पोखरा, १५ भदौ– कोरोना महामारिको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको छ । लक्ष्यभन्दा ६ महिनाअघि नै काम सक्ने भनिएको आयोजनालाई कोरोना महामारीको कारण निर्माणमा धक्का पुगेको हो ।
सन् २०२१ भित्रमा निर्माण सक्ने म्याद तोकिए पनि निर्माण कम्पनीले लक्ष्यभन्दा ६ महिना अघि नै ०२१ जुलाइमा उडान भर्ने लक्ष्यका साथ काम थालेको थियो । यद्यपि, कोरोना कहरका कारण निर्माणको काम लक्ष्य अगावै नसकिने भएको छ । कोरोना कहरका कारण विमानस्थलका निर्माण कार्य लक्ष्य अघि नै नसकिने आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए । लक्ष्यभन्दा अगावै आयोजनाको काम सक्ने भनिए पनि कोरोना कहरका कारण कामदारको अभावले काम समयमै नसकिने उनले बताए ।
‘कोरोना भयो, लगत्तै लकडाउन पनि भयो । नेपालमा पनि संक्रमण बढिरहेको छ । त्यसैले ६ महिनाअघि नै हामी सकाउन सक्दैनौं’, उनले भने, ‘यो त हामीले पहिलेदेखि नै भन्दै आइरहेका छौं । अब हाम्रो लक्ष्य भनेको समयमै सकाउने हो । समयमै सकाउन पनि के हुन्छ भने अहिले पनि स्पिड लिइरहेको छैन कामले ।’
पूर्वाधार निर्माणका काम धेरै जसो सकिए पनि इक्युपमेन्ट स्ट्रक्चरको काम बाँकी रहको उनले सुनाए । फिनिसिङको काम अहिले भएकै कामदारले चलाइरहेको र इक्युपमेन्ट स्ट्रक्चरको लागि चीनबाटै कामदार मगाउनु पर्ने उनले बताए ।
इक्युपमेन्ट स्ट्रक्चरको काम ६ महिना भित्र सकिन्छ । ‘६ महिना पनि लाग्दैन । त्यसमा टेस्टिङ लगायतका काम हुँदा १–२ महिना समय लाग्ने हो । त्यो त काम सकेपछि गर्दा पनि हुन्छ’,उनले भने, ‘उडान सुरु गर्न काम सकेपछि पनि अलिकति समय लाग्छ । करिब ४ देखि ६ महिना लाग्छ । म्यानेजमेन्ट, सेक्यरिटी, टिकेटिङ, एअरलाइन्स लगायतका कुरा टुग्यांउदा । व्यवस्थापनको लागि उहाँहरुसँग पटक पटक छलफल गर्नुपर्छ । बाहिर एजेन्सीबाट हुने काम पनि उहाँहरुबाट पनि हुनुपर्छ सरकारी निकायबाट इमिग्रेसन, कस्टम सबै सेटअप तयार गर्नुप¥यो । सबै गर्न ४ देखि ६ महिना लाग्छ ।’
निर्माणका आवश्यक सामग्री ल्याइसकेको हुनाले जनशक्ति आउने बित्तिकै काममा तीव्रता आउने उनले बताए । सीमा नाका खुला भएको हुनाले निर्माण सामग्रीको खासै समस्या नभएको उनल सुनाए । चीनबाट आउनुपर्ने २ सय कामदार अहिले उतै रोकिएर बसेका छन् । २४४ चीनियाँ र ११८ नेपाली कामदारले अहिले विमानस्थलमा काम गरिरहेका छन् । काम सकिएका केही कामदार स्वदेश फर्केका छन् । करिब सयको हाराहारिमा कामदार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै जानेछन् ।
स्ट्रक्चरका धेरै जसो काम सकिएको खण्डमा दक्ष जनशक्तिको आवश्यकता रहेको आयोजना प्रमुख मुनाकर्मीले बताए । त्यस्तो खालको जनशक्ति चीनबाटै आउने भएकाले समस्या रहेको उनले बताए । भिसा पाएर कामदार नेपाल आएको खण्डमा काममा कुनै समस्या नरहने उनको जिकिर छ ।
लकडाउन अघि ३, ४ महिनाअघि नै आवश्यक सामान ल्याएको हुनाले पनि लकडाउनको बीचमा पनि निर्माणको काम नरोकिएको उनले सुनाए । सीमा नाका खुकुलो भएको हुनाले निर्माण सामग्री ल्याउन सजिलो भएको उनले बताए । ‘सामान ल्याउन त सजिलै छ । तर, कामदार ल्याउन सकिरहेका छैनौं । त्यही नै समस्या हो । कामदारको नै समस्या हो’, उनले भने । कामदार समयमै ल्याउन सके लक्ष्य अगावै काम सकिने उनले बताए । कोरोना सन्त्रास फैलिए पनि आफूहरुले काम भने नरोकेको उनले सुनाए । उनका अनुसार बीचमा केही समस्या समस्या भए पनि केही कामदार मार्च महिनामा आएपछि काम नरोकिएको हो । अहिले विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, लाइटिङ र केबलको कामहरु सकिइसकेको छ । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । गाडी गुड्ने रोड, मुख्य रोड र ट्रर्मिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ । कार पार्किङको काम पनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकेको मुनाकर्मीले बताए । मेकानिकल, इलेक्ट्रिकल कामहरु पनि भइरहेको छ । विमानस्थलको निर्माण कार्य ६३ प्रतिशत सकिई सकेको छ ।
अन्र्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा बनिरहेको विमानस्थलको सन् २०२१ भित्र निर्माण सकेर उडान सुरु गर्ने लक्ष्य लिएको छ । विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्ने बताइएको छ । चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर यो विमानस्थल बनाउन सुरु गरिएको हो ।
विमानस्थलको लागि ०३२ सालमा ३१ सय ५० रोपनी जग्गाको अधिग्रहणको सूचना जारी गरी २०३४ सालबाट मुआब्जा वितरण गर्न थालिएको थियो । तत्कालीन समयमा १ सय ५० घर परिवार विस्थापित भएका थिए । ०७५ मा अन्तिमपटक भनि आउटर पेरिफेरल रोडको नाममा तारवारको वरिपरि १० मिटर चक्लाईको जग्गा अधिग्रहण गरिएको थियो ।विमान अवतरणमा समस्या देखिने भएपछि विमानस्थलको दक्षिण पूर्वी भागमा रहेको रिठ्ठेपानी डाँडा पनि कटानको काम पनि भइरहेको छ ।





