सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

असोजबाट लामो दूरीका बस चल्ने !

असोजबाट लामो दूरीका बस चल्ने !

दुई वटा सिटमा एक जना मात्रै यात्रु राखेर सवारी सञ्चालनमा ल्याउने व्यवसायी बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७७, बुधबार

पोखरा, २४ भदौ– पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडले असोज १ गतदेखि आफ्ना सवारी सञ्चालनमा ल्याउन तयारी थालेको छ । सार्वजनिक यातायात सञ्चालनको माग राखेर देशव्यापी रुपमा विरोध भइरहँदा कम्पनीले यस्तो निर्णय लिएको हो । पृथ्वी राजमार्गले लामो दूरीका बस संचालन गर्छ ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले असोजबाट सरकारले सार्वजनिक यातायात सञ्चालनको लागि अनुमति नदिए पनि सवारी सञ्चालनमा ल्याएरै छाड्ने बताए । ‘हाम्रो स्पष्ट कुरा,असोज १ गतेदेखि गाडी निकाल्छौं । सरकारले नचला भने पनि हामी गाडी चलाउँछौं । उच्च सुरक्षा सर्तकता अपनाएर गाडी चलाउँछौं’, उनले भने, ‘सरकारले रोकेर हामी रोकिनेवाला छैनौं ।’
अध्यक्ष केसीले सरकारले आफूहरुमाथि कारबाही थाले पनि त्यसको भागिदार बन्न तयार रहेको बताए । कुनै पनि हालतमा निर्णयबाट पछि नहट्ने उनको अडान छ । १ सय ७० दिन लामो बन्दाबन्दीमा बस्दा राज्यले कुनै राहतको व्यवस्था पनि नगरेको भन्दै उनले गुनासो पोखे । बैंक तथा वित्तीय संस्थाको बारेमा पनि स्पष्ट नीति नल्याउँदा यातायात मजदुरहरु भोकै मर्नुपर्ने अवस्था आएको उनको जिकिर थियो । ‘गाडी घर राखेर, कबाडी बनाएर हाम्रा मजदुरलाई भोकै राखेर मार्ने र मर्ने पक्षमा हामी छैनौं । अब हामी भोकले मर्ने भन्दा कोरोना रोगले मर्न तयार छौं’, उनले भने, ‘राज्यले के बुझोस् भने बिरालोलाई थुनेर राख्यो भने त्यसले घाँटीमा समात्छ ।’ सार्वजनिक यातायात सञ्चालनमा थुनछेक भइरहँदा निजी गाडीहरुले भने निर्वाध रुपमा यात्रु बोकेको उनको आरोप छ । ‘छताछुल्ला यात्रु बोकेर हिँडिरहेको हामीले हाम्रै आँखाअघि देखेका छौं । प्रशासन मौन छ, मुकदर्शक छ’, उनले भने, ‘ ठूला सवारीलाई भने चलाउने अनुमति नै छैन ।’
सरकारले आफूहरुमाथि लगाएको बन्देजको भद्र तरिकाले अवज्ञा गर्ने उनले बताए । लामो समयको बन्दाबन्दी र निषेधाज्ञा कोरोना रोकथामको उत्तम उपाय नभएको उनले दोहो¥याए । ‘राज्यले कोरोना किन बढिरहेको छ त ? भन्ने बुझ्नुपर्छ’ भारतको मुम्बईमा सार्वजनिक यातायात संचालनमा आएको उदाहरण दिँदै उनले भने,‘ निषेधाज्ञाले त संक्रमण जिरो हुनुपर्ने हो, किन १ हजार १२ सयको रेसियोमा बढेको छ ?’
उनले पूर्ण रुपमा सुरक्षा सर्तकता अपनाएर यातायात सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए । दुई वटा सिटमा एक जना मात्रै यात्रु राखेर सवारी सञ्चालनमा ल्याउने उनले सुनाए । ‘४० सिटमा २० जना मात्रै मान्छे राखेर हामी सञ्चालन गर्छौं भन्दा हामीलाई रोक्न पर्ने कारण के हो ? त्यो हामीले बुझ्न सकिरहेका छैनौं । सरकारको हामीप्रतिको दृष्टिकोण के हो ? व्यवसायीप्रतिको दृष्टिकोण के हो ?’,उनले प्रश्न गरे । यसअघि यातायात व्यवसायीले बैंकको किस्ता तिर्न नसकेको भन्दै सवारीको चाबि बैंकलाई बुझाएका थिए । राष्ट्र बैंकले मौद्रिक नीति ल्याए पनि स्पष्ट निर्देशिक नआउँदा आफूहरुको माग पूरा हुन नसकेको अध्यक्ष केसीको जिकिर छ । माग पूरा गर्ने अवस्थामा सरकार नरहेकोले काम गर्ने बाटो खुलाउनुपर्ने उनको तर्क छ ।
पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीले सञ्चालनमा आउने तयारी थाले पनि पोखरा बस व्यवासायी कम्पनीले भने सरकारी निर्णय पर्खेर बसेको छ । यातायात सञ्चालनसम्बन्धि सरकारको स्पष्ट धारणा आएपछि मात्रै सञ्चालनमा आउने कम्पनीका अध्यक्ष देउप्रसाद गुरुङले बताए । ‘अहिले त्यस्तो तयारी केही छैन । गाडी मात्रै चलाएर पनि केही उपलब्धि छैन’, उनले भने, ‘२७ गतेसम्म त निषेधाज्ञा नै भनेको छ क्यारे । त्यसपछि के हुन्छ हेरौं ।’जिल्ला संकट व्यवस्थापन केन्द्र कास्कीको बैठकले २ हप्ता लामो निषेधाज्ञापछि २ हप्ता खुकुलो निषेधाज्ञा जारी गरेको छ । जसको भदौ २७ गते राति १२ बजे म्याद सकिदै छ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले यातायात सञ्चालन अनुमति बारे कुनै निर्णय नभएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->