म्याग्दी, १६ भदौ– अमेरिकाको न्यूयोर्कमा रहेका म्याग्देलीहरुलाई गत असार २५ गते म्याग्दीको मराङ र बिममा ३१ जनाको ज्यान लिनेगरी आएको बाढी पहिरोको खबरले मर्माहत बनायो ।
न्यूयोर्कमा भविष्य खोजिरहेको म्याग्देलीहरुको मन आफ्नै पाखा पखेरामा पुग्यो । पहिरोबाट क्षतविक्षत भएका गाउँबस्तीमा पुग्यो । कानले पीडितहरुको चित्कार र रुवाई सुनेको अनिभूति गर्न थाले । मन अमिलो भयो । र, उनीहरुलाई लाग्यो जन्मभूमिमा पीडा छ, हामीले पनि केही सहयोग गर्नैपर्छ ।
त्यसपछि उनीहरु म्याग्दी समाज न्यूयोर्कमार्फत संगठित रुपमा नै आफ्नो गृह जिल्लाका बाढी पहिरो पीडितहरुलाई आर्थिक सहयोग जुटाउने अभियानमा लागे । रमेश तुलाचनको संयोजकत्वमा सहयोग संकलन समिति गठन भयो । र, डेढ महिनाको अविधिमा अमेरिकाको न्यूयोर्कमा रहेका म्याग्देलीहरुबाट मात्र ५० लाखभन्दा बढी रकम संकलन भयो । यसरी संकलन गरेर उनीहरुले पठाएको ३० लाख शनिबार र आइतबार म्याग्दीको मालिका, मंगला र धवलागिरि गाउँपालिकाका बाढी पहिरो पीडितहरुलाई वितरण गरिएको छ ।
म्याग्दी समाज न्यूयोर्कले पठाएको रकम तीन स्थानीय तहमा बाढी पहिरो प्रभावितलाई सम्बन्धित गाउँपालिका प्रमुख, वडा अध्यक्ष, म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधिले हस्तान्तरण गरेका हुन् ।
समाजले पूर्णरुपमा विस्थापित ९७ घरधुरीलाई प्रतिघरधुरी २५ हजार, ३१ जना मृतकलाई प्रतिमृतक १० हजार, १३ जना घाईतेलाई प्रतिघाईते १० हजार र ४ जना सुत्केरी महिलालाई १० हजारको दरले सहयोग हस्तान्तरण गरेको समाजका म्याग्दी प्रतिनिधि पूर्णबहादुर पुनले जानकारी दिए । ‘सहयोग पीडितकै हातमा हस्तान्तरण गरिएको छ, पुनले भने । म्याग्दीमा बाढीपहिरोबाट केही घर थपिएकाले समाजमा जानकारी समेत गराइएको उनले बताए ।





