म्याग्दी, १९ भदौ– गत असार २५ गते म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक बगाएपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङदेखि बीम, मराङ, मुना, मलम्पार, मल्काबाङलगायतका गाउँमा जाने सडक पहिरोले बगाएको हो ।
बाटो नहुँदा मानिसहरु खाद्यान्नको भारी बोकेर सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । मालिका विमको तल्लो गाउँदेखि मराङको बेसीहुँदै मलम्पार, बेसी, मल्कावाङ पुग्ने सडकको अवस्था जोखिमपूर्ण रहेको मलम्पारबाट दरवाङ आउँदै गरेका डेकबहादुर छन्त्यालले बताए ।
उनका अनुसार, मलम्पारका १ सय ७० घरधुरीले जोखिमपूर्ण यात्रा गरी खाद्यान्नको जोहो गर्नुपर्ने अवस्था छ ।
‘तल बर्खेखोला र माथि डरलाग्दो भीरको बीचमा पैताला अड्याउँदै, बुट्यान समातेर हिड्नु पर्ने अवस्था छ’, मलम्पारबाट खच्चड लिएर दरवाङमा खाद्यान्न लिन जाँदै गरेका बेग बहादुर विकले भने ‘मर्ने बाँच्नेको ठेगान हुँदैन, एकठाउँमा होइन दर्जनौं ठाउँमा बाटै छैन ।’
तल्लो विमको ठाडोखोलादेखि मराङको बेसीसम्मको करिब १५ किलोमिटर सडक पहिरोले छियाछिया बनाएको छ । त्यहाँ सामान्य मर्मत गरेर सडक संचालन गर्न सकिने अवस्था नरहेको धौलागिरी गाउँपालिका वडा नं. ६ मराङका वडाअध्यक्ष राजाराम सुवेदीले बताए ।
वडाअध्यक्ष सुवेदीले बाटो मर्मतका लागि सानो रकमले नपुग्ने भन्दै प्रदेश सरकारसंग अनुरोध गरिएको जानकारी दिए । ‘हाम्रो बजेटले सम्भव नै छैन, प्रदेश र संघ सरकारले ध्यान दिन आवश्यक छ’ सुवेदीले भने ‘मानिस र डोजर लगाएर मर्मतको काम गरिरहेका छौं, गाडी गुड्न सक्ने नभएपनि मानिस हिड्न सक्ने बनाउन सकिन्छ कि ।’
उनका अनुसार, बाटो पैदल हिँड्न लायक बनाउनका लागि वडा कार्यालयको तर्फबाट मानिस र मेसिन लगाएर मर्मतको काम भैरहे पनि ठूल्ठूला पहरा र भीरमा काम गर्न सम्भव नभएकोले समस्या उत्पन्न भएको छ ।
उता, मालिका गाउँपालिका ७ विममा पुग्ने सडकको भने मर्मत भैरहेको वडाअध्यक्ष रेशम जुग्जालीले बताए । उनका अनुसार, करिब १०÷१५ दिनभित्रमा सडक मर्मतको काम सम्पन्न हुने छ ।





