पर्वत, २० भदौ – कुल संक्रमितको संख्या २ हजार ४ सय ३ रहेको गण्डकीमा १ हजार ७ सय ७३ जनालाई निको भएको छ । शुक्रबार साँझसम्म १८ जनाको कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएको छ भने सक्रिय केसको संख्या ६ सय १२ रहेको छ । निको हुने दर ७३.७८ प्रतिशत रहेकोमा सक्रिय केस दर २५.४६ प्रतिशत रहेको छ । यस्तै ०.७४ प्रतिशत मृत्युदर रहेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रको प्रयोगशाला गरी २ ठाउँबाट पिसिआर परीक्षण हुने गरेको गण्डकीमा नतिजा आउन बाँकी रहेका स्वाबको संख्या शून्य रहेको छ । कतिपय ठाउँका प्रयोगशालामा एक सातासम्म पनि स्वाब परीक्षणको पालो आउन मुस्किल रहेको अवस्थामा गण्डकीमा नतिजा बाँकी नहुनु सुखद हो तर परीक्षणको दायरा फराकिलो नबन्दा नतिजा छिटो आउन सकेको गुनासो पनि सुनिने गरेका छन् । हालसम्म ५० हजार ३ सय ३१ नमूनाको परीक्षण गरिसकिएको छ । प्रदेशमा ५ सय ९४ जना क्वारेण्टिनमा बसिरहेका छन् । पछिल्ला ७ दिनको अवस्था हेर्दा गण्डकी प्रदेशमा कोरोना संक्रमण र निको हुने दरका रूपमा भदौ १९ गते शुक्रबार बढी अन्तर रहेको दिन बनेको छ ।
११ जिल्ला रहेको प्रदेशका विभिन्न जिल्लामा गरेर पछिल्ला ७ दिनमा मात्र ३ सय ३७ जनामा संक्रमणको पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमण जितेर डिस्चार्ज भएकाको संख्या ८५ रहेको छ । भदौ १३ गते २९ जनामा संक्रमणको पुष्टि हुँदा ४ जनालाई निको भएको थियो । साताको सबैभन्दा सुखद दिन भदौ १८ गते बन्यो । जुन दिन ३८ जनामा संक्रमणको पुष्टि हुँदा ५४ जनाले कोरोनालाई जितेका थिए । थपिएका संक्रमितको संख्यालाई निको भएकाको संख्याले जितेको सोही दिन बन्यो । साताको दुःखद दिन भदौ १९ बन्यो । जुन दिन कुल ९१ जनामा संक्रमणको पुष्टि हुँदा ७ जनाले मात्र कोरोनालाई जित्न सकेका छन् ।
भदौ १४ मा १ जनालाई निको र ४३ जनामा संक्रमण, भदौ १५ मा ३ जनालाई निको र २८ जनामा संक्रमण, भदौ १६ मा १० जनालाई निको र ४५ जनामा संक्रमण, भदौ १७ मा ६ जनालाई निको र ६३ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा निर्देशक नवराज शर्माले बताए ।
गण्डकीमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बनेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रवार साँझसम्मको तथ्याङ्कमा त्यहाँका कुल ५ सय ३१ जनामा संक्रमणको पुष्टि भएको छ । तीमध्येका ३ सय ६५ जनाले संक्रमणलाई जितेका छन् भने १ सय ६४ जनाको आइसोलेसनमा उपचार चलिरहेको छ । नवलपरासी (पूर्व) मा अहिलेसम्म संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ ।
सबैभन्दा कम प्रभावित जिल्ला भने मुस्ताङ रहेको छ । काठमाण्डौबाट मुस्ताङ पुगेका एक वृद्धमा केही समय पहिले संक्रमणको पुष्टि भएको भए पनि उनी निको भएपछि डिस्चार्ज भइसकेका छन् । कोरोना शून्य अवस्थामा रहेको मुस्ताङलाई यही अवस्थामा राखिरहन डिसिसिएमसीको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाकामा आवागमनलाई निकै कडाइ गरिरहेको छ ।ु संक्रमित २ जनाको मृत्यु भएको स्याङ्जा जिल्लामा शुक्रबारसम्म ३ सय १३ जनामा संक्रमणको पुष्टि भएको छ । तीमध्ये ३ सय ८ जनालाई निको भएको छ भने ३ जनाको आइसोलेसनमा उपचार चलिरहेको छ । संक्रमितको कुल संख्या र मृत्युका आधारमा नवलपरासी (पूर्व) प्रभावित भए पनि सक्रिय सङ्क्रमितको संख्याका आधारमा कास्की जिल्ला प्रभावित छ । हालसम्म ४ सय ४ जनामा संक्रमणको पुष्टि भएको कास्कीमा ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २ सय २५ जनाले कोरोनालाई जितेका छन् भने १ सय ७३ जना आइसोलेसनमा रहेका छन् ।
संक्रमितको कुल सङ्ख्या २ सय ९९ रहेको बागलुङमा २ सय ७२ जनाले कोरोलाई जितेका छन् भने २६ जना आइसोलेसनमा रहेका छन् । बागलुङमा कोरोना संक्रमण रहेको अवस्थामा एक युवकको मृत्यु भएको छ । यस्तै ३ जनाको मृत्यु भएको तनहुँमा संक्रमितको कुल सङ्ख्या २ सय ८३ रहेको छ भने निको हुनेको संख्या २ सय १० र आइसोलेसनमा बस्नेको संख्या ७० रहेको छ ।
पछिल्ला केही दिनयता लमजुङमा संक्रमितहरू थपिने क्रम बढेको छ । त्यहाँका २ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा १ सय २० जनालाई निको भएको छ भने १ सय २४ जना आइसोलेसनमा रहेका छन् । ३ जनाको मृत्यु भएको गोरखामा आइसोलेसनमा ४० जना छन् भने १ सय २० जनालाई निको भएको छ । त्यहाँका कुल १ सय ६३ जनामा संक्रमणको पुष्टि भएको थियो । बागलुङमा संक्रमणको अवस्था केही बढी रहेको भए पनि सीमाना जोडिएका पर्वत र म्याग्दीको अवस्था अहिलेसम्म नियन्त्रित अवस्थामा छ । ५० जनामा सङ्क्रमणको पुष्टि भएको म्याग्दीका ४८ जनालाई निको भएको छ भने आइसोलेसनमा १ जना रहेका छन् । त्यहाँका एक नाबालकको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको थियो । कुल १ सय ९ जनामा संक्रमण रहेको पाइएको पर्वतका १ सय ३ जनाले कोरोनालाई जितेका छन् । अब ६ जना मात्रै आइसोलेसनमा छन् । हिमालपारिको जिल्ला मनाङमा ६ जनामा संक्रमणको पुष्टि भएकोमा १ जनालाई निको भएको छ भने आइसोलेसनमा ५ जना छन् ।





