाई तरकारीमा आत्मनिर्मर बनाउनका लागि स्थानीय सरकार अहिले लागिपरेको छ ।
तिनै बाँझा टुक्राहरुमा समेत हरियाली बनाएर तरकारी फलाउनका लागि वडा कार्यालयले पहल थालेको छ । कोरोना कहरले घरभित्रै रहेका रामरेखाबासीका घर घरमा शुक्रबार तरकारीका बिरुवा पुगे । ‘वडामा बाँझो नरहोस्, सबैको घरैमा तरकारी फलोस् भन्ने हाम्रो योजना हो’ वडा अध्यक्ष दुर्गा बहादुर बोहराले भने ‘रामरेखा हरियाली पनि हुने तरकारी पनि फल्ने वातावरण बनाउँछौं ।’
लकडाउनकै समयमा रामरेखामा नै तारासिंह पुनको रामरेखा तरकारी फार्मलाई वडा कार्यालयले बिरुवा उत्पादनको जिम्मेवारी दिएको बोहराले बताए । फार्ममा उत्पादन भएका तरकारीका बिरुवा जनप्रतिनिधि र कर्मचारी मिलेर शुक्रबार वडाबासीका घर घरमा पु¥याईएको छ । वडामा रहेका ७ सय ३० परिवारलाई प्रतिपरिवार ४० वटाका दरले बिरुवा वितरण गरिएको वडा सदस्य सुर्य लामिछानेले बताए ।
‘सबैलाई बोलाउँदा भीड लाग्ने भएकाले टोल–टोलमै पुग्यौं’ लामिछानेले भने ‘दुरी कायम गर्दै सबैसँग भेट भयो, उत्पादनसँग जोडिने कोशेली पनि बाँडियो ।’ वडाका सबै नागरिकलाई आत्मनिर्भर हुनेगरी तरकारी उत्पादन गर्न सुझाउँदै निशुल्क बिरुवा उपलव्ध गराएको उनले सुनाए । काउली, ब्रोकाउली, गोलभेँडा, बन्दालगायतका बिरुवा उपलव्ध गराईएको हो । वडा कार्यालयले चालु आर्थिक वर्षको एक लाख रुपैयाँ खर्चेर झण्डै तीस हजार तरकारीका विरुवा उत्पादन गरेको थियो ।





