पोखरा, २६ भदौ– पोखराको व्यस्त र चर्चित सिर्जनाचोकमा पोखरा महानगरको सपिङ कम्प्लेक्स छ । यसअघि महानगरले उक्त कम्प्लेक्स कम्पनीमार्फत् भाडामा लगाउँदै आएको थियो ।
महानगरले भाडमा लगाउँदै आएको उक्त सपिङ कम्प्लेक्स भाडामा लिन अबदेखि व्यवसायीले नै टेन्डर भर्न पाउने भएका छन् । कम्पनीबाट एकमुष्ट भाडामा लगाउँदा विचौलिया हाबी भएको भन्दै महानगरले नयाँ नियम ल्याएको हो । निर्माण कम्पनी ‘जस्ट इन टाइम्स कन्ट्रक्सन’ले पाँच वर्षको लागि ठेक्कामा पाएको सपिङ कम्प्लेक्स टेन्डर ३ वर्षमै रद्द गरेपछि महानगरले नयाँ नीति ल्याएको हो ।
बेसमेन्ट पार्किङसहितको ३ तले सपिङ कम्प्लेक्स भाडामा लगाउन महानगरले पहिलो पटक ०७३ फागुन २२ मा पहिलो पटक ७६ लाखको टेन्डर निकालेको थियो । पहिलो सूचनामा कुनै पनि कम्पनीको आवेदन परेन । दोस्रो पटकको सूचनामा ‘जस्ट इन टाइम्स कन्ट्रक्सन’ले मात्रै निवेदन हाल्यो । कानुन अनुसार एक जनाले मात्रै निवेदन हालेको खण्डमा उसैले ठेक्का पाउँछ । सोही नियमअनुसार नै जस्ट इन टाइमले टेन्डर पाएको थियो ।
‘कम्पनीले एकमुष्ट सबै नदिने भयौं । त्यो सबै दलाली भयो’, महानगरका लेखा अधिकृत शिवहरि शर्माले भने, ‘महानगरले त्यही भएर नयाँ नीति अनुसार सोझै जो व्यवसायी हो त्यसैलाई टेन्डर दिने, बीचमा बस्नेले अनावश्यक भाडा लगाउन नपाइने भयो । नगरपालिकाले १५ हजार तोक्छ, बीचमा ३५ हजार लिइदिन्छ । मध्यस्तको भूमिकालाई निरुत्साहित गर्ने नीति ल्याइएको हो ।’ पहिलो सूचना निकाल्दा ९ वटा सटरको लागि निवेदन परेको थियो । बाँकी जमिन तलाको सटर नम्बर १, ५ र माथिल्लो तलाको लागि बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए । सटरहरु ३ वर्षको लागि ठेक्का दिइने छ ।
जस्ट इन टाइमले वार्षिक ७६ लाख रुपैयाँमा उक्त सपिङ कम्प्लेक्स ठेक्कामा पाएको थियो । ३ वर्षसम्म भाडामा भोग चलन गरेको जस्ट इन टाइमले ८० लाख बक्यौता रकम अझैं तिर्न बाँकी छ । ०७६ मंसिर १ सम्म भाडामा भोगचलन गरेको जस्ट इन टाइम्यसले पाँच वर्षको लागि ठेक्कमा लिए पनि आफैंले टेन्डर रद्द गरेको थियो । ठेक्का रद्द गर्दा १ करोड बढी तिर्न बाँकी रहेकोमा हिसाब मिलान भएको र अझैं ८० लाख रुपैयाँ तिर्न बाँकी रहेको राजश्व शाखा प्रमुख गणेश पाण्डेले बताए । ‘महानगरबाट हुने विभिन्न आयोजनमा पनि ठेक्का लिएको हुनाले त्यतैबाट पनि कटान हुनेछ । त्यसबाट तान्छौं । उसले तिर्छु भनि रहेको छ ’,उनले भने, ‘९÷१० महिना बिचमा ग्याप भयो, नयाँ पोलिसी .अनुसार त्यही भएका व्यवसायीलाई पूरानो बक्यौता तिर्नुस्, नतिरेसम्म टेन्डर किन्न पाउनुहुन्न भनेर सूचना गरि सकेपछि उहाँहरुले सबै पूरानो बक्यौता तिरी सकेको अवस्था छ ।’
९ वटा सटर टेन्डरमा गई सकेको र बक्यौता रकम पनि महानगरले पाएको उनले बताए । बाँकी रहेका व्यवसायीलाई पनि दोस्रो सूचना निकालेर बक्यौता रकम लिइने उनले सुनाए । नयाँ टेन्डर गर्दा पाँच वटा प्याकेजमा जमिन तलाको ११ वटा सटर मध्ये ९ वटाले मात्रै आह्वान गरिसकेका छन् । बाँकी २ वटा जमिन तलाको बाँकी रहेको, पहिलो तला र दोस्रो तलाको पनि कुनै टेन्डर नपरेको उनले सुनाए । बाँकी रहेका तलाको लागि पनि दोस्रो पटक सूचना बुधबार मात्रै प्रकाशित गरेको पाण्डेले जानकारी दिए ।
महानगरको नयाँ नियमअनुसार बीचमा कसैले पनि दलाली गर्न नपाउने पाण्डेको जिकिर छ । वार्षिक ७६ लाख रुपैयाँमा जस्ट इन टाइम्सले पाएको सपिङ कम्प्लेक्सको नयाँ भाडा दर जिल्ला दर रेट अनुसार न्युनतम १३ हजार ४२१ देखि ४२ हजार ५०० सम्म कायम गरिएको छ ।





