बागलुङ, २४ भदौ– बाढीपहिरोका कारण क्षतविक्षत बनेको बोबाङमा सडक सम्पर्क पनि टुटेको छ । सहज पैदलमार्ग नभएका कारण बाढीपहिरो प्रभावितहरुलाई राहत बोकेर ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार पुग्नेहरु प्रभावित क्षेत्रमा पुग्न सक्दैनन् । नगरपालिकाले राहतमा एकरुपता कायम गर्नका लागि एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्ने भनेको छ ।
पीडितहरुका लागि देशविदेशमा जम्मा भएको राहत नगद र जिन्सी बोकेर ढोरपाटन नगरपालिका पुग्नेहरुले बुर्तिबाङमै रहेको नगरपालिकामा हस्तान्तरण गर्दै आएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बोकेर नगरपालिकासमेत पुग्न सेकेको छैन् । दाताहरुबाट आएको जिन्सीले नगरपालिकाको भण्डारण भरियो तर पीडितसम्म त्यो सामग्री पु¥याउने नगरको प्रयास सडकका कारण असफल भैरहेको छ ।
‘कम्तिमा हिँड्ने बाटो बनाएर राहत पु¥याउँछौं भनेर बाटो बनाउने काम थालेको स्काभेटर नै पहिरोले पुर्दा काम रोकियो’ उपप्रमुख करमती पुन भन्छिन्– ‘अर्को व्यवस्था गरेर भएपनि हामीमाथि पुग्छौं ।’ बाढीले बढि प्रभावित बनाएको क्षेत्र नगरपालिकाको कार्यालयबाट उत्तरतर्फ पर्छ । त्यहाँ पुग्ने सडक र पैदलमार्गसमेत बाढीले बगाएको छ ।
‘बाहिर के कुरा आए भन्नेसँग हामीलाई सरोकार भएन, हामीले हस्तक्षेपनै गरेर आसपासका पसल र खाद्यान्न रहेका ठाउँहरुबाट तत्कालका लागि छाक टार्न वडाध्यक्षहरुले सामग्री पु¥याउनुभएको छ’ उनले भनिन् ‘हामीसँग खाद्यान्नलगायतको जिन्सी धेरै संकलन भैसकेको छ, छिट्टै पुग्छ ।’
के कति सामग्री र कति मुल्यको आयो भन्ने तथ्यांक नगरपालिकासँग छैन् । दाताहरुले बरबुझारत मात्रै गर्ने र बिलहरु नदिने गरेका कारण के कति मुल्यको सामग्री छ भन्ने विषयमा तथ्यांक निकाल्न कठिन भएको उनको गुनासो छ । नगरपालिकाले दैविक प्रकोप राहत कोष बनाएको छ । सोमबारसम्म कोषमा १३ लाख रुपैयाँ जम्मा भएको छ । मंगलबार पनि कोषमा नगद जम्मा भएको पुनले बताईन् ।
जिल्लाको बडिगाड गाउँपालिकाले छिमेकी ढोरपाटन नगरपालिकाको विपत्मा सहयोग गर्ने भन्दै मंगलबार ४ लाख १३ हजार ५०० रुपैयाँ नगद सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) गलकोट नगरपालिका वडा नं. २ कमिटीले १ लाख ३८ हजार रुपैयाँ, हाल भारतमा बस्ने गलकोट नगरपालिका–२ कि रमा कार्की शर्माले १० हजार रुपैयाँ मंगलबार नगद सहयोग गरेका छन् ।
गलकोटकै वडा नं. ७ को नेकपा वडा कमिटिले ४६ हजार रुपैयाँ र गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे)ले ५० हजार रुपैयाँ कोषमा जम्मा गरेका छन् । नगरको कोषमा जिन्सी जम्मा भएकोमध्ये चामल, दाल तेल र त्रिपाल तथा लत्ताकपडा धेरै रहेको पुनले बताईन् । ‘बाटो बनाएर जिन्सी बाँड्छौं, नगदले उहाँहरुको पुनस्थापनामा सहयोग गर्ने छ’ उनले भनिन् ‘उपयुक्त के हुन्छ र खर्च कसरी गर्ने भन्ने बिषयमा छलफल गरेर टुंगो लगाउँछौं ।’ पुनले दाताहरुलाई स्पष्ट विवरणसहित जिन्सी दिन आग्रह गरेकी छिन् ।





