स्याङ्जा, २० भदौ– कोरोना कहरका बीच जसोतसो बर्खामा धान रोपाईं गरेर यतीबेला त्यही धान गोडमेलमा व्यस्त किसानको काम गर्ने जाँगर हराएको छ । धानमा मल राख्नु पर्ने समयमा नपाएपछि किसानको काम गर्ने जाँगर हराएको हो ।
मलकै लागि दुई घण्टा पैदल हिँडेर झिसमिसेमै वालिङ नगरपालिका वडा नं. ८ स्थित डुम्रीकोटमा रहेको महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा आएर पाँच घण्टासम्म लाइनमा बसेपनि मल नपाएर रित्तो हात घर फर्किनुपरेको वालिङ ६ भरुवाकी पार्वती भण्डारीले गुनासो गरिन् । मेरो पालो आउने बेलामा सहकारीका मान्छेले मल सिद्धियो भनेपछि रित्तो हात फर्किनु परेको भण्डारीले बताइन् ।
पार्वतीसँगै मल लिन आएकी लीला भण्डारीको पनि गुनासो उस्तै छ । उनले मलको आशमा घण्टौ लाइनमा बसेपनि मल नपाएको बताइन् । वालिङ नगरपालिका १२ का युगबहादुर गुरुङले बिहानैदेखि लाईनमा बसेपनि मल सिद्धिएकोले रित्तै फर्किएको बताए ।
कोभिड–१९ को संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनलाई सदुपयोग गर्दै जिल्लामा वषौँदेखि बाँझो रहेका खेतबारीमासमेत किसानले यसपालि खेती लगाएका थिए । तर, समयमा मल नपाउँदा किसानहरु निराश भएका छन् । गत वर्षभन्दा यसवर्ष जिल्लामा १४ प्रतिशतले रोपाइँमा वृद्धि भएकोले धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । मल अभावले त्यो लक्ष्य हासिल गर्न नसक्ने आशंका सरोकारवालाले गरेका छन् ।
जिल्ला सहकारी संघको पहलमा ८४० बोरा (४२) टन मल जिल्लाका ११ वटै पालिकामा रहेका सहकारीबाट किसानलाई वितरण गरिएको संघका अध्यक्ष लक्ष्मीपती पौडेलले बताए । सहकारीले कृषकलाई पाँच किलोका दरले वितररण गरेका थिए ।





