बागलुङ, १६ भदौ– जिल्ला जलश्रोत समितिले बागलुङ बजारमा वितरण गरेको खानेपानीको गुणस्तर सुधार गर्नुपर्ने सुझावसहित अध्ययन अनुगमन प्रतिवेदन उच्च अदालतमा बुझाएको छ ।
समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा बागलुङ बजारमा ल्याएको खानेपानीमा क्लोरिनको मात्रा बढी भएको, सरसफाई नपुगेको र मानव स्वास्थ्यप्रति गम्भिर नभएकोले आवस्यक सुझावसहित अदालतलाई लिखित जवाफ दिएको हो ।
दुई साताअघि उच्च अदालत पोखराको बागलुङ इजलासले जलश्रोत समिति र समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीका नाममा १० दिनभित्र अनुगमन प्रतिवेदन पेश गर्न आदेश दिएको थियो ।
खानेपानीको समस्या बढेको, हिलाम्मे पानी पाइपलाइनमा पठाइएको र लामो समयसम्म पानी विरतण नहुँदा स्थानीय बासिन्दाले टाढासम्म पुगेर पानी खेप्न बाध्य भएपछि अधिवक्ता रमेशबहादुर खड्काले नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाविरुद्ध रिट निवेदन पेश गरेका थिए । उनले रिटमा संस्थासहित जलश्रोत समिति, अध्यक्ष प्रअिज, बागलुङ नगरपालिका र नगरप्रमुखलाई विपक्षी बनाएका थिए ।
समितिले पेश गरेको प्रतिवेदनमा नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा प्राविधिक कर्मचारी नभएको, भएका अन्य कर्मचारी पनि दक्ष नभएकोले खानेपानीको संवेदनशिलता, खानेपानीको प्राविधिक तथा विशिष्ट अवस्थाबारे उपभोक्तालाई दिन नसकेको उल्लेख छ ।
स्वास्थय कार्यालयमार्फत गरिएको परीक्षणको क्रममा पनि अत्याधिक क्लोरिन भेटिएको थियो । साथै सोझै खोलाको पानी ल्याएर पाइपलाइनमा पठाइएको भनेपनि अनुगमनको क्रममा भने नदेखिएको बताइएको छ । तर केही समयअघि नालीको पानी सोझै वितरण गरेका भिडियो सार्वजनिकसमेत भएका थिए ।
रात्माटामा रहेको फिल्टर ट्यांकी तथा अन्य ट्यांकी सफा नगरिएकोले प्रदुषित पानी वितरण भएकोपनि अनुगमन टोलीले भेटाएको हो । प्रजिअ सुरेश न्यौपानेसहित सरोकारवाला, पत्रकारसमेतले अनुगमन गरेपछि उक्त प्रतिवेदन बनाइएको थियो ।
मर्मत र निर्माणको क्रममा गुणस्तर प्रमाणचिन्ह प्राप्त उपकरण प्रयोगमा ध्यान दिनुपर्ने पनि सुझाव दिइएको छ । साथै नियमति सफाइमा ध्यान दिन पनि भनिएको छ । स्लो स्याण्ड फिल्टरपछिको डिसइनफेक्सन च्याम्बरमा दैनिक पानी वितरण गर्नु आधा घण्टाअघि क्लोरिनेसन गर्नुपर्ने, म्याद नगुज्रेका पाउडर प्रयोग गर्नुपर्ने, दैनिक अनुगमन र नियमित प्रयोगशाला नियमित संचालन गर्नुपर्ने सुझाव दिइएको छ ।
प्रयोगशाला भएर पनि कर्मचारी भने नभएको भेटिएको प्रतिवेदनमा उल्लेख छ । बैकल्पिक मुहानलाई स्थायी बनाउनुपर्ने तथा मध्यपहाडी लोकमार्गले क्षतविक्षत बनाएको तथा तत्काल सार्नुपर्ने स्थानको पाइपलाइनको बिकल्प खोज्नुपर्ने सुझाव पनि दिइएको हो ।
प्रशासनले अध्ययन अनुगमनकालागि प्रदेश सांसद इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रजिअ सुरेश न्यौपाने, प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्त, डिभिजन खानेपानी कार्यालयका इन्जिनियर बिक्रमप्रसाद शाह, स्वास्थ्य कार्यालयका ल्याब अधिकृत डिल्लीप्रसाद आचार्य, धौलागिरी अस्पतालका ल्याब टेक्निसियन खिमबहादुर बिक सहितको टोली पानीको मुहान पुगेको थियो ।
बागलुङ बजारमा रेशखोला, भुँदीखोला र रिठेखोलाको पानी ल्याइएको छ । बर्षातको कारण खसेको पहिरोले खानेपानीको १७ स्थानमा पाइपलाइन बगाएको थियो । यस अघि संस्थाले भने शुद्ध पानी खुवाउने प्रयास भैरहेको प्रतिवेदन बुझाएको छ ।





