बागलुङ, १५ भदौ– राष्ट्रिय गौरबको आयोजना भएपनि बर्षात लागेपछि मध्यपहाडीको अधिकांस खण्डमा सवारी चल्न सकेका छैनन् । खसेका पहिरो पन्छाउने भन्दा जस्ताको त्यस्तै छाडिएकोले सवारी नचलेका हुन् । यात्रा जोखिमको बनेको छ ।
निसीखोला गाउँपालिका सहित लोकमार्गको अधिकांस खण्डमा दर्जनौ पहिरो खसेका छन् । ती पहिरो पन्छाएर सडक सहज बनाउने काम भएको छैन । बरु स्थानीयले जवरजस्ती खुलाएको सडकमा जोखिम मोलेर यात्रीले यात्रा गर्न बाध्य भएका छन् ।
सदरमुकाम नजिकै भएपनि बोक्से सहितका स्थानमा पनि यो सास्ती छ । तर बिहुँमा भासिएको सडक सातादेखि मर्मत भएको छैन । गलकोट क्षेत्रमा पक्कीसडकमै भासिएका स्थानमा जोखिम मोलेर यात्रा भैरहेको छ भने निसीखोला तर्फ क्षतबिक्षत सडकमा स्थानीयले पैदल यात्रा पनि गर्न नसकेको गुनासो गरे ।
राष्ट्रिय राजमार्गमा सूचिकृत भएकोले सडक संचालनमा ठूलो लगानी गर्न नसकेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । ‘सामान्य मर्मत गरेर हुने ठाउँमा लगानी गरेका छौं, तर लोकमार्गमा लगानी गर्दा गाउँपालिकाको बजेट बेरुजुमा पर्न सक्ने भएकोले ठूलो लगानी गर्न मिल्दैन’ पौडेलले भने, ‘आयोजनालाई खवर गरेपनि वास्ता भएको छैन ।’ जोखिम मोल्दा स्थानीयले क्षति व्यहोर्नु परेको उनले बताए ।
२०५४ देखि ट्रयाक खुल्न थालेर दश बर्ष अघि निसी सम्म सडकको ट्रयाक पुगेको थियो । लोकमार्गमा सूचिकृत भएपछि कतिपय स्थानमा कालोपत्रे समेत भैसकेको छ । तर बर्षातमा खसेका पहिरोहरु पन्छाउन नसक्दा कालोपत्रे बाटो पनि नाम मात्रको भैरहेको छ । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण सवारी नचलेकोले अहिले सडकमा चाप कम छ । तर सवारी चाप बढ्दा दुर्घटनाको जोखिम बढेको स्थानीयले बताए ।
काठेखोला गाउ“पालिकाको इनारपानी र ठूलो ढुंगा लगायत स्थानमा सडक छियाछिया परेको छ । गलकोट नगरपालिकाको नरेठा“टी र दुदिलाभाटीको कालोपत्रे सडक समेत भासिएको छ । यो खण्डमा दर्जनबढी ठाउ“ भासिएका छन्, पहिरो गनिसाध्य छैन । बडिगाड गाउ“पालिकाको भीमगिठेमा शाखा सडकले लोकमार्ग भत्काएको छ । निसी तर्फ भने हिलाम्मे सडकले पैदल यात्रालाई पनि सास्ती दिएको हो । दैनिक उपभोग्य बस्तुको खरिदकालागि बुर्तिवाङ झर्नुपर्नेले पनि समस्या भोगेको स्थानीय भबिन्द्र कुँवरले बताए । नाली बिनाका सडक बनाइएकोले धेरै स्थानमा भासिएको स्थानीयले आरोप लगाए ।
दुइ बर्षअघि काठेखोलामा दर्जनघर भासिएर बस्ती सारिएको छ । हरेक बर्ष एस्काभेटर लगाउने, डोजर र लोडरको प्रयोगले धेरै स्थानमा सडक भासिएको वडा नं. ५ का अध्यक्ष शिवप्रसाद कंडेलले बताए । गलकोट नगरपालिका वडा नं. १ को भुंखानीमा ४० मीटर, काफलठूटामा १० मीटर, चौराहामा १० मीटर, जम्दारे घुम्तीमा २० मीटर सडक भासिएकोले जोखिम बढी छ । पहिरोले किसानको खेतीपाती बगाएको छ । कतिपय स्थानमा सडक चिरा परेकोले झरी पर्दा पैदल यात्रीपनि डराउ“छन् । गलकोट नगरपालिकाकै वडा नं. ७ स्थित आ“गखेत र बा“स्खोलामा ५० रोपनी भन्दा धेरै जमिन बगर बनेको छ । किसानले रोपेका धानखेत पुरिएका छन् । लोकमार्ग आयोजनाका पोखरा बागलुङ खण्ड हेर्ने प्रमुख आशिष थापा मगरले भने लकडाउनको कारण सबै स्थानमा सडक हेर्न नभ्याएको बताए । कामै रोकिएको स्थानमा लगाउने काम गरेको उनले दावी गरे । बर्षातमा खसेका पहिरो पन्छाएर लोकमार्ग सुचारु गर्न स्थानीयले पनि सक्ने भन्दै उनले जिम्मेवारीबाट पन्छिने प्रयास गरेका थिए । जीर्ण र नाली अभावमा हिलाम्मे बनेको सडकको केही खण्डमा भने गलकोट स्थित शिव माबिमा प्रअ हरि चालिसेले बिदाको दिन पारेर मर्मत गराएका छन् । उनले सडकमा बगेको पानी कटाएर चिप्लोहुनबाट जोगाएका थिए । उनले स्थानीय रुपमा आफ्नो बस्ती छेउमा मर्मत गरियो भने लोकमार्ग सहज संचालन गर्न सकिने बताए ।





