म्याग्दी, २२ भदौ – पहिरोको कारण चिराचिरा परेको छ जमिन । धाँजा फाटेर खुट्टा नै नअडिने अवस्थामा छ खेतवारी । विस्थापनको संघारमा छ गाउँ । विपत्तिले गाउँलेलाई अत्याएको छ । तर, त्यही गाउँको माटोमा नर्सरी स्थापना गरेका केही व्यक्ति भने विपत्तिसँग जुधेरै सम्पत्ति आर्जन गरिरहेका छन् । कथा होइन यथार्थता हो, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ मा पर्ने दानाको फगाम गाउँको ।
भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट विस्तार गरिएको बेनी–जोमसोम सडकखण्डका कारण जमिन भासिएर फगाम गाउँका ७४ मध्ये १४ घरधुरी पूर्णरुपमा विस्थापित भएका छन् । सोही गाउँको माटोमा सिंगौरी खेलेर वार्षिक रु ७ भन्दा बढी आम्दानी गर्दैछन् पौरखी किसान जोगबहादुर विक ।
दाना फगामका किसानले नर्सरीबाटै बेर्ना बेचेर रहरलाग्दो आम्दानी गरिरहेका छन् । डेढ दशकदेखि सुन्तलाको बेर्ना उत्पादन गरिरहनुभएका जोगबहादुर विकले बार्षिक रु ७ लाखभन्दा बढी बेर्ना बेचेरै कमाउछन् । समान्य लगानीमा नर्सरी स्थापना गरेका विकले अहिले करिब ४ रोपनी क्षेत्रफलमा फलफुल खेतीसँगै सुन्तलाको नर्सरी स्थापना गरेका छन् । पछिल्लो आधादशक यता नर्सरीमै ग्राहकले बेर्ना खोसाखोस गर्ने थालेपछि उत्साहित भएको विकको भनाई छ ।
विकको नर्सरीमा उत्पादन गरेका बेर्ना खरिद गर्न जिल्लाबाहिरबाट समेत ग्राहक पुग्न थालेपछि नर्सरीमा २० हजार बेर्ना तयारी अवस्थामा राखिएको छ । विकजस्तै दिलमायाँ पुनले गतबर्ष २० हजार बिरुवा विक्री गरी नर्सरीबाटै ६ लाख हात पारिन् । विक र पुनले मात्रै होइन विपत्तिसंग पैठेजोरी खेल्दै गाउँका ७ जना किसानले सुन्तलाका विरुवा वेचेर वार्षिक लाखौं रुपैयाँ कमाइरहेका छन् ।
ग्रामिण क्षेत्रका महिलाहरू निर्वाहमुखी खेतीपाती, घरायसी काममा ब्यस्त हुने भ्रमलाई चिर्दै पुनले आफ्नै बारीमा स्थापना गरेको नर्सरीबाट बार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्न थालेपछि हरेकबर्ष नर्सरी विस्तारमै केन्द्रित छन् ।छिमेकी जिल्ला बागलुङ, पर्वत बाहेक कास्की, चितवन लगायत विभिन्न जिल्लामा निर्यात हुने गरेको छ ।
माग ह्वात्तै बढेपछि गाउँमा धेरै बेर्ना उत्पादन गर्ने ७ जना किसानले बर्सेनि नर्सरीको क्षेत्रफल बढाउँदै लगेको छन् । किसानले माग अनुसारको बेर्ना उत्पादन गर्न नसकेपछि जिल्लाभित्रका विभिन्न नर्सरीमा ग्राहकलाई पठाउने गरेका छन् ।
प्रति बिरुवा ४० मा बगैँचाबाट नै बिक्री हुन्छ । फगाम गाउँ सुन्तलाको पकेट क्षेत्र समेत मानिन्छ । गतबर्ष करिब ८ ट्रक सुन्तला निर्यात भएको थियो । बेर्ना र फलेको सुन्तलाबाट गाउँलेले बार्षिक करिब ७० लाखभन्दा बढी नगद भित्रिने गरेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताइन् ।तर, यस्तो उर्वर माटो र पौरखी गाउँलेहरु भएको यो वस्तीमा विपत्तिले सताएको छ । बस्ती नजिकैबाट विस्तार गरिएको सडकका कारण जमिन भासिएको र चिराचिरा परेको छ । जमिन भासिने र फाट्ने भएपछि गाउँलेले खेतबारीमा बाली लगाउन छोडेका छन् ।
पहिरोका कारण कतिपय स्थनीय सुकुम्बासी बनेका छन् । कतिपय भएको आफ्नो खेतबारीमा पनि अन्नबाली समेत लगाउन छोडेर सुरक्षित स्थानमा पुगेको गाउँपालिकाका अध्यक्ष क्या.डमबहादुर पुनले बताए । गाउँपालिकाले भूगर्भविद् ल्याएर परीक्षण गर्न र सुरक्षित स्थानमा स्थानान्तरणको तयारी समेत गरेको छ । विस्तारै तल्लो हुदै माथिल्लो गाउँको खेतबारी, सडक आसपासका क्षेत्र समेत भाँसिएकाले माथिल्लो क्षेत्रबाट समेत पहिरो खस्न सक्ने जोखिमले भिषण बर्षा हुदाँ माथिल्लो गाउँका बासिन्दा समेत रातभरी सुत्दैनन् ।फगाम गाउँ सुन्तला उत्पादनका लागि प्रख्यात मानिन्छ । कृषि खेतीका लागि हावापानी अनुकुल भएकाले अन्य क्षेत्रबाट समेत तरकारी र फलफुल गर्ने लगानीकर्ता समेत आकर्षित भएका थिए ।





