बागलुङ, २५ भदौ– फोहोर व्यवस्थापनको विषयमा बागलुङका नगरप्रमुख र उपप्रमुखबीच जुहारी चलिरहेको छ ।
उक्त जुहारीमा धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले भने उपप्रमुखको साथ लिंदै पुनः विज्ञप्ती जारी गरेर आफ्नो बचाउ गर्न थालेको छ । दोषारोपण गरेर फोहोर व्यवस्थापनलाई अव्यवस्थित नबनाउन संस्थाका अध्यक्ष सुधिर श्रेष्ठले आग्रह गरेका छन् ।
बिहिवार बिज्ञप्ती जारी गर्दै संस्थाले सम्झौता अवधि कायम हुँदाहुँदै एकल अधिकार नभएको दाबी दोहो¥याएका छन् । नगरपालिकाले साउन ३२ गतेको बैठकले संस्थासँगको सम्झौता तोड्ने निर्णय गरेको थियो । उक्त निर्णपछि उपप्रमुख सुरेन्द्र खड्काले पत्रकार सम्मेलन गरेर नगरप्रमुख तथा केही कर्मचारीले कमिसनको खेलमा सम्झौता रद्द गरेको दाबी गरेका थिए ।
श्रेष्ठले भने नगरप्रमुखले सामन्ती युगमा झै रैती बनाउन खोजेको आरोप पनि लगाएका छन् । त्यसको केही दिनमै नगरप्रमुख जनकराज पौडेलले अर्को विज्ञप्ती प्रकाशित गरेर उपप्रमुखको काम गैरजिम्मेवार भएको बताए । उनले कपोलकल्पित कुरा विश्वास नगर्न भन्दै सम्झौता तोड्न संस्थाले बाध्य बनाएको दाबी गरेका छन् ।
पुनः संस्थाले पनि विज्ञप्तीमार्फत अझै एक वर्ष म्याद रहेकै बेला नगरपालिकाले संस्थालाई बदनाम गराउन खोजेर सम्झौता भंग गरेको बताएका छन् । हरेक वर्ष संस्थाले ६५ लाख खर्चेर काम गरिरहे पनि नगरपालिकाले झुटा आरोप लगाएको श्रेष्ठको कथन छ ।
दोष देखाएर फोहोर व्यवस्थापनमा टिडिएफसंग मिलेर ल्याउन लागेको कम्पोष्ट मल बनाउने मेसिन जडान गर्नसमेत नगरपालिकाले नदिएको श्रेष्ठले टिप्पणी गरेका छन् । नगरप्रमुखलाई दोषारोपण नगरी वास्तविक अवस्थामा आएर तथ्यहिन दोषारोपण गर्नतर्फ नलाग्न पनि संस्थाले आग्रह गरेको छ ।
२०७२ सालमा नगरपालिकाले सहकारीसँगको सम्झौता गरेर फोहोर व्यवस्थापनको काम थालेको थियो । फोहोर फाल्न नगरपालिकाले २ वटा गाडी र केही कर्मचारी दिएर फोहोर व्यवस्थापन गराएको थियो ।





