बागलुङ, २१ भदौ– बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ मा बुधवार रातीको बाढीपहिरो पिडितकालागि गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार ढोरपाटन पुगेर राहत रकम र सामग्री नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे । गुरुङले बाढी पहिरोमा परेर मृत्यु भएकाहरुको परिवारलाई ५० हजार रुपैयाँको दरले नगद राहत वितरण गरेका थिए । उनले यो राहत तत्कालका लागि भएको बताए ।
बाढीपहिरोले बाँचेका तर घर गुमाएर विस्थापित भएकालाई मेट्रेस, टेन्ट, भाँडाकुँडा र प्राथमिक उपचारका सामग्री सहयोग गरेका थिए । उनले बाढी प्रभावितको अस्थायी बसोबासका लागि तत्काल सहयोग गर्ने पनि आश्वासन दिए । त्यसमा पालिका र संघको पनि सहयोग हुने बताए । स्थायी आवास निर्माणका लागि भने संघ सरकराले प्रतिपरिवार ३ लाख रुपैयाँ दिने बताए । उनले अब बन्ने घर भूकम्प प्रतिरोधी बन्नुपर्ने पनि बताए ।
‘यो क्षेत्र आफैमा जोखिमको थियो त्यसैले अब सुरक्षित स्थान र एकीकृत बस्ती बनाउनु पर्छ’ उनले भने, ‘बस्ती विकासको अभियानमा साथ दिन प्रदेश सरकारले ढिलाई गर्ने छैन ।’ उनले बाढी आएकै दिन घटनास्थल आउने चाहना मौषमको खराबीले नदिएको पनि बताए ।
पीडितलाई स्थानीय सरकार र विभिन्न संघसंस्थाको सहयोग
पहिरो प्रभावितलाई तत्काल खानेबस्ने र लत्ताकपडाको लागि घटनास्थलमा पुगेर स्थानीय तह र विभिन्न संघसंस्थाहरु सामग्री र राहत वितरणमा लागेका हुन् । यसै क्रममा राधामाधव सेवा समिति बागलुङले ढोरपाटनमा गएको पहिरो पीडितलाई नगदै १ लाख रुपैयाँ वितरण गरेको छ । समितिका सचिव दिपक कंडेलसहितको टोलीले घटनास्थलमै पुगेर रकम सहयोग गरेको हो ।
उक्त रकममध्ये ५० हजार वडा नं. ९ का अध्यक्षलाई हस्तान्तरण गरिएको थियोभने ५० हजार पीडितलाई दिइएको हो । मृतक करबहादुर बिकको बाँचेका परिवारमा १० हजार, डल्ले बिकको दाजु महेश बिकलाई १० हजार, केशमाया बिकको ठूलो बाबा विरभक्त बिकलाई १० हजार, बेपत्ता परिवारबाट रुकबहादुर घर्तीलाई ५ हजार, पूजा बिकलाई ५ हजार, केयरसिंह बिकलाई ५ हजार र लिला बिकलाई ५ हजार रुपैयाँ प्रदान गरिएको हो ।
पीडितलाई नेपाल रेडक्रस सोसाइटी बागलुङले लत्ताकपडा, त्रिपाल र पकाउने भा“डा सहयोग गरेको छ । नेकपा निकट युवा संघले खोजी उद्दारमै खटिएर सहयोग गरिरहेको छ । संघले पीडितलाई खाद्यान्न समेत सहयोग गरेको छ । ताराखोला, निसीखोला, तमानखोला र बडिगाड गाउ“पालिकाका अध्यक्ष र प्रतिनिधि गएर पीडितलाई नगद र खाद्य सामग्री हस्तान्तरण गरिसकेका छन् । यस्तै, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले पनि राहत सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
सहकारी संघद्वारा राहत संकलन सुरु
जिल्ला सहकारी संघ बागलुङले ढोरपाटनका बाढी पहिरो पीडितका लागि राहत संकलन अभिायन थालेको छ । शनिबार बसेको संघको बैठकले राहत उपलब्ध गराउन आग्रह गरेको हो ।
संघका कर्मचारी र पदाधिकारीबाट ६० हजार रुपैयाँ संकलन गरेर सबै सहकारी संस्थालाई कोषमा साथ दिन आग्रह गरेको संघका अध्यक्ष दिपक गौतमले बताए । बैठकले घटनाप्रति दुःख पनि व्यक्त गरेको छ । संघले राष्ट्रिय सहकारी बैंकको खाता नं. १४–०००३३–९ मा रकम जम्मा गर्न आग्रह गरेको छ । संघले एकमुष्ट रुपमा पिडितलाई राहत उपलब्ध गराउने लक्ष राखेको छ ।





