काठमाडौं, २१ भदौ – प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड-१९)को विषयमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा जोड दिएका छन्। निजी क्षेत्रका अगुवासँगको छलफलमा आइतबार साँझ प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो’, करिब अढाई घण्टासम्म चलेको छलफलको विषयमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने। प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाईं साझा भएको बताएका छन्। उनले यसको नियन्त्रण गर्न र अर्थतन्त्र विनाशबाट जोगाउन सरकारले काम गरिरहेको स्पष्ट पारेका छन्।
‘कोरोना विरूद्दको लडाईं साझा हो। यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ’, ओलीले भने, ‘उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ छ।’ प्रधानमन्त्री ओलीले व्यवसायीलाई सरकार केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे। प्रधानमन्त्रीसँगको छलफलमा निजी क्षेत्रको नेतृत्वकर्ताको रुपमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गरेका थिए।
छलफलमा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोधसमेत प्रधानमन्त्रीसमक्ष गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनको बारेमा स्पष्ट पारेका छन्।
छलफलमा प्रधानमन्त्री ओलीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पारे। उनले स्वतन्त्रताको असन्तुलित वकालतले गर्दा धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराए। ओलीले कोरोनाको सूचना प्रवाहको तस्बिर गलत ढंगले प्रस्तुत हुँदा जनजीवन आतंकित भएको उल्लेख गरे।
कोरोनाको विषयमा सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवार र सचेत हुनुपर्नेमा उनले जोड दिएका छन्। ओलीले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरेका छन्। ओलीले काम गरेर खान नेपालमा समस्या नरहेको स्पष्ट पारेका छन्। ‘भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन’, ओलीले भने, ‘युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन थालिसकेका छन्।’ उनले सबै युवालाई देशमै काम गर्न आह्वानसमेत गरेका छन्।





