बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोषिलो खाद्यान्न कोदोखेती हराउँदै

पोषिलो खाद्यान्न कोदोखेती हराउँदै

कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ ।


  • ध्रुबसागर शर्मा
  • भाद्र २४ २०७७, बुधबार

म्याग्दी २४ भदौ– धानको वियाँ,चामलको कनिका र कोदोको कपनि यी शब्दले खाद्यान्नको सानो रुपलाई जनाउछन् । तर पछिल्लो पुस्ताका बालबालिकाहरुलाई यी शब्द नै नौलो लाग्न थालेका छन् । कतिपय बालबालिकाहरुलाई त धान फलेर (कुटेर) चामल निकालिन्छ भन्ने कुरा नै थाहा छैन । उनीहरुले सोध्ने गर्छन चामलको बोट कस्तो हुन्छ ?
दिनहुँ भात खाने चामलको बारेमा त थाहा नहुने आजको पुस्तालाई कहिल्यै पनि नखाएको कोदोको बारेमा के थाहा होस् । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन,ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ चिज जस्तै बन्दै गएको छ ।
कोदो फल्ने बारी थलिएको छ । बनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका २ बगरफाँटका बेदप्रसाद शर्माले बताए । करिब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । ‘कोदो रोप्नै छोडे,कोदो रोप्ने बारीमा झारैझार छ,अनि कहाँवाट फलोस् कोदो ? ८३ वर्षिय शर्माले भने । उनका कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ ।
काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकहरुले बताएका छन् । बेनी नगरपालिका ३ तोराखेतका देववहादुर सापकोटाको घरमा पनि काम गर्ने मान्छे छैनन् । उनको परिवारमा श्रीमती र एक छोरा र बुहारी छन्। छोरा विदेश गएका छन् भने बुहारीले घरमा नै पसल गरेकी छन् । वर्षौँ पहिलेसम्म मुरीकामुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि छैन ।
कोदो फलाउने रहर भएर पनि बुढेसकालका खेती गर्न नसकेको उनले बताए । ‘कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन। कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र?’ उहाँले सम्झिए, ‘हामी साना हुँदा कोदोको ढिँडो र तरकारीसँग एक पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो। दिनभर काम गर्न सकिन्थ्यो । ’ अहिलेका युवाहरूले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ ।औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघर तिर निकै कम हुँदै गएको मालिका गाउँपालिकाको ओखरबोटका ६४ वर्षिय भवीराज विकले जिकिर गरे ।
कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघर तिर कम हुँदै गएको स्थानीयले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न(घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी,ढिँडो,पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाले जानकारी दिए ।
गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलहरुले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन्। होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतिकी संचालिका विमला गौचनले बताइन् । त्यसैगरी गाउँगाउँमा संचालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।
कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले ठूलो परिमाणमा कोदोबाट बनाइएका मदिराहरु बरामद गरेर नष्ट गर्दै आएको जानकारी दिए ।
चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकिस्कहरुको भनाइरहेको छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्वहरु पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरे बताउँछन् । तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ ।म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ५सय हेक्टरमा कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->