बागलुङ, १६ भदौ– बागलुङका ४१ सडक स्तरोन्नती हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका ३ सडकसहित जिल्लाभर ४१ सडक स्तरोन्नती गर्ने भएको हो ।
पूर्वाधार विकास कार्यालय बागलुङले चालु आर्थिक वर्षमा ११ करोड ७६ लाखदेखि ४० लाखसम्म बजेट विनियोजन भएका सडकको स्तरोन्नतीको काम कार्यान्वयन गर्न थालेको हो । संघीय मन्त्रालय र स्थानीय तहले समेत सडक निर्माणको काम गरिरहेका छन् ।
प्रदेश सरकारको निर्णय अनुसार बागलुङमा कार्यालय स्थापना भएपछि एउटै योजनामा बजेट नदोहोरिने गरी सडकहरुको स्तरोन्नती गर्ने प्रक्रिया कार्यालयले थालेको छ । यो वर्ष बागलुङमा सबैभन्दा धेरै बजेट कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकका लागि ११ करोड ७६ लाख रुपैयाँ खर्च हुँदैछ ।
यो सडक कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । सबैभन्दा कम बजेट बागलुङ बजारका सरकारी कार्यालय आसपासका सडक स्तरोन्नतीमा हुनेछ । ४० लाख रुपैयाँ खर्चेर यहाँका साना सडक व्यवस्थित बनाईने छ । गत आर्थिक वर्षसम्म प्रदेशका योजना पर्वतमा रहेको पूर्वाधार कार्यालयबाट कार्यान्वयन हुँदै आएका थिए ।
कठिन भूगोल रहेको बागलुङका दुरदराजमा प्राविधिक जनशक्ति नपुग्ने र आपसी समन्वयको अभावमा योजनाहरुमा बजेट दोहोरिने गरेका गुनासासमेत आउने गरेका थिए । भदौ ८ मा स्थापना भएको कार्यालयले पहिलो चरणमा जिल्लाका सबै स्थानीय तहलाई प्रदेश सरकारले स्तरोन्नतीको काम गर्न थालेका सडकको विषयमा जानकारी गराएको छ ।
‘एउटै योजनामा बजेट नदोहोरियोस् भन्ने हो सोहीअनुसार टेण्डरमा जानु पूर्व स्थानीय तहहरुसँग जानकारी मागेका छौं’ कार्यालय प्रमुख शोभियत खड्काले भने ‘अब प्रदेशका योजना कार्यान्वयनमा आउँदा डुब्लिकेशन हुँदैन् ।’
बागलुङमा प्रदेश सरकारले ७ वटा मोटरेबल पुल निर्माण गर्दैछ । जिल्लाभर प्रदेश सरकारको लगानीमा २१ वटा झोलुंगे पुल निर्माण हुँदैछन् । जिल्लामा प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयअन्र्तगत निर्माण हुने केही सडक भने नयाँ ट्रयाक हुन् ।
‘साना तर नयाँ ट्रयाकका कामसमेत यो वर्ष पनि छन्’ खड्काले भने कोरोना प्रभावले बजेट तलमाथि नभए यो वर्ष प्रभाव देखिने गरी सडकका काम हुन्छन् ।’ साना भएपनि प्रदेशअन्र्तगतका सडकका काम टेण्डर प्रक्रियाबाट गर्नुपर्ने भएकाले कार्यान्वयनमा भने समय लाग्ने उनले बताए ।





